४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मिटरब्याजी’ आरोपितकाे पक्ष–विपक्षमा प्रदर्शन

रामबाबु राय यादवको पक्षमा भएको प्रदर्शनलगत्तै बरहथवा बजारमा आइतबार दिउँसो प्रदर्शन गर्दै ऋणपीडितहरू। फोटो साैजन्य : ऋणपीडित्

सर्लाही – चर्को ब्याज (मिटरब्याज) मा ऋण लगानी गरेर सयौं सर्वसाधारणको बिल्लीबाठ बनाएको गुनासो पछि प्रहरीद्वारा पक्राउ परेका रामबाबु राय यादवलाई तत्काल छाड्न माग गर्दै उनकै गृह नगरी बरहथवामा आइतबार प्रदर्शन गरिएको छ।

यादव पक्षको विरोध प्रदर्शन लगतै ऋणपीडितहरूले समेत यादवविरुद्ध नाराबाजीसहित जुलुस निकालेर बरहथवा बजार परिक्रमा गरेका छन्।

समाजको अगुवा एवं प्रबुद्ध वर्गको नाममा दिउँसो साढे १ बजेतिर प्रहरी हिरासतमा रहेका यादवलाई तत्काल छाड्न माग गर्दै जुलुस निस्किएको हो। बजार परिक्रमापश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै राजपा जिल्ला सचिव चौधरीले सरकारले मधेसीमाथि अनेक बहानामा धरपकड सुरु गरेको आरोप लगाए। आधा दर्जन बढी वक्ताले यादव शिक्षा एवं समाजसेवी तथा राजनीतिज्ञसमेत भएको दाबी गर्दै यादवलाई कानुनविपरीत पक्राउ गरिएको दाबी गरे। यादवलाई अबिलम्ब रिहाई नगरिए कडा आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिए।

यादव पक्षको प्रदर्शनमा सहभागी गराउन गाउँ–गाउँबाट बस र ट्याक्टरबाट सर्वसाधारण ल्याइएको थियो। प्रदर्शनका सहभागीलाई दीपक सिनेमा हल छेउको चौरमा खाजाको समेत व्यवस्था गरिएको थियो। सुरक्षा निकायका अनुसार प्रदर्शनमा हजार बढी सर्वसाधारण सहभागी थिए। कार्यक्रम सम्पन्न गर्न सक्रियरूपले लागि परेका गैर सरकारी क्षेत्रमा क्रियाशिल सामाजिक कार्यकर्ता गजेन्द्र साहले यादवको पक्षमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता एवं सामाजिक व्यक्तित्व स्वतःस्फूर्त रूपमा आएको दाबी गरे।

यादवको पक्षको प्रदर्शन सकिएलगतै ऋणपीडितहरूको समूहले समेत बरहथवा बजारमा प्रदर्शन गरेको छ। पुरानो बैंक चोकबाट सुरु भएको ऋणपीडितहरूको जुलुस पुनः सोही चोकमा आएर कोणसभामा परिणत भएको थियो।

बजार परिक्रमाका क्रममा ऋणपीडितले ‘रामबाबु राय यादव र संजय साह रौनियारलाई कडा कारबाही गर’, ‘रामबाबु राय यादव र संजय साह रौनियार मूर्दावाद’ जस्ता नाराबाजी गरेका थिए। कोणसभामा बोल्दै बरहथवा नगरपालिका–१ हजरियाका निरगुण राय यादवले ऋण लिएकै कारण यादवबाट आफ्नो बिल्लीवाठ भएको गुनासो गरे। २०५९ सालमा २ लाख तथा २०६० सालमा थप दुई लाख गरी ४ लाख रूपैयाँ ऋण लिँदा १२ लाख रूपैयाँको तमसुकमा सहीछाप गराएको उनको गुनासो थियो।

‘ऋण लिँदा २ विगाहा १ कठ्ठा जग्गा यादवकै नाममा पास (राजीनामा) गरेको थिएँ। तर पछि मलाई थाहै नदिई १६ कठ्ठा बेचिसकेका रहेछन्,’ निरगुणले गुनासो गरे, ‘यसबीचमा साढे ७३ हजार र ५० हजार गरी दुई किस्ता पैसा पनि दिइसकेको छु, यत्रो वर्ष भइसक्यो हिसाबकिताब गरौं भन्दा पनि सुनुवाई नै गरेनन् र सुटुक्क १६ कठ्ठा जग्गा १६ लाख रूपैयाँमा बिक्री भइसकेको रहेछ, बाँकी २५ कठ्ठा जमिन पनि उनैको नाममा छ।’ सभामा सिंहेश्वर सहनी, विन्देश्वर सहनीलगायत ऋण पीडितहरूले आफ्नो गुनासोसहित विचार व्यक्त गरेका थिए।

ऋणपीडितले केही दिनअघि गृह मन्त्रालय काठमाडौंमै पुगेर उजुरी गरेपछि ठगीको आरोपमा यादवलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। प्रहरीले यादवलाई गत बुधबार सर्लाहीकै हरिपुरबाट नियन्त्रणमा लिएको थियो। मिटरब्याजीकै आरोप लागेका सञ्जय साह रौनियार भने भारततर्फ भागेको र उनको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २८ पुस २०७६ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App