१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मधेसमा शीतलहर, जनजीवन प्रभावित

तस्विरःमिथिलेश यादव/नागरिक

लहान - प्रदेश २ का जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरी जसो कुहिरो लाग्नाले एक्कासी बढेको चिसोले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा सप्तरीलगायतका जिल्लाहरुमा कुहिरोसंगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको हो।

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरु हेडलाइट बाल्न बाध्य छन्। मंगलबार बिहान लहानको तापक्रम १० डिग्री सेन्टिगे्रड मापन गरिएको छ। राति पनि शीतलहर चलेका कारण चिसो बढी महसुस भएको छ। शीतलहरका कारण बिहानको समयमा लहान लगायत तराई मधेसका बजारमा चहलपहल कम छ। सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन्। तराई मधेसमा पुसको पहिलो साताबाट शीतलहर सुरु भएर माघको अन्तिम सातासम्म रहन्छ।

मौसममा आएको परिवर्तन र चिसो हावाका कारण मधेसी समाजको जनजीवन कष्टकर बनेको छ। खासगरी विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न मुस्किल भएको छ। शीतलहरबाट मुसहर, चमार, डोमलगायतका बिपन्न बढी पिरोलिएका छन्। चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय, क्याम्पसमा विद्यार्थीको विगतको तुलनामा घटेको छ भने न्यानो कपडाको बिक्री बड्नुबाहेक अन्य व्यापार व्यवसायमा मन्दी छाएको छ।

बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरि खुलिरहेका छन्। साँझ पख पनि चिसो झनै बढ्दा बजारहरु साझदेखि नै सुनसान हुन थालेकोले व्यापार व्यवसायमा समेत यसको असर परेको यहाँका व्यपारीहरु बताउँछन्। चिसो बढे पछि ज्याकेट र न्यानो कपडा बेच्ने पसलहरुमा भने ग्राहकको भिड बढेको, अन्य व्यवसाय विगतको भन्दा कमी आएको छ।

चिसो बढेपछि रुघाखोकी, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको चिकित्सकहरु बताउँछन्। बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानका प्रमुख डा. सुनिलकुमार सिंहले बताए। जाडो बढ्दै गएपछि हाडजोनी, रुघाखोकी, दम, कोल्ड डाईरियाका बिरामीहरुको संख्या बढेको उनले बताए। चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति पनि कम देखिन थालेको छ।

प्रकाशित: १ पुस २०७६ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App