१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

जनताको सूचनामा ग्रहण

सुविद गुरागाई

काठमाडौं- ट्रक ड्राइभर: पत्रकार मुलुकका सचेतक हुन्, यिनलाई मार्न पाइँदैन । (ना ३ ख ५७५५)
नेपाल सरकार: यस्ता कुराले दुर्घटना बढाउँछ, ट्रकका पछाडि लेख्न पाइँदैन ।
...
यतिबेला नेपाल सरकार र सवारीसाधनमा लेखिने विभिन्न सन्देशका सरोकारवालाबीच गम्भीर द्वन्द्वको वातावरण बनेको छ ।

कुनै एउटा सिसाको गिलासमा आधा पानी छ भने तपाईं त्यो गिलासको अवस्थालाई कुन रूपमा अथ्र्याउनुहुन्छ ? आधा भरिएको छ भन्नुहुन्छ कि आधा खाली ? सुरुमा के देख्नुहुन्छ तपाईं ?
भनिन्छ, तपाईं अन्तर्चेतमा जस्तो ज्ञान हुर्काउनुहुन्छ, आँखाले त्यही देख्छ, मनले त्यसैलाई महत्व दिन्छ । त्यसैले नेपाली समाजमा आनी छोइङ डोल्माले गाएको एउटा गीत निकै लोकप्रिय छ, फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ।

यस्तो पृष्ठभूमिमा यतिबेला जनताको सूचनाको हकको सवालमा भरिएको भाग होइन, खाली देखिएको भागलाई बढी महत्व दिन लागिपरेको छ सरकार । नजिकका, भुइँ तहका सूचनामा जनताको दूरी (खालीपनको मात्रा) बढाउँदै छ ऊ । अनि कहाँ–कहाँ हिर्काउँदा जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक कमजोर पार्न सकिन्छ, खोजी–खोजी त्यहीं हिर्काउन लागिपरेका छन् सरकार पक्षधरहरू ।

‘केही महिनाअघि वीर अस्पताल र भोटाहिटीबीचको पर्खालमा सरकारी रवैयाप्रति असन्तुष्ट केही कलाकारले मूल सडकतिर फर्काएर ‘वाल पेन्टिङ’ गरेका थिए, जसमा एउटा गरिब मान्छे सरकारसँग दानपात्र तेस्र्याएर केही याचना गरिरहेको थियो तर सरकार भनिएको मान्छे याचक भिखारीलाई मार्न खुँडा उज्ज्याइरहेको थियो ।

तर मुलुकको वर्तमान यथार्थसँग निकै मिल्दो त्यो दृश्य धेरै दिन त्यहाँ रहन पाएन । करिब १५ दिनपछि सरकारप्रति आवश्यकताभन्दा बढी बफादार कोही भिजिलान्ते अनुग्रहित भयो र त्यो ‘सरकारविरोधी’ चित्रमाथि सेतो पोतिदियो ।

यही सेरोफेरोमा सरकार जनताको अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुने गरी मिडिया काउन्सिल विधेयक सरकारले सदनमा प्रस्तुत गर्‍यो, जसको चौतर्फी आलोचना भयो । तर जति आलोचना भए पनि सरकार पछि हट्न अझै आनाकानी गरिरहेको छ । बरु लेखेबापत पत्रकारको टाउकोमा बढीभन्दा बढी सजाय तोकेर निरुत्साहित गर्ने अडानमा अड्किएको छ । त्यसमाथि फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा ‘कि अभिव्यक्ति नियन्त्रित हुनुपर्‍यो कि जन्म कैदसम्मको सजायका लागि तयार हुनुपर्‍यो,’ भनेर सरकारी पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सूचना–प्रविधि विधेयकको तरबार पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको घाँटीमा तेस्र्याइएको छ यतिबेला । सरकारको प्रस्तावमा सदनद्वारा पारित विज्ञापन नियम ऐनले अभिव्यक्ति स्वतन्त्रता संकुचित भएको भन्दै सरोकारवालाको तर्फबाट सर्वोच्चमा रिटसमेत परेको छ ।

यी सबै परिदृश्यले जनताको सूचनामा ग्रहण लाग्न थालेको देखिँदै छ । जनताको सूचना पाउने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा डरको मात्रा बढ्दै गएको आभास हुन थालेको छ । जनताले सजिलै सूचना प्राप्त गर्नसक्ने माध्यमहरूलाई घँटेसी लगाएर घिच्याउन खोजिँदै छ । यसरी जनताको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने बहुमतको सरकारी लालसा पछिल्लो चरणमा सवारीसाधनहरूतिर केन्द्रित भएको छ । त्यसैको एउटा कडी ‘ट्रक साहित्य’ यतिबेला सरकारी निसानामा परेको छ ।

