१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

खप्तडमा परेको हिउँ। तस्बिरः नेपाली सेना।

डोटी- बुधबार रातीबाट पर्न थालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ। लगभग सबैजसो क्षेत्रमा २/३ फिट बाक्लो हिउँ परेको छ। यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ। खप्तडमा अहिले तापक्रम माईनस ६/७ डिग्री सेल्सियससम्म पुग्न थालेको खप्तडस्थित नेपाली सेनाले जनाएको छ।

रेखदेखका लागि बनाईएका सम्पूर्ण मार्गहरु अवरुद्ध भएका छन्। अवरुद्ध मार्गहरु खोल्ने कार्यमा नेपाली सेना संलग्न रहेको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए। ‘बाक्लो हिउँ परेको र सँगै अत्याधिक चिसो भएकाले खोल्न कठिनाई भैरहेको छ,’ उनले भने,‘तैपनी सेनाले प्रभावकारी रुपमा काम गरिरहेकाले आधाभन्दा बढी बाटोहरु सफा भैसकेका छन्।’

यसरी बाक्लो हिमपात र निरन्तर झरीरहेको तापक्रमका कारण जीवजन्तुहरु बसाईसर्ने क्रम तिब्रतर हुँदा जोखिम बढ्दै गएको छ। ‘हिउँ पर्दा वन्यजन्तुहरु स्वभाविक रुपमा ‘लो अल्टिच्यूट’(कम उचाई)’ भएको क्षेत्रमा झर्छन्,’ प्रमुख संरक्षण अधिकृत घिमिरेले भने,‘जहाँ मानिसको बासस्थान हुन्छ, यसले जोखिम बढाउछ।’

यसरी मानिस र वन्यजन्तु नजिक हुँदा ‘द्वन्द्व’ निम्तने सम्भावना बढी हुने उनले बताए। ‘यसरी गाउँ नजिक हुँदा हिंस्रक जनावरका कारण मानिस र घरपालुवा जनावरलाई जोखिम हुन्छ,’ उनले भने,‘अर्काे भनेको संरक्षित जीवहरु नजिक आएपछि चोरीशिकारीहरु पनि मौलाउछन्। यसले निकुञ्ज र समुदायबीचमा द्वन्द्व निम्तने खतरा हुन्छ।’

यो समय संरक्षणका दृष्टिकोणबाट सबैभन्दा जोखिमको समय रहने खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय बताउँछन्। ‘यतिबेला वन्यजन्तुहरु नजिक आएर कृषकले लगाएका बालीनालीमा नोक्सानी पुर्‍याउछन्। घरपालुवा जीवजन्तुमा पनि जोखिम बढ्छ। हिंस्रक जनावरका कारण मानवीय जोखिम पनि हुन्छ,’ उनले भने,‘थप भनेको चोरीशिकारी गर्नेहरुका लागि पनि यो समय सबैभन्दा उत्तम समय हो।’

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र दुर्गम रहेको र सबैको चासो भन्दा बाहिरको क्षेत्र भएकाले चोरीशिकारी बढेको बेला–बेला गुनासो आउने गरेको छ। चोरीशिकारी गर्नेहरुका लागि हिउँदे समय सर्बोत्तम समय रहेको स्थानीयहरु बताउँछन्।

यो जोखिमको समय भएकाले संरक्षण्का गतिबिधिहरु चुस्त भएर संचालन हुनुपर्ने सरोकारवालाहरु बताउँछन्। संरक्षणमा सक्रिय राष्ट्रिय निकुञ्ज कार्यालयमा हाल ५७ जनाको दरबन्दी छ। मेजरसहितको नेपाली सेनाको गुरुगोरख गुल्म संरक्षणमा तैनाथ छ। ‘नेपाली सेना र हाम्रो टोली यतिबेला संयूक्त रुपमा चनाखो भएर बसेका छौं। खास्सै समस्या हुदैन। प्रमुख संरक्षण अधिकृत घिमिरेले भने। संरक्षणकै लागि ९ वटा सिमाक्षेत्रमा क्याम्प र आवश्यकता अनुसार गस्ती भईरहने उनले बताए।

मध्यपहाडी क्षेत्रमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज जैविक तथा पर्यावरणीय बिबिधताका दृष्टिकोणले नेपालकै नमूना क्षेत्रमा पर्दछ। काठमाडौ शिबपुरी र खप्तड मात्रै नेपालको मध्यपहाडी क्षेत्रका संरक्षित क्षेत्र हुन्। अन्य क्षेत्रहरु हिमाली र भित्रि मधेश तथा तराई क्षेत्रमा पर्दछन्। यसैले पनि खप्तड राष्ट्रिय निकुञ्ज जैबिक तथा पर्यावरणीय बिबिधताका दृष्टिकोणले महत्वपूर्ण रहेको संरक्षणविद्हरु बताउँछन्।

खप्तडमा नेपालको संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डाँफे र मूनालको बासस्थान छ। यसबाहेक ३ सय भन्दा बढी प्रजातीका चरा खप्तडमा पाईन्छन्। यस्तैे स्तनधारी जनावरमा नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी मृग, ध्याँसे चितुवा र ब्वाँसो खप्तडमा पाईन्छन्।

यसबाहेक हिमाली कालो भालु, चितुवा, बदेल, मृग, हरिण सहित थप ३० प्रजातीका अन्य स्तनधारी पनि पाईने खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ। केही अध्ययनहरुले रातो पाण्डा पनि खप्तडमा पाईने जनाएका छन्। यस्तै ‘बझाङ्गी पा’ नामक दुर्लभ छेपारो र ‘खस्रे भ्यागुता’को खप्तड क्षेत्रमा मात्रै बसोबास रहेको संरक्षणकर्मीले जनाएका छन्।

 

प्रकाशित: २९ मंसिर २०७६ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App