१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपिडितको विचल्ली, राहतको आशैआशमा बिते पाँच महिना

मुड्केचुला गाउँपालिका १ कौसिला खोलामा आएको बाढीले वितण्डा पारेको दृश्य। बाढीपिडितले रात बिताउने पाल।

डोल्पा- कर्णाली प्रदेशका वन उद्योग तथा पर्यटन मन्त्री नन्दसिं बुढा सांसदद्वय वीरबहादुर शाही र बदमीक्वारी बुढा तामझामका साथ नेपाली सेनाको हेलिकप्टरमा २०७६ असार ३१ मा कालिका पुगे। आफ्नै जिल्लाका मन्त्रीसहित दुई सासंद गाउँमा पुगेपछि डोल्पा मुड्केचुला गाउँपालिका १ का कौसिला खोला बाढीपिडित उचित राहत पाउनेमा ढुक्क भए।

दुखद क्षणका बीच पनि उनीहरुका आँखा हर्षले रसाए। मन्त्री बुढाले ११ घर बाढीपिडितका परिवारलाई एक/एक कठ्ठा चामल, एकसरो लुगा, सेतो कपडाको पाल र भान्साको लागि आवश्यक पर्ने भाँडाकुडा समेत वितरण गरेका थिए।

बिहान बेलुकाको छाक टार्ने अन्न र जाडो छेक्नलाई छैन लुगा।

प्रदेश सरकारले सबै बाढीपिडितको उचित व्यवस्थापनको लागि सहयोग गर्ने मन्त्री बुढाले बताएका थिए। ४५ वर्षिया पुतली बोहरा लगायतका बाढिपिडितहरु प्रदेश सरकारले उपलब्ध गराउने उचित राहतको आशामा दिन गुजार्दै आएका छन्। तर पाँच महिना बित्तिसक्दा पनि अझै राहत नपाउँदा उनीहरुमा निरासा छाएको छ।

मुड्केचुला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने काँशिला खोलामा ०७६ असार २८ गते दिनको २ बजे आएको बाढीले बगाएर ११ जनाको मत्यु भएको थियो। कालिका १ औलस्थित कौसिला गाउँका १२ वर्षीया सारिका बोहरा, ४१ वर्षीय धर्मराज बोहरा, १३ वर्षीया सोना सार्की र २३ वर्षीया चन्द्रकुमारी सार्कीको खोजतलासको क्रममा शव भेटिए। तर १२ वर्षीया धनरुपा बोहरा, १५ वर्षीया बृहस्पति बोहरा, २३ वर्षीय पन्चे सार्की, २३ वर्षीया साउनी विक, ४२ वर्षीया रंगी बोहरा, ४२ वर्षीय कालिबहादुर बोहरा र ३५ वर्षीय लवकुमार रोकायको बाढीमा ज्यान गएको भएपनि अझै शव भेटिएको छैन।

जिल्ला प्रशासन कार्यालयले बाढीमा परेर मृत्यु भई शव भेटिएका ४ घर परिवारहरुलाई एक लाखको दरले राहत उपलब्ध गराएपनि संगै ज्यान गुमाएका तर शव फेला नपरेका ७ जना मृतकका आफन्तले अझै राहत पाउन सकेका छैनन्। कौसिला खोला बाढीले ११ जनाको ज्यान लिनुका साथै घरबास र खेतबारी समेत बगाएपछि बिचल्लीमा परेका बाढीपिडितहरु आफन्तको घरमा शरण लिएर यत्तिखेर कष्टपुर्ण जीवन बिताउदै आएका छन्।

प्रदेश सरकारले उपलब्ध गराएको कपडाको सेतो पालमा कष्टपूर्ण रात बिताउनु परेको पिडित कर्णलाल बोहराले बताए। उनले भने पानी पर्‍यो भने जस्तो बाहिर उस्तै भित्र चुहिन्छ। तर पनि जेनतेन वर्षात् कटाएका छौ। जाडो सुुरु भएको छ। पालमा सुतिसक्नु छैन। जाडोमा ओढ्ने बाक्लो कपडा पनि छैन। खानलाई अन्न पनि छैन। कहिलेकाँही त एक छाक खाएर सुत्छौ बोहराले पिडा पोखे।

प्रदेश मन्त्री सहित सांसद आएर सहयोग गर्ने बचन दिएका थिए तर अहिलेसम्म पाइएको छैन अब त आश पनि मर्न थाल्यो उनले भने। मुड्केचुला गाउँपालिका १ का वडा अध्यक्ष भानुभक्त बोहरा पनि स्वयंम बाढीपिडित हुन्। बाढीले घरखेत बगाएपछि बेसाहारा बनेका बोहरा आफु पिडित भएर पनि अन्यको सहयोगको लागि के कसरी राहत जुटाउन सकिन्छ भनेर जिल्ला हुदै प्रदेश सरकार समक्ष पहल गरिरहेको बताउँछन्।

प्रदेश सरकारले उपलब्ध गराउछु भनेको पाँच महिना बित्तिसक्दा पनि राहत नपाउनु दुखद कुरा भएको र बाढीपिडितका दुस्ख पिडाप्रति प्रदेश सरकार उदासिन भएको उनले बताए। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले मत्यु भएर शव भेटिएका ४ जना पिडितहरुलाई एक लाखको दरले राहत उपलब्ध गराइएको र बाँकी ७ घरपरिवारलाई पनि राहतको लागि गृहमन्त्रालयमा पहल गरिरहेको बताए।

उनले भने अन्यलाई दश हजारका दरले सहयोग गरिएको र गृहबाट रकम प्राप्त भएपछि वितरण गरिने छ। बाढीपिडितहरु अध्यारोमा बस्न नपरोस् भनेर सोलारको व्यवस्था गरिएको र छिट्टै बाढीपिडितको बास्थानमा पुगेर वितरण गरिने पनि प्रमुख जिल्ला अधिकारी केशरीले नागरिकलाई बताए।

कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिं बुढाले मन्त्री परिषद्बाट आवश्यक सहयोग उपलब्ध गराउने र बाढीडिपिडितको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने निर्णय भइसकेको बताए। निर्णय भएर विपद् व्यवस्थापन शाखामा गइसकेको र अबको केहि दिन भित्रमा नगदसहित बन्दोबस्तीका सामाग्री बाढीपिडितले पाउने मन्त्री बुढाले बताए।

सम्बन्धित जिल्लाका मