५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

औषधि अभावमा गर्भपतन सेवा बन्द

बझाङ – राज्यले दिएको ‘वैधानिक निःशुल्क गर्भपतन सेवा’ पाउनबाट महिला वञ्चित भएका छन्। जिल्लाको तल्कोट गाउँपालिकाले गाउँपालिकाको मुख्य केन्द्र मेलबिसौना स्वास्थ्य चौकीमा निःशुल्क गर्भपतनका लागि औषधि नल्याएपछि सो क्षेत्रका महिला गर्भपतन गराउनबाट वञ्चित भएका हुन्।

‘४ छोरा र १ छोरीकी आमा भएकी छु, अब सन्तानको रहर पूरा भएको छ, गाउँमा अस्थायी परिवार नियोजनको साधन पाइँदैन। सदरमुकाम चैनपुर पुगेर ल्याउन पनि सकिएन। अरूबाट मगाउन पनि लाज लाग्छ,’ तलकोट–४ की ३४ वर्षीया धनसरा रोकायाले भनिन्, ‘क्षमताभन्दा बढी सन्तान भएकाले स्वास्थ्य चौकी गएर गर्भपतन गराउन पनि औषधि छैन।’ उनका अनुसार ‘जिल्ला अस्पताल जानू’ भनेर स्वास्थ्य चौकीले भन्ने गरेको छ।

महिलाले आफूले चाहेको अवस्थामा १२ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि दुर्गमका महिला भने आफूले चाहेर पनि विकटताका साथै स्वास्थ्यकर्मी र जनप्रतिनिधिको लापरबाहीका कारण सेवासुविधा अभावले सेवाबाट वञ्चित भएका छन्। विकट बस्तीमा जनचेतना अभावले स्थायी तथा अस्थायी साधन वा बन्ध्याकरणको विषयमा प्रायः कसैलाई पनि थाहा छैन। गाउँपालिकाले पनि उनीहरूको स्वास्थ्यका विषयमा चासो नदेखाएकाले ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने नाराले सार्थकता पाएको छैन। जसले धनसरा जस्तै दर्जनौं महिला समस्यामा छन्। सुरक्षित तरिकाले स्वास्थ्य संस्थामा गर्भपतन गराउन स्वास्थ्यकर्मीलाई तालिम दिनुका साथै स्वास्थ्य संस्थामा आवश्यक उपकरणसमेत राखेको भए पनि सात महिनायता औषधि अभावले गर्भपतन सेवा बन्द गरिएको अनमी हरिकला भण्डारीले बताइन्।

राज्यले औषधि खरिद गर्न गाउँपालिकालाई जिम्मा दिएको छ। सुरक्षित गर्भपतनसम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मीले पनि काम नपाएर बस्नुपरेको छ। स्वास्थ्य चौकीबाट पटकपटक औषधिका लागि माग गरिएको भए पनि गाउँपालिकाले वास्ता गरेको छैन। महिलाले लगाउने डिपो र तीनमहिने संगिनी सुई पनि छैन। गर्भपतनका लागि ‘भिजो’ नामक औषधिको उपयोग गरिन्छ। स्वास्थ्य चौकीको औषधि खरिदका साथै अन्य तालिम गोष्ठीका लागि गाउँपालिकामा रकम आउँदा यसको उपयोग र उपलब्धि खासै नभएको समेत स्वास्थ्यकर्मीहरूले दुखेसो पोखे। औषधि खरिद नगर्ने जनप्रतिनिधिले कर्मचारी र तालिम आए पनि आ–आफ्ना मान्छे राख्ने गर्दा स्वास्थ्य अवस्था पनि अस्तव्यस्त भएको छ।

तल्कोट गाउँपालिका निमित्तप्रमुख प्रशासकीय अधिकृत सिद्धराज भण्डारीले यसबारे आफूलाई भर्खर जानकारी भएको हुँदा औषधि खरिदका लागि पहल गर्ने बताए। उनका अनुसार जिल्ला अस्पतालबाहेक जिल्लाभर यस्ता निःशुल्क गर्भपतन गराउने स्वास्थ्य संस्था ७ वटा छन्।

प्रकाशित: १३ पुस २०७६ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App