५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चार वडामा सामाजिक सुरक्षा भत्तामा अनियमितता : छानविन समिति

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिकाका चार वडामा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको छानविन समितिले ठहर गरेको छ ।

मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तीको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि गाउँपालिकाका उपाध्यक्ष गोमादेबी मगरको संयोजकत्वमा गठित छानविन समितिले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, बराहपोखरी गाउँपालिका–२ सुन्तले, बराहपोखरी गाउँपालिका–३ साउनेचौंर र बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिबेदन पेश गरेको छ ।

मंगलबार गाउँपालिकालाई बुझाइएको प्रतिबेदनमा बराहपोखरी र सुन्तलेमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता देखिएको उल्लेख गरिएको छ । साउनेचौंर र फाक्टाङमा पनि सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएको श्रोतले जनाएको छ । स्थलगत अध्ययन र निरिक्षणकाक्रममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको पाइएपछि स्पष्टीकरण सोधिएका चार वडाले सोमबार लिखित स्पष्टीकरण बुझाएको छानविन समितिमा संलग्न किसन राईले बताए ।

 ‘बराहपोखरी र सुन्तलेमा सामाजिक सुरक्षा भत्ता व्यापक दुरुपयोग भएको पाइएको छ,’ समाजवादीका गाउँपालिका अध्यक्ष रहेका राईले भने, ‘साउनेचौं र फाक्टाङमा पनि केही समस्या पाएको प्रतिबेदन गाउँपालिकालाई बुझाएका छौँ । विस्तृत कुरा पछि खुल्छ ।’

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका बृद्धबृद्धा एबं बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि कात्तिक पहिलो हप्ता बसेको गाउँ कार्यपालिकाको बैठकले सिंगो पालिकाभरी भइरहेको सामाजिक सुरक्षाभत्ता दुरुपयोगको विषयमा छानविन गर्न उपाध्यक्ष मगरको संयोजकत्वमा ६ सदस्यीय छानबीन समिति गठन गरेको थियो ।

सबै दलका प्रतिनिधि सम्मिलित समितिले गाउँपालिकाका ६ वटै वडाभित्रको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिबेदन पेश गर्ने जिम्मेवारी पाएको थियो । छानविन समितिले पहिल्यैदेखि सामाजिक सुरक्षाभत्तामा अनियमितता हुँदै आएको पाइएको जनाएको छ । ‘अहिलेका वडा सचिव र कर्मचारीलाई मात्र कारवाही गरेर हुँदैन ।

धेरै अगाडिका पञ्जीकाधिकारीको समेत दोष देखिएको छ,’ छानविन समितिमध्येका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अध्यक्षहरुको नियत खराब देखिन्न तर पनि उनीहरुले पालिकालाई स्पष्टीकरण दिनुपर्ने देखिएको छ ।’ छानविनका क्रममा बराहपोखरी गाउँपालिका–५ पौवासेरा र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा भने सामाजिक सुरक्षाभत्ता दुरुपयोग नभएको पाइएको छ ।

मृत्यु दर्ता, बसाई सराई लगायत सम्बन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालय बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानविनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो । ५० जनाभन्दा बढिको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ ।

यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए । सरकारी निकायको लेखा परिक्षणका लागि २०७५ साल माघमा आएको महालेखा परिक्षकको कार्यालयले पनि बराहपोखरी गाउँपालिका लगायतका स्थानीय तहमा मृत्यु भइसकेका व्यक्तीको नाममा र कतिपय एउटै व्यक्तीको नाममा दोहोरो भत्ता वितरण भइरहेको औंल्याएको थियो ।

प्रकाशित: १८ मंसिर २०७६ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App