३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सानो पाइला’माथि भ्रष्टाचार आरोप

वीरगन्ज – जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भई वीरगन्जमा मुख्य कार्यालय राखेर काठमाडौंं, जनकपुर र अन्य जिल्लामा समेत कार्यक्रम सञ्चालन गर्दै आएको एउटा गैरसरकारी संस्थामाथि करोडौंको भ्रष्टाचार भएको आरोप लागेको छ। ‘सानो पाइला’ नामक उक्त संस्थाका संस्थापक अध्यक्षसमेत रहेका प्रमुख कार्यकारी अधिकृत कञ्चन झा र लेखापाल दीपेश सर्राफले त्यहाँ भ्रष्टाचार गरेको भनी आधा दर्जनजति निकायमा मुद्दा दर्ता गरिएको छ।

उक्त संस्थाद्वारा सञ्चालित एउटा कार्यक्रमका पूर्वव्यवस्थापकसमेत रहेका अजितम पाण्डेयले उक्त मुद्दा दर्ता गराएका हुन्। उनले संस्थाले आठ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाएका छन्। शनिबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो आरोप लगाएका हुन्। जनकपुरमा भवन निर्माण गर्ने क्रममा १४ लाखको निर्माण सामग्रीलगायत खर्च रसिदहरू आफूसँग सुरक्षित रहेको अवस्थामा फर्जी बिलभपाईको लेखापरीक्षण भएको पाण्डेयले दाबी गरे। सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत झाको मनोमानी र अनियमितताको विरोध गर्दा आफूलाई झूटो आरोपमा फसाउनेजस्ता कार्य भएकाले त्यस्तो प्रवृत्तिविरुद्ध मुद्दामा जानुपरेको पाण्डेको भनाइ छ। पत्रकार सम्मेलनमा पाण्डेले अनियमिताका करिब दुई दर्जन शीर्षक सुनाएका थिए।

संस्थाभित्रको थिचोमिचो र अनियमिताविरुद्ध कर्मचारी र स्वयंसेवकहरू बोल्न डराउने भए पनि आफूले कैयौं धम्की थेग्दै मुद्दा दिएको र सुरक्षा चुनौती देखा परेपछि पत्रकार सम्मेलन गरेको उनले बताए। पाण्डेयले जिल्ला प्रहरी कार्यालय पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग, जिल्ला प्रसाशन कार्यालय पर्सा, वीरगन्ज महानगरपालिकालगायतमा उक्त मुद्दा दर्ता भएको बताए।

सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत झाले संस्थाको अनुशासन र आचारसंहिताविपरीत गतिविधिमा संलग्न रहेको पाइएपछि पाण्डेयलाई आफूहरूले संस्थाबाट निकालेका कारण उनले आफ्नो र संस्थाको बदनाम गराउन विभिन्न आरोप लगाएको बताए। ‘उनको एउटा होइन, धेरैवटा गल्ती भेट्टायौं, लागूऔषध प्रयोगकर्ताहरूका लागि संस्थाले सञ्चालन गरेको पुनःस्थापना केन्द्रमा आउने सेवाग्रही र तिनका अभिभावकसँग पाण्डेयले अनुचित लाभ लिएको प्रमाण भेटिएका कारण उनलाई निकाल्न बाध्य भयौं,’ झाले नागरिकसित भने, ‘त्यसपछि उनले सामाजिक सञ्जालमा अनर्गल कुरा लेख्दै हिँडे, आवेश शान्त भएपछि आफैं चुप लाग्लान् भन्ने सोचेका थियौं तर उल्टो भयो। उनले मुद्दा नै दर्ता गरे। अब हामीले पनि कानुनी बाटो लिन्छौं। अहिलेसम्म मौका दिएका थियौं, अब संस्थाले पनि मुद्दा गर्नेछ।’

समाजमा राम्रो काम गर्ने संस्थाका रूपमा सानो पाइला चिनिए पनि त्यसमाथि अपारदर्शिताको आरोप लाग्दै आएको छ। यसअघि पनि केही कर्मचारीले यस्तै आरोप लगाएका थिए। यसअघिका प्रकरण सेलाएर संस्थाले आफ्नो साख र कार्यक्षेत्र विस्तार गर्नै लागेका बेला यसपटक फेरि ठूलो आरोप लागेको हो। ‘म व्यक्तिगत रूपमा दोषी ठहरिए आफूउपर कारबाही होस्,’ पाण्डेयले भने, ‘एकपटक स्वतन्त्र र निष्पक्ष छानबिन गरियोस्।’ सामाजिक संस्थाको आवरणमा कमाएको पैसा र शक्तिका आडमा दोषीहरू उम्कन खोजेको भन्दै उनले दुखेसो व्यक्त गरे। उनले संस्थाभित्र यौन अपराधका गम्भीर घटना हुने र दबाउने गरिएको आरोपसमेत लगाए। यता झाले आफूहरू विभिन्न कार्यक्रममा व्यस्त रहेको मौका छोपेर बदनाम गराउने प्रयास गरिएको दाबी गरे।

पर्सा प्रहरी शंकाको घेरामा रहेको दाबी
पाण्डेयले मंसिर ४ गते गरेको उजुरीका आधारमा जिल्ला अदालत पर्साको आदेशमा झा र सर्राफविरुद्ध त्यसैको भोलिपल्ट ५ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो। प्रतिवादीहरूले मंसिर १८ मा उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासबाट निषेधाज्ञा जारी गराएका छन्। मंसिर २७ गते हाजिर हुन उच्च अदालतले बोलाएको छ।

पक्राउ पुर्जी जारी भएको १३ दिन बितिसक्दा पनि पर्सा प्रहरीले कारबाहीका लागि कुनै चासो नदेखाएको भन्दै पत्रकारले प्रश्न उठाएपछि पाण्डेयले त्यसलाई प्रहरीको ढिलासुस्ती भनी प्रतिक्रिया दिए। संस्थामाथि स्थानीयबाट करोडौं हिनामिनाको आरोप लागेका भनी मुद्दा दर्ता भए पनि प्रहरीको निष्क्रिय भूमिकालाई शंकाको नजरले हेर्न सकिने उनको भनाइ छ।

प्रकाशित: २५ मंसिर २०७६ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App