२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दुई विप्लव कार्यकर्ता नगद र कागजातसहित पक्राउ

उदयपुर- प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई जिल्ला सचिवालय सदस्य महत्वपूर्ण कागजात र नगदसहित उदयपुरबाट पक्राउ परेका छन्। उदयपुर प्रहरीले विशेष सुराकीको आधारमा मंगलबार विहान कटारी नगरपालिका ६ धप्परका सुरेन्द्र थापा र भोजपुर खडानन्द नगरपालिकाका १३ का जमानसिंह भन्ने दिपेश राईलाई पक्राउ गरेको जनाएको छ।

पार्टीको सगरमाथा ब्युरो इन्चार्जसमेत रहेका थापा र केन्द्रीय सदस्य रहेका राईलाई ३२ हजारभन्दा बढी नगद र विभिन्न कम्पनीका सिमकार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी प्रमुख वीरबहादुर बुढामगरले गोप्य सुराकीको आधारमा उनीहरुलाई पक्राउ गर्दा नेपाल टेलिकम र एनसेल कम्पनीका दर्जनौं थान सिमसहित पक्राउ गरिएको बताए।

पक्राउ थापा र राईको साथबाट नगद ३२ हजार ९ सय ६० नग, नेपाल टेलिकमको २२ थान सिम, एनसेलको १६ थान र स्मार्ट मोवाईलको १ थान सिम बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। त्यस्तै उनीहरुको साथबाट एन्ड्रोईड मोवाईथ २ थान र किप्याड ६ थान पनि बरामद भएको छ। पक्राउबाट नेपाल कम्युनिष्ट पार्टीको नाममा छापिएको रसिद ७ थान पनि बरामद भएको छ।

उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याएर आवश्यक अनुसन्धान भईरहेको एसपी मगरले बताएका छन्। दुई दिनअघि मात्र पार्टीका दुई जिल्लास्तरीय कार्यकर्ताले प्रेस विज्ञप्ती प्रकाशित गर विप्लव पार्टी परित्याग गरेको घोषणा गरेका थिए।   

प्रकाशित: २ पुस २०७६ ०७:५६ बुधबार

विप्लव कार्यकर्ता पक्राउ