६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

सुर्खेत- कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ। सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ। हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ।

यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ। परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिए।

“बाहिर हिउँसँगै पानी परिरहेको छ। चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,” शिक्षक शाहीले भने, 'वर्षेनी जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ।' स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारे विद्यार्थीले यो समस्या भोग्नुनपर्ने उनको भनाइ थियो।

चन्दननाथ नमूना मावि खलङ्गाका प्रधानाध्यापक टङ्कबहादुर महतले भारी हिमपातले थरथर काँपेर परीक्षार्थी लेख्न बाध्य भएका बताए। प्रधानाध्यापक महतले भने, 'चन्दननाथ नगरपालिकाको निर्देशनबमोजिम हामीले यही मङ्सिर २५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरेका छाैं, हिमपातले विद्यार्थी शिक्षक सबैलाई परीक्षा दिन लिन गाह्रो भएको छ।'

चिसोले जुम्लाका आवासीय विद्यालयका बालबालिकाको परीक्षा सञ्चालन हुन सकेको छैन। हिमपातले हिमाली जनजीवन पनि कष्टकर भएको छ। गरीब घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिए। डा. तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान आग्रह गरे।

कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको बताइएको छ। सरकारी कर्मचारी आगो बालेर कार्यालय सञ्चालन गरिरहेका जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए। 'चिसो भए पनि सेवा प्रवाह गरिरहेका छौँ। हिजोअस्तिभन्दा हिमपातले सेवाग्राहीको आगमन घटेको छ,' निमित्त प्रजिअ श्रेष्ठले भने।

प्रकाशित: २७ मंसिर २०७६ ०७:१८ शुक्रबार

हिमपात आगो वार्षिक_परीक्षा