१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कीर्ते बैंक ग्यारेन्टीले चार महिनापछि ठेक्का रद्द

रौतहट- रौतहटको गढीमाई नगरपालिकाको निर्वाचित जनप्रतिनिधि तथा कार्यालयका केही कर्मचारीको मेलोमतोमा भइरहेको बागमती खोलाको दोहन शुक्रबारबाट रोकिएको छ। गत भदौ २१ मा बागमती नदीको बालुवा र गिटीको स्वीकृत ठेक्का शुक्रबारको कार्यपालिका बैठकले निर्णय गरेपछि ठेक्का रद्द भएको हो।

नगरपालिकाको सिमानाभित्र पर्ने बागमती नदीको समनपुर, बलुवा तथा लक्ष्मीपुरको घाटको गिटी र बालुवाको ठेक्का भाग्यमानी कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँले ५ करोड २५ लाख रुपैयाँमा सकार गरेको थियो। भदौ २१ मा सकार गरेको स्वीकृत ठेक्को सम्झौता नगरीकनै नगर प्रमुख श्यामप्रसाद यादवको मेलोमतोमा पट्टा सम्झौता नगरीकनै असोज १ गतेदेखि बालुवा र गिटीको उत्खनन सुरु गरेको भाग्यमानीले नगरपालिका कार्यालयको ताकेताको वास्ता गरेको थिएन। कार्यालय प्रमुखले ठेक्का रद्द गरी दोस्रोमा परेको कम्पनीलाई ठेक्का दिन वा पुनः टेन्डर गर्न ताकेता गरे पनि जनप्रतिनिधिहरु नमानेपछि व्यापक अन्यौल देखिएको थियो।

भाग्यमानीले लक्ष्मीपुरघाटको ठेक्का एक करोड ४ लाख रुपैयाँमा सकार गरेको भए पनि नगरपालिकाको खातामा ५० लाख रुपैयाँ मात्र जम्मा गरेको थियो। बालुवा घाटको ठेक्का एक करोड दुई लाख रुपैयाँमा सकार गरेको र सम्पूर्ण रकम जम्मा गरेको थियो। स्थानीयले बाढीको अत्यन्त जोखिममा रहेको भनी नदीको बालुवा उत्खनन गर्न नदिएपछि ठेकेदारले आफूले रकम जम्मा गरिसकेको भनी घुर्की देखाइरहेको रहेको थियो। जबकि सबैभन्दा बढी रकम आउने समनपुर घाटको एक रुपैयाँ पनि जम्मा नगरी धमाधम गिटी र बालुवा उठाइरहेको थियो। भाग्यमानीले समनपुर घाटको बालुवा र गिटी ३ करोड २५ लाख रुपैयाँमा सकार गरेको थियो तर रकम जम्मा नगरेको र सम्झौता पनि नगरी धमाधम गिटी र बालुवा गत असोज १ देखि नै उठाइरहेको थियो।

गत असोज १ गतेदेखि नै भाग्यमानीले गिटी र बालुवाको ठेक्काको रकम उठाए पनि नगरपालिकामा जम्मा गरेको थिएन। सम्झौता नै नगरी कर्मचारी र जनप्रतिनिधिको मेलोमतोमा भाग्यमानीले मनपरी रकम असुल गरिरहेको तथा नगरपालिकामा जम्मा नगराएको भन्दै व्यापक असन्तोष व्यक्त गरिएको थियो। ठेकेदारलाई नगर प्रमुख श्यामप्रसाद यादवको नै संरक्षण रहेको आरोप स्थानीयले लगाउँदै आएका थिए।

नगरपालिका कार्यालयका प्रमुख सुभास ठाकुरले ठेक्का रद्द नगरे कानुनी फन्दामा परिने बताएपछि भाग्यमानीले राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको एक करोड ६० लाख रुपैयाँको नक्कली बैंक कीर्ते बैंक ग्यारेन्टी ल्याएर नगरपालिकासित सम्झौताको पहल गरेको थियो तर नगरपालिकाका लेखाप्रमुख कामेश्वर सहनीलाई शंका लागेर बैंकमा सोध्दा कुनै किसिमको बैंक ग्यारेन्टीको पत्र भाग्यमानीको नाममा जारी नभएको कुरो आएपछि ठेक्का सम्झौता रोकिएको थियो। यसैबीच रावा बैंक गौरका शाखा प्रबन्धक सुमितकुमार ठाकुरले बैंकको नाममा कीर्ते गरेको पनि स्पष्ट पारेका छन्। बैंक ग्यारेन्टी कीर्ते भएको खुलासा भएपछि शुक्रबारको नगरपालिकाको कार्यपालिका बैठकले भाग्यमानीसितको सम्पूर्ण ठेक्का रद्द गरेको छ।

असोज १ देखि पुसको १५ सम्म नगरपालिकाको प्रमुख तथा कर्मचारीहरुको मेलोमतोमा लाखौँ रुपैयाँ भ्रष्टाचार भएको गढीमाई नगरपालिकाको नेकपाका अध्यक्ष रामपुकार राय यादवले बताएका छन्। साढे तीन महिनामा उठेको गिटी र बालुवाको रकममा लाखौँको भ्रष्टाचार भएको यादवको दाबी छ। यादवले सबै ठेक्का रद्द गरी भ्रष्टाचारको छानबिन हुनुपर्ने माग पनि गरेका छन्।

कीर्ते बैंक ग्यारेन्टीको विषयमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान बढाएको छ। ठेक्का सम्झौता र कीर्ते हस्ताक्षरको विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि ज्ञानकुमार महतोले आफैँले फाइलहरु मगाएर बुझ्ने काम गरिरहेको बताएका छन्।

ठेक्का रद्द भएपछि साढे तीन महिनासम्म भाग्यमानीले उठाएको रकमको पनि हिसाब सार्वजनिक हुनुपर्ने माग स्थानीयले उठाउन थालेका छन्। नगरपालिकाले तत्काल कारबाही गर्नुपर्ने स्थानीयको माग रहेको छ।

प्रकाशित: १८ पुस २०७६ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App