प्रायः माया–प्रेम, विछोड पीडा र सामाजिक विषयवस्तुमा केन्द्रित हुने ‘ट्रक साहित्य’ अन्तर्गत पछिल्लो समय सरकारका काम–कारबाहीप्रतिको असन्तुष्टि, क्षुब्धता र विरोधको स्वर बढ्न थालेको थियो ।
‘कृपया हर्न नबजाउनु होला, मेरो देश सुतिरेहको छ / सधैंभरि चक्काजाम, बन्द अनि हड्ताल, ढुङ्गा हान्ने, कुर्सी तान्ने यही हो नयाँ नेपाल ? / युवा नेता सेतै कपाल, पुरानै नेता नयाँ नेपाल / अमेरिकामा युवाले देश चलाउँछ, बूढालाई पेन्सन दिन्छ, नेपालमा बूढाले देश चलाउँछ युवालाई टेन्सन दिन्छ / कस्तो लाग्यो नयाँ नेपाल ? / घुस लिन्या र दिन्या दुवै राष्ट्रका सत्रु हुन् / देश त पुरानै ठिक थियो / देखियो तिम्रो नयाँ नेपाल पनि !,’ जस्ता लेखाइहरू एकपछि अर्को गर्दै ट्रकका अगाडि–पछाडि देखिन थालेका थिए ।

सबैलाई थाहा छ नेपालमा अनुशासनहीनता, अनियमितता, भ्रष्टाचार, विकृति र दण्डहीनताको मात्रा पहिलेभन्दा बढेको छ, जसको तिक्तता जनताबाट स्वाभाविक रूपमा व्यक्त हुन्छ । तथापि त्यस्तो जनअभिव्यक्तिमा यथास्थिति सुधारको अपेक्षा गाँसिएको हुन्छ । सरकार अग्रगामी भएर जनताका पक्षमा काम गरोस् भन्ने आग्रह त्यसमा हुन्छ । तर सरकारका मान्छेहरूले बुझाइ उल्टो देखिएको छ । जनताको सत्याग्रहलाई उल्टो रूपमा बुझ्दै सरकार ‘ट्रक–साहित्य’ मेटाउन धमाधम सरकारी उर्जा खर्च गर्न थालेको छ । सम्भवतः यसैलाई भन्छन् सारा काम छोडी पुछारमा हात ।

केही दिनअघि प्रधानमन्त्री खड्गप्रसाद ओलीले मुलुकमा बढ्दै गएको सवारी दुर्घटना र त्यसमा भइरहेको मानवीय क्षतिको खबरले आफूलाई रातभर छटपटी भएको बताएका थिए । भोलिपल्ट उनले सवारी दुर्घटना न्यूनीकरण गर्न मातहतलाई निर्देशन पनि दिएका थिए । त्यसपछि प्रधानमन्त्री रातभर छटपटिएर सुत्नै नसकेको अवस्था अन्त्यका लागि केही त गर्नैपर्‍यो भनेर सरकारी संयन्त्रले थालेको पहिलो काम हो – ट्रक–साहित्य मेटाउने अभियान र त्यसका लागि आवश्यक कानुन निर्माण ।

सुन्दा ठिट लाग्छ, १२ सिटे जिप दुर्घटना हुँदा कम्तीमा २५ जना यात्रु भेटिन्छन् । ३२ सिटको बस ७० भन्दा बढी यात्रु बोकेर धराप पहाडी बाटोमा घिस्रिरहेको छ । कमिसन खुवाएर जाँचपास र रुट पर्मिट पाएका साधनहरूको दुईतिहाइ बहुमत छ । साँघुरो र असंख्य खाल्डाखुल्डी भएको सडक यथास्थितिमा लमतन्न छ । सडकमा आवश्यक ठाउँमा न लेन, न जेब्राक्रस, न संकेत पाटी, न ट्राफिक लाइट, केही छैन । तर पनि सरकारका मान्छेहरू भनिरहेका छन्, दिनहुँ भइरहेको सवारी–दुर्घटनाप्रति हामी अत्यन्त संवेदशील र गम्भीर छौं । सम्भवतः त्यसैले उनीहरू ट्रक–साहित्य मेटाउने प्रतिबद्धता साथ लागिपरेका छन् । उनीहरू ट्रकमात्र होइन कुनै पनि सवारीसाधनमा साहित्यिक वा जनचेतनामूलक भाव झल्किने कुरा लेख्न नहुनेमा स्पष्ट छन् ।

