२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चिसो बढेपछि सर्वसाधारणका लागि आगोको व्यवस्था

सर्वसाधारणको लागि कलैयामा आगोको व्यवस्था गर्दै कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव लगायत।

बारा - चिसो बढेपछि सर्वसाधारणलाई सास्ती भएको भन्दै कलैया उपमहानगरपालिकाले शुक्रवारदेखि आगोको व्यवस्था गरेको छ। कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र प्रहरी उपरीक्षक विकासराज खनालले सर्वसाधारणको बढी भीड हुने स्थानमा आगो ताप्ने व्यवस्था गरेका हुन्।

सर्व साधारणको बढी भीड हुने कलैया अस्पताल, भरतचौक, लोहारपट्टी लगायतका स्थानहरुमा आगोको व्यवस्था गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताए। जिल्लाको सदरमुकाम पनि रहेको कलैयामा ग्रामिण भेगबाट आउने सेवाग्राहीहरु चिसोले गर्दा धेरैै समस्यामा पर्ने गरेको कारणले आगोको व्यवस्था गरिएको नगर प्रमुख यादवले बताए। केही दिनदेखि बढेको चिसोको कारणले गर्दा बजारमा मानिसहरुको उपस्थिति कम देखिएको छ भने सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीहरुमा कमी भएको छ।

स्थानीय तहद्धारा दुई दिन विद्यालय बन्द  
चिसो बढेपछि महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाले सामुदायिक विद्यालयहरु दुई दिनका लागि बन्द गरेका बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले बताए। चिसोले गर्दा विद्यालय जाने विद्यार्थीहरुमा चिसोबाट हुने रोग लाग्ने सम्भावना रहेकोले त्यसबाट बचाउनको लागि विद्यालयहरु बन्द गर्नु पर्ने निर्णय गरिएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बताए।

प्रकाशित: ४ पुस २०७६ ०५:३३ शुक्रबार

चिसो आगो