११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टममा ढिलाई

बाजुरा- कर्णाली नदीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरुको पोष्टमार्टममा ढिलाई भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नभएको र जिल्ला अस्पताल मार्तडीबाट डाक्टर पोखरे लेकको हिउँका कारण जान नसक्दा पोष्टमार्टममा ढिलाई भएको हो।

बिहीबार साँझ नै शव कोल्टी पुर्याइएका भएपनि अझै पोष्टमाटर्मका लागि प्रक्रिया अघि नबढेको स्थानीय अगुवा जनक बिष्टले बताएका छन्। लगातारको हिमपातका कारण मार्तडी कोल्टी बाटो अवरुद्ध बनेको छ। पोरखे लेकमा भारी हिमपात भएकोले मार्तडीबाट तत्काल डाक्टर जान सक्ने अवस्था नभएको बताइएको छ।

मृतकका आफन्तहरु कोल्टी पुगे पनि शव कुरी बसेका छन्। आफन्त गुमाउँदाको पीडासँगै लगातारको हिउँ र बर्षाको चिसो सहेर स्वास्थ्य केन्द्रमै कुरी बस्नुपर्ने बाध्यता प्रति दुखी छन्। तत्काल डाक्टर उपलब्ध नहुने अवस्था रहेकोले आफन्तहरु चिसोले थप पीडा सहनु परेको छ।

जिल्लाको फोन सेवासमेत अवरुद्ध भएपछि सम्पर्क हुन सकेको छैन। कालिकोटबाट डाक्टर बोलाएर पोष्टमार्टम गर्नुको विकल्प नरहेको र त्यसका लागि स्थानीय प्रशासनले पहल गर्नुपर्ने माग पीडित पक्षको छ। तर फोन सम्पर्क नहुँदा समस्या थपिएको छ।

दरबन्दीको डाक्टर गएपछि नयाँ आएका छैनन्। कोल्टी क्षेत्रका चार वटा स्थानीय तहका लागि यो समस्या बारम्बार दोहोरिने गरेको छ। तरपनि राज्यले गम्भीरताका साथ नलिएको गुनासो स्थानीयको छ। कालिकोटबाट डाक्टर बोलाएर पोष्टमार्टम गर्नुको विकल्प नरहेको नेकपाका नेतासमेत रहेका स्थानीय जनक बिष्टले बताएका छन्।

बिहीबार दिउँसो कर्णाली करिडोर अन्र्तगत हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरमा जिप दुर्घटना भएको हो। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको जिप सडकबाट ५ सय मिटर तल नदीमा खसेको थियो।

जिप खस्दा चालकसहित चार जनाको घटना स्थलमै ज्यान गएको थियो भने चार जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। १ जना १३ वर्षकी बालिका शुशिला विक अझै बेपत्ता छन्। लगातारको बर्षाका कारण प्रहरीलाई नदीमा गएर खोजी गर्न समस्या भइरहेको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा जीप मालिकसमेत रहेका जगन्नाथ गाउँपालिका ५ गोत्रीका २७ वर्षका रमेश शाही, हिमाली गाउँपालिका ६ धुलाचौर बस्ने ३५ वर्षका पवन भण्डारी, कैलाली महोन्याल गाउँपालिका ५ बस्ने ३३ वर्षका दिनेशकुमार घर्तीमगर र मुगुको कर्मारोड गाउँपालिका ८ बस्ने ३८ वर्षका प्रेमा लामा छन्। चारै जनाका आफन्त कोल्टी पुगेपछि पोष्टमार्टम नहुँदा शव कुरि बसेका छन्।  

प्रकाशित: १८ पुस २०७६ ११:५१ शुक्रबार

जिप_दुर्घटना पोष्टमार्टम