तर ‘अधिकार प्राप्त भएपछि मानिसमा नराम्रो भवनाको विकास हुन्छ,’ ना२ख ९४ नम्बरको सवारीसाधनमा लेखिएजस्तै सरकार यतिबेला जनताबाट प्राप्त बहुमतको अधिकार दुरुपयोगतर्फ लागेको सञ्चारकर्मी तथा सरोकावालाहरूको टिप्पणी छ ।

‘यो त नागरिक स्वतन्त्रतामा लागेको अंकुशमाथि महाअंकुश हो,’ नेपालमा पहिलोपल्ट मौलिक नेपाली ट्रक–साहित्यका सर्जक तथा प्रयोगकर्ता कवि रमेश खकुरेल भन्छन्, ‘हेर्दै गर्नुहोला, अरूलाई लक्षित गरेर स्वतन्त्रताविरोधी खाल्डो खन्नेहरू केही दिनमा आफैं पर्नेछन् ।’ कवि खकुरेल २०३० देखि २०५३ सालसम्म ट्रक ड्राइभर थिए । त्यो बेला उनी नाअख १११३ नम्बरको ट्रक चलाउँथे र ट्रकमा लेखेका थिए, ‘साथी जोडे बेलामा काम लाग्छ, सुन किन्न पाइन्छ, गुन किन्न पाइन्न ।’

‘अचेल सामान्य घोचपेच गर्नु, जिस्क्याउनु, मान्छे मार्नुभन्दा चर्को भइसक्यो यो देशमा !’ सरकारले ट्रक–साहित्य मेटाउन लागेको सन्दर्भमा कवि खकुरेलले भने, ‘जगजगी नै भो, के गर्नु र खोइ ? विरोध पनि कति ठाउँमा गर्नु, के–केको गर्नु ?’

नेपाल पत्रकार महांघका पूर्वसभापति सुरेश आचार्य ट्रक–साहित्य नियन्त्रणको प्रयासलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप मान्छन् । ‘हरेक खालको स्वतन्त्रतालाई नियन्त्रण गर्दा समाजमा अमन–चयन कायम हुन्छ भन्ने सोच लोकतान्त्रिक होइन,’ अग्रज पत्रकार आचार्य भन्छन्, ‘सरकारका मान्छेहरू ट्रक–साहित्यले दुर्घटना बढायो भनिरहेका छन् तर यो कुतर्कको पराकाष्ठा हो ।’ उनका अनुसार मान्छेले आफ्ना मनमा लागेका कुरा व्यक्त गर्न पायो भने द्वन्द्वको परिस्थिति कम हुन्छ भन्ने विश्वव्यापी मान्यता छ । तर नेपालमा यतिबेला त्यसविपरीत जनअभिव्यक्ति सकेसम्म नियन्त्रण गर्ने अभ्यास भइरहेको छ, जुन नागरिक स्वतन्त्रताविरोधी हर्कत हो ।

स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपाल ट्रक–साहित्य रोक्न सरकारद्वारा निर्मित कानुन वास्तविकतामा ट्रक–साहित्य रोक्न होइन, आफूहरूविरुद्ध जनतामा बढिरहेको घृणा रोक्न आवश्यक ढाल भएको तर्क गर्छन् । ‘जगजाहेर कुरा हो, यतिबेला समाजमा वर्तमान राजनीतिक नेतृत्वप्रति अभूतपूर्व घृणा व्यक्त भइरहेको छ, जुन ट्रक–साहित्यको माध्यमबाट पनि आइरहेको थियो,’ उनले व्यंग्यात्मक भावसहित भने, ‘हाम्रा लागि समाजमा सम्मानभन्दा बढी घृणा बढेको छ भन्ने थाहा पाएकाले उनीहरू अत्तालिएका छन् र बढ्दो जनदबाबले अत्तालिएका शासकबाट योभन्दा बढी अपेक्षा गर्नु जनताकै कमजोरी हो ।’

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल पनि राज्यले एकपछि अर्को बहानामा जनताको सूचनाप्राप्तिको हक संकुचन हुनेगरी कानुन बनाउन थालेको प्रति असन्तुष्ट छन् । ट्रक साहित्य नियन्त्रण गर्न सरकारद्वारा जारी निर्देशनका सवालमा जिज्ञासा राख्दा पोखरेलले भने, ‘नेपालको संविधानले सूचना पाउने हक र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । कुनै पनि माध्यमबाट सूचना पाउने, लिने–दिने, बाँड्ने अधिकार जनतालाई छ । त्यो अधिकार संकुचन हुनेगरी बनाइएको कानुन वा निर्देशन स्वीकार्य हुँदैनन् । स्वतः खारेज हुन्छन् ।’

