१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुधकोशी जलविधुत आयोजना : प्रभावित क्षेत्रमा राख्न माग

ओखलढुंगा–ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले दुधकोशी किनारका भू–भागलाई अति प्रभावित क्षेत्रमा राख्न माग गरेको छ। ओखलढुंगा र खोटाङ्गको सिमानामा पर्ने रबुवाघाटमा बन्न लागेको दुधकोशी जलाशययुक्त जलविधुत आयोजनाको तल्लो भेगमा पर्ने गाउँपालिकाको पाँच वटा वडामा प्रत्यक्ष असर पुग्ने भन्दै प्रभावित क्षेत्रमा राख्न माग गरेको हो।

नेपाल विधुत प्राधिकरण केन्द्रीय कार्यालय, ईन्जिनियरिङ्ग सेवा निर्देशनालय र गृहमन्त्रालयलाई आयोजनाका कारण गाउँपालिकामा पर्ने छ वटा प्रभावको बुंदा उल्लेख गरि ध्यानाकर्षण पत्र पठाईएको गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए। आयोजनाका कारण वातावरणीय पर्यावरणमा असर, मानव, पशुपन्छी लगायत घरपालुवा जनावरलाई असर पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको अध्यक्ष राईले जानकारी दिए।

गाउँपालिकाको करिब ३० किलोमिटर क्षेत्रका दुधकोशी किनार आसपासका मानव बस्तीहरुमा प्रत्यक्ष असर पर्ने गाउँपालिकाले जनाएको छ। कुनै कारणले जलाशययुक्त ड्याम फुटेमा गाउँपालिकाको वडा नं. १ मोली, वडा नंं.२ वाक्सा, वडा नं. ३ उबु, वडा नं. ६ हिलेपानी र वडा नं. ५ को केही दुधकोशी किनारका बस्तीमा ठूलो जनधनको क्षेति हुने खतरा रहेको गाउँपालिकाले औल्याएको छ।

यसका साथै गाउँपालिकाको आम्दानीको श्रोतका रुपमा रहेको गिट्टी, बालुवा, ढुंगा लगाएतको प्राकृतिक श्रोतको नाश हुने वडा नं. ६ हिलेपानिका वडा अध्यक्ष हेमराज राईले बताए। दुधकोशी किनारमा पर्ने गाउँपालिकाका वडाहरुलाई अति प्रभावित क्षेत्र घोषणा नगरिए आन्दोलन गर्ने स्थानीय युवा हुकुम राईले बताए।

विस्तृत परियोजना अध्ययन प्रतिवेदन(डिपिआर) अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको १, २, ३, ६, र ८ वडाहरु अति प्रभावित सूचीमा छन्। आयोजनाका लागि निर्माण हुने ड्याम भन्दा तल्लो क्षेत्रमा पर्ने सिद्धिचरण नगरपालिको वडा नं. १ तलुवा र मानेभञ्ज्याङ्ग गाउँपालिकाको पाँच वडाहरु प्रभावित क्षेत्रमा समावेश भएका छैनन्।
आयोजनाको डिपिआर अनुसार पूर्वाधार निर्माण हुने हो भने सात वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ। जसका लागि २ खर्ब २० अर्ब लागत अनुमान गरिएको छ। २ सय मिटर अग्लो र ६ सय ३० मिटर लामो ड्याम बाँधेर जलाशययुक्त आयोजना निर्माण गरिने जनाईएको छ।

जलाशय क्षेत्र १७ किलोमिटर दुधकोशी नदीमा, ठोट्ने खोलामा ५.५ किलोमिटर, खोटाङ्गको रावा खोलामा ८ किलोमिटरसम्म फैलने छ। १ हजार २ सय ५ मिटर लामो २ वटा पक्कि डाईभर्सन सुरुङ्गबाट ६ सय मेगावाट विधुत उत्पादन हुनेछ भने ड्यामदेखि तलपट्टि रहेको भागबाट ३५ मेगावाट गरी कुल ६ सय ३५ मेगावाट विधुत उत्पादन हुनेछ।

 

प्रकाशित: ६ पुस २०७६ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App