६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिमपातका कारण बर्सेनि सास्ती खेप्दै यात्रु

गत शुक्रबार भएको हिमपातले करिब २० घण्टा अवरुद्ध भएको भीमदत्त राजमार्ग। तस्बिरः नागरिक

डडेल्धुरा – हिउँदको समयमा सडकमा आउनसक्ने विपद्को समाधानका लागि डडेल्धुरामा सरोकारवाला निकायको तयारी नहुँदा बर्सेनि यात्रुहरूले सास्ती खेप्नु परिरहेको छ। जिल्लामा दैविक प्रकोप उद्धार समिति भए पनि तयारी नगरिएकाले भीमदत्त, रदशरथचन्द र जयपृथ्वी राजमार्गका विभिन्न ठाउँमा हिमपातले घन्टौंसम्म अवरुद्ध हुने गरेको छ। एक पटक हिउँ पर्दा करिब दुई दिनसम्म राजमार्गका विभिन्न स्थानमा सडक जाम हुने भएकाले यात्रुहरू जंगल क्षेत्रमै रातभर चिसोमा अलपत्र पर्ने गरेका छन्।

हिउँदमा मंसिरदेखि फागुनसम्म नै वर्षा हुँदा यहाँका उच्च लेकाली घना जंगल क्षेत्रमा हिमपात हुने गरेको छ। वर्षा हुनेबित्तिकै हिमपात हुने भीमदत्त राजमार्गको हगुल्टे, साहुखर्क, भालुमारे, अनारखोली, दशरथचन्द राजमार्गको खानअनारखोली, खोड्पे, सतबाज, जयपृथ्वी राजमार्गको दुधिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा कम्तीमा पनि दुई दिनसम्म सडक जाम हुन्छ। साघुरा सडकमा बाक्लो हिमपात भएपछि सवारीसाधन सञ्चालन गर्न सकिँदैन। दुर्घटनाको जोखिमसँगै उकालोमा गाडी चल्न नसकेपछि यातायात ठप्प हुन्छ। प्रत्येक वर्ष हिउँदमा पटकपटक यहाँका मुख्य राजमार्ग अवरुद्ध हुने भए पनि स्थानीय सरकार, प्रशासन कार्यालयलगायत सरोकारवाला निकायले सडक जाम हुँदा यात्रुले खेप्नुपरेको सास्तीको सवालमा पूर्वतयारी गरेको पाइँदैन।

यो वर्ष मंसिरमै अर्थात् गत शुक्रबार भएको हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक अवरुद्ध भएको डडेल्धुराको भीमदत्त राजमार्ग करिब २० घण्टापछि एकतर्फी रूपमा खुलेको थियो। यसैगरी हिमपातकै कारण अवरुद्ध करिब २४ घण्टा पछि दशरथचन्द राजमार्ग सुचारु भएको थियो भने जयपृथ्वी राजमार्ग करिब ५० घण्टापछि मात्र सुचारु भयो।

हिमपातका कारण सडक अवरुद्ध हुँदा यात्रुले चिसोमा बिचबाटोमै रात बिताउनु प-यो। हिमपातका कारण अवरुद्ध बनेका सडक सुचारु गर्न पहल गरिएको भए पनि त्यो पर्याप्त नहुँदा भीमदत्त र दशरथचन्द राजमार्ग भएर ओहरदोहर गर्ने सयौं सवारी साधनका हजारौं यात्रु रातभर सडकमै अलपत्र परेका थिए। राजमार्गमा एकै साथ हिउँ पन्छाउन आफूसँग पर्याप्त उपकरण नहुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए। रकम र उपकरण नहुँदा तत्कालै हिउँ पन्छाउन नकिने समस्या दोहोरिने उनले जानकारी दिए। सडकको हिउँ पन्छाउन सडक डिभिजन कार्यालय डोटीसहित सम्बन्धित स्थानीय तहका डोजर प्रयोग गरे पनि पर्याप्त डोजर नहुँदा सडक सुचारु हुन समय लागेको उनको भनाइ छ।

प्रकाशित: ३ पुस २०७६ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App