सबैलाई थाहा छ, ट्रक–साहित्य (सवारी–साहित्य) विभिन्न गन्तव्यमा हिँड्ने चालकको लहडमात्र होइन, समाजका सबै वर्गसँग कार्मिक सम्बन्ध भएको विषय हो । समाजको सापेक्षतामा नियमित आकस्मिकतासँगै अघि बढिरहेको जीवन–अनुभूतिको प्रतिबिम्ब पनि हो यो । हाम्रो विचारअनुरूप हामी र हामीअनुकूल समाज हुन्छ । समाजले जे भोगाएको, पढाएको छ, त्यसैअनुरूपका अभिव्यक्ति झल्किएका हुन्छन्, ट्रक–साहित्यमार्फत ।

यसमा गुरुजीहरू आफूमा भएका प्रेम, आशक्ति र यौनका कुन्ठामात्र व्यक्त गरिरहेका हुँदैनन्, देश–समाज दुखेको, सरकारको आलोचना गर्न मन लागेको कुरा पनि व्यक्त गरिरहेका हुन्छन् । यसबाहेक उनीहरू भुइँतहमा पुर्‍याउन बाँकी सामाजिक सन्देशवाहकको भूमिका पनि राम्रोसँग निर्वाह गरिरहेका हुन्छन् । केही उदाहरण हेरौं –
‘महिला हिंसा बन्द गरौं, महिला र पुरुष मिली आवाज उठाऔं ।’ (ना३ख ७६८२)
‘कलम रोए अक्षर बन्छ, कवि रोए कविता । धनी मरे श्रद्धाञ्जली गरिब मरे रमिता । (ना५ख २५१०)
‘फरक छ हाम्रो देशको भौगोलिक विविधता । सदा रहोस् हामी नेपालीको राष्ट्रिय एकता ।’ (ना३ख ७६२०)
‘पसिना बगाउन सिक्छु बाबा कर्म कमाउन, बलि चढाउन छोड्छु बाबा धर्म कमाउन ।’ (ना३ख ८८८१)
‘मेरा लागि सत्यभन्दा अरू कुनै धर्म छैन । अहिंसाभन्दा ठुलो कुनै कर्तव्य छैन ।’ (ना३ख २४२)
‘स्वच्छ वातावरण सफा ठाउँ सबैको आवश्यकता, जानी–जानी फोहोर पार्ने नगरौं मूर्खता ।’ (बा२ख ५०१३)

‘श्रीमती राख्नु टिपटप, दुई बच्चापछि फुल–स्टप ।’ (बा२ख २८०)
‘दूधको सिँचाइ गरे पनि करेलाको फल तितो हुन्छ ।’ (ना४ख ८०)
‘देखियो नयाँ नेपालको ताल पनि ।’ (ना४ख २४७०)
‘नेताज्यू, देखियो नयाँ नेपाल पनि, म त खाइरहन्छु नि !’ (ना४ख ३३८२)
‘देश त बेचे–बेचे, आमा–छोरी पनि बेच्न छोडेनन्, भोका नेताहरूले ।’ (लु१ख ४६०२)
‘कुरा मात्र गरेर हुन्न, काम गर्ने बानी बसालौं ।’ (ना२ख २५०१)
‘गरिबलाई दया–मायाको भिख होइन, पसिनाको मूल्य चाहिन्छ ।’ (ना३ख ७७७५)
‘मलाई डिजल चाहिन्छ पेट्रोल होइन, मलाई दुलही चाहिन्छ दाइजो होइन ।’ (को१ख १३८९)
‘दीप जलिरहोस् जीवनमा धन्धकारले छाए पनि । आत्महत्या कहिले नगर्नु जीवनमा जस्तो धोका पाए पनि ।’ (ना२ख ५५६८)

‘मेलम्चीको पानी सम्झिने नानी, ट्याकरको पानी मज्जाले खाने ।’ (बा४ख ५४३)
‘हेर्ने आँखाभन्दा बुझ्ने मन राम्रो हुनुपर्छ, संसार आफैं राम्रो देखिन्छ ।’ (ना४ख ९८०८)
‘सकिन्छ सपार, सकिँदैन नबिगार ।’ (बा१ख ९५४१)
‘हामी मिले बन्छ नयाँ नेपाल ।’ (ना२ख ८६१८)
तर वर्तमान सरकारका आसेपासेहरूलाई मन परिरहेको छैन यस्ता राम्रा कुरा । नत्र किन यिनलाई ट्रक–साहित्य मेटाउने रहर पलाउँथ्यो ?
जवाफमा ना४ख १६१० नम्बरको ट्रकपछाडि लेखिएको दुई हरफको मर्म बुझ्दा पर्याप्त छ, ‘हाम्रो देश नेपालमा हिमाल छ, ताल छ । बुद्ध जन्मेको यो देशमा बुद्धिको अनिकाल छ ।’

 

प्रकाशित: २६ पुस २०७६ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App