६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चोरीसिकारमा संलग्न पक्राउ

बरामद हतियार र छालासहित चोरीसिकारमा संलग्नहरूलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा सार्वजनिक गरिँदै। तस्बिर : कृष्ण ओली/नागरिक

बाजुरा – वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरा प्रहरीले हतियारसहित पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ। चोरीसिकार गरिरहेकै अवस्थामा जंगलबाटै उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।

लेकाली भेगमा चिसो बढेसँगै प्रत्येक वर्ष चोरीसिकार बढ्ने गरेको छ। हिउँ परेपछि जंगली जनावर बेंसी झर्ने मौका छोपेर स्थानीयले वन्यजन्तु चोरीसिकार गर्ने गरेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका बेला भाइको बन्दुक पड्किएर आफ्नै दाइ घाइते भएको घटना सार्वजनिक भएपछि प्रहरीले चोरसिकारीको खोजी कार्य व्यापक बनाएको थियो। सोही क्रममा बुढीनन्दा नगरपालिका–८ का ५९ वर्षीय आइते बोहरा, ३१ वर्षीय बलबहादुर बोहरा, २५ वर्षीय मनिचन्द्र बोहरा, ४० वर्षीय कवीन्द्र बोहरा, ३२ वर्षीय दलबहादुर कामी, १९ वर्षीय पृथ्वी बोहरा र वडा १० का ४८ वर्षीय पृथ्वीबहादुर सिंह पक्राउ परेका हुन्।

बलबहादुर, दलबहादुर, कवीन्द्र र मनिचन्द्रका साथबाट एकएक थान भरुवा बन्दुक बरामद गरेको प्रहरीको भनाइ छ। उनीहरू पुस ९ गते राति पक्राउ परेका हुन्। प्रहरीले कवीन्द्रको घरबाट थारा, घोरल, रतुवाका पाँच थान छाला बरामद गरेको प्रहरी नायब उपरीक्षक भाटले बताए। बरामद गरिएका छाला र हतियार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो। मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १३२ बमोजिम हातहतियार खरखरजनासम्बन्धी कसुर मुद्दा दर्ता गरी उनीहरूको प्रक्रिया अघि बढाइएको छ। उनीहरू दोषी ठहरिए पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रकाशित: १२ पुस २०७६ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App