२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

‘थुनेर मात्रै न्याय पाइँदैन’

काठमाडौं – फौजदारी मुद्दामा थुनेर मात्रै न्याय पाइन्छ भन्ने धारणा गलत रहेको महान्यायाधिवक्ता अग्नि खरेलले बताएका छन्। ‘फौजदारी मुद्दामा सुखसयल दिएर थुनामा राखेर न्याय पाउँछौं भन्ने लाग्दैन,’ उनले भने, ‘भागेर जाँदैन, प्रमाण नष्ट हुँदैन भने थुनामा नराखी अनुसन्धान अगाडि बढाए हुन्छ।’

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दोस्रो राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खरेलले भागेर नजाने र प्रमाण नष्ट नगर्नेलाई सुखसयमा दिएर थुनामा राखेको प्रसंग कोट्याए। उनले अनुसन्धान र अभियोजन निश्पक्ष हुन नसकेमा न्याय पाउन नसकिने बताए।

मुद्दाका विषयमा अनुसन्धान गर्ने प्रहरी र मुद्दा दर्ता गर्ने सरकारी वकिलबीच देखिएका समस्या समाधान गर्ने उद्देश्यले पुस ४ देखि ६ सम्म काठमाडौंमा दोस्रो सम्मेलन हुँदैछ। ‘व्यावसायिक चरित्र पारदर्शी व्यवहार, निष्पक्ष अनुसन्धान र अभियोजन, न्यायको आधार’ भन्ने नारा अनुसन्धान अभियोजन गर्नेहरूकै विषयमा छलफल गर्नेगरी राखिएको महान्यायाधिवक्ताले बताए।

पत्रकार सम्मेलनमा प्रहरी प्रमुख सर्वेन्द्र खनालले फौजदारी, देवानी संहिता ऐन लागू भएपछिको चुनौती, नयाँ अभ्यास सुरु भएको बताए। ‘अनुसन्धान गर्ने सरकारी वकील र प्रहरीबीच के कस्ता अप्ठेरा आए भन्नेमा विश्लेषण सम्मेलनमा गरिनेछ’ खनालले भने, ‘प्रहरीले अनुसन्धान गरेपछि अभियोजन गर्ने क्रममा वस्तुनिष्ठ बनाउने, दुई बीचमा भएका केही असमझदारी भएमा निरूपण गरिनेछ।’ अपराध, देवानी संहिता ऐन लागू भएको १६ महिना भइसकेको र यसका विषयमा आइपरेका व्यावहारिक समस्याबारे सम्मेलनमा छलफल हुने बताइएको छ।

सम्मेलनमा ३ सय २० जना अनुसन्धानकर्ता प्रहरी अधिकृत, २ सय ७० जना सरकारी वकील, विधिविज्ञान विज्ञसमेतगरी ६ सय भन्दा बढीको सहभागी हुने आयोजकको दाबी छ। सम्मेलनमा मुलुकी अपराध संहिता कार्यान्वयनको अवस्था सुधारका क्षेत्र, मुलुकी फौजदारी कार्यविधि संहिता कार्यान्वयनको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजनालगायतका विषयमा छलफल गरिने भएको छ।

प्रकाशित: ३ पुस २०७६ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App