१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एकाबिहानै बसले लियाे छात्राकाे ज्यान...

बसले ठक्कर दिएर ज्यान गुमाएकी छात्रा सृष्टि पन्त तस्बिर साैजन्यः निश्चल/फेसबुक

काठमाडौं – सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले बाटो पार गर्दै थिइन्। एक्लै कलेज जाँदै गरेकी उनलाई सुकेधारा चोकनजिकै अचानक बसले ठक्कर दियो। तीव्र गतिमा गुडिरहेको बसले ठक्कर दिएपछि उनी त्यहीं ढलिन्। सडक आसपास हिँडिरहेका पैदलयात्रु र अरु सवारीचालक दुर्घटना देखेर चिच्याउन थाले। नजिक भएका प्रत्यक्षदर्शीले सवारी नम्बर टिपेर प्रहरीलाई फोन गरे।

‘हामी अलि पर थियौं, चिच्याएको आवाज आयो, के रहेछ भनेर नजिक पुग्दा बसले ठक्कर दिएको रहेछ,’ प्रत्यक्षदर्शी भवानी बजगाईंले भनिन्, ‘त्यसपछि बसको अघिपछि भएका सबै सवारीसाधन रोकिए, हामीले प्रहरीलाई खबर ग-यौं।’ उनका अनुसार छ्याङ्ग उज्यालो भइनसकेकाले बसचालक शम्भुबहादुर बम्जन तर्कन खोज्दै थिए। स्मृतिलाई ठक्कर दिएको केही बेरमा स्थानीय र विद्यार्थीले बसलाई घेरा हाले। गम्भीर घाइते भएकी सृष्टिलाई नजिकैको ओम अस्पताल लगियो। अस्पताल लग्नेबित्तिकै उनको मृत्यु भयो। उनलाई भक्तपुर कमलविनायकदेखि नयाँ बसपार्क चल्ने बा४ख ५९२० नम्बरको बसले चावहिलको पशुपति कलेजमा बिबिएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टिलाई ठक्कर दिएको थियो। गोरखा घर भएकी सृष्टिको गत वर्षमात्रै विवाह भएको थियो। उनका पति वैदेशिक रोजगारमा छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको जानकारी दिए। चालकमाथि सवारी ज्यानमुद्दाअन्तर्गत कारबाही हुने उनले बताए। ‘चालकलाई हामीले नियन्त्रणमा लिएका छौं, छात्राको शव पोस्मार्टमका लागि अस्पतालमा राखिएको छ। चालकलाई सवारी ज्यानमुद्दाअन्तर्गत कारबाही हुन्छ,’ लम्सालले भने। उनका अनुसार छात्रालाई ठक्कर दिएपछि आक्रोशित विद्यार्थी र आफन्तले बसमा आगजानी गरेका थिए।

गत शनिबार पनि बिहानै बुढानिलकण्ठ–५ बसपार्कनजिकैको सडकका एउटा कारले महिलालाई ठक्कर दिएको थियो। बुढानिलकण्ठ स्कुलनजिकैे बा१४च ६१२३ नम्बरको सुजुकी कारले बुढानिलकण्ठमा बस्दै आएकी लीला देवकोटालाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते देवकोटालाई न्युरो हस्पिटल नपु¥याउँदै बाटोमै मृत्यु भएको थियो। मदिरा सेवन गरेर सवारी चलाउने चालक पृथ्वी मल्लमाथि सवारी ज्यानमुद्दाअन्तर्गत कारबाही अघि बढाइएको छ।

पैदल यात्रुलाई जेब्राक्रस छैन
सुकेधारा चोकदेखि चावहिल चोकसम्म जेब्राक्रस नै छैन। हेर्दा फराकिलो देखिने सडक खाल्डाखुल्डी र धुलाम्य छ। बिहानैदेखि सवारीसाधनको चाप हुने सडकमा सर्वसाधारण जोखिमपूर्ण तबरले बाटो काट्छन्। ‘उपत्यकाका सबैजसो सवारीसाधन रिङरोडमै गुड्छन्। चाबहिलचोदेखि महाराजगन्जसम्मको सडक निकै जोखिमपूर्ण छ, कहीं पनि जेब्राक्रस देखिँदैन। अनुमानको भरमा सडक पार गर्नुपर्छ,’ पैदलयात्रु महेश सिंहले भने।

बढ्दो दुर्घटनाप्रति होसियार छैन राज्य
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार साउनयता देशभर सवारी दुर्घटनामा परी एक हजार ५२ जनाको ज्यान गएको छ। प्रतिदिन ३७ वटा सवारी दुर्घटनामा पर्ने गरेका छन्। त्यसबाट प्रतिदिन ७ जनाको मृत्यु हुन्छ, ४० जना घाइते हुन्छन्। अधिकांश दुर्घटना ग्रामीण सडकमा हुने गरेको महाशाखाले जनाएको छ। सवारी दुर्घटनाले भयावह रुप लिँदा पनि सम्बन्धित निकायले भने दुर्घटना रोकथामप्रति चासो दिएको देखिँदैन। सरकारले दुर्घटना न्यूनीकरण गर्न ठोस योजना नबनाउँदा सडकमा निस्किएका सर्वसाधारणले जुनसुकै बेला पनि दुर्घटनामा ज्यान गुमाउनुपरेको छ। ‘सरकारले लापरबाहीले दुर्घटना कम नभएको छ,’ यातायातकर्मी रामबहादुर थापाले भने, ‘यति धेरै दुर्घटना हुँदा पनि सरकार गम्भीर नहुनु दुर्भाग्य हो।’महाशाखाको तथ्यांक अनुसार पछिल्ला ५ वर्र्षयताको तथ्यांक हेर्दा यो वर्ष दुर्घटनाको दर बढेको छ। ०७१/०७२ मा दुई हजार ४ जना, ०७२/०७३ मा दई हजार ६, ०७३/०७४ मा दुई हजार ३ सय ८४, ०७४/०७५ मा दुई हजार पाँच सय ४१, ०७५/०७६ मा हुई हजार ७ सय ८९ जना र ०७६/०७७ मा पाँच महिनामा मात्रै एक हजार ३० जनाको ज्यान गएको छ। पूर्व ट्राफिक इन्चार्ज सिताराम हाछेंथुले सडक, सवारी र चालकको अवस्था ठिक नभएकाले दुर्घटना बढिरहेको बताए। ‘यतिधेरैले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको छ, तरपति सरकारी तवरबाट यसको दीगो समाधान जोखिएको छैन,’ उनले भने, हत्तार गर्दा, क्षमताभन्दा बढी यात्रु चढाउँदा, सवारी साधन समयमै चेकजाच नगर्दा, ट्राफिक नियम पालना नगर्दालगायतका कारणले सवारी दुर्घटना बढीरहेको छ।’

प्रकाशित: ८ पुस २०७६ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App