६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिमपातले टेलिफोन सेवा अवरुद्ध, विद्यालय र बाटो बन्द

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीसहित हिमाली भेगमा पुनः हिमपात भएको छ। बिहीबार दिउँसोदेखि मार्तडीसहित जिल्लाको हिमाली भेगमा हिमपात भईरहेको छ। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेपछि चिसो बढेको छ। तापक्रम शुन्यमा झरेपछि चिसोले जनजीवन नराम्ररी प्रभावित बनेको छ।

हिमपातपछि कोल्टी एयरपोर्ट बन्द भएको छ। मौसम बिग्रिएसँगै जिल्ला भरीको नमस्ते, स्काई फोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ। एनसेल बाहेक सबै सेवा बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन्। खबर आदानप्रदान हुन सकेको छैन। बाजुरामा यो दोस्रो पटकको हिमपात हो।

कोल्टी र आसपासका क्षेत्रमा हिमपात भएपछि हवाई सेवा बिहीबारदेखि नै अवरुद्ध भएको बाजुरा नागरिक उडड्यन शाखा कार्यालय कोल्टीले जानकारी दिएको छ। कोल्टी क्षेत्रमा मौसममा खराबी हुँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन्। कोल्टी एयरपोर्टबाट बाजुराका बूढीनन्दा नगरपालिका, जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका त्यसैगरी हुम्ला, मुगु, कालिकोटका स्थानीयले सेवा लिँदै आएका छन्।  

विद्यालय बन्द
हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। लगातारको पानी र हिमपात पछि सदरमुकाम मार्तडी बजार क्षेत्रसहित गाउँका विद्यालय पनि आधा दिन खुलेर बन्द भएका हुन्। घरबाहिर आएर हिँडडुल गर्न नै समस्या देखिएको छ भने बजार तथा पसलहरु पनि पूर्णरुपले बन्द अवस्थामा छन्। किसानलाई राहत भएपनि चिसोले सबैलाई सास्ती दिएको छ। पानी र हिमपात नरोकिए विद्यालय लामो समयसम्म बन्द गर्नुपर्ने अवस्था आउने देखिएको छ।

मार्तडी कोल्टी सम्पर्क टुट्यो
हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ। बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो। मार्तडी कोल्टी सडक पूर्णरुपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ।

चार/पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएको बताइएको छ। मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन्। सडक बाटो पूर्णरुपमा बन्द भएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन्। सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकोले जिप सुचारू हुन नसकेको प्रहरीको भनाइ छ।

सिँगो जिल्ला नै सञ्चारविहीन
बाजुरा सिँगो जिल्ला नै सञ्चारविहीन बनेको छ। जिल्लाका नौ वटा स्थानीय तहमध्ये चार वटा स्थानीय तह रहेको कोल्टी क्षेत्रमा हिजोबाटै टेलिफोन तथा इन्टरनेट सेवा बन्द भएका छन्। बिहानदेखि जिल्लाको तल्लो क्षेत्रमा पनि फोन सेवा पूर्णरुपमा विच्छेद बनेको प्रहरीले बताएको छ।

फोन र इन्टरनेट नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन्। ‘कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ। घाम लागेको बेला आउने भएपनि लगातार हिमपात परेपछि सेवा अनियमित बनेको हो।
    

प्रकाशित: १८ पुस २०७६ १०:०९ शुक्रबार

हिमपात अवरुद्ध विद्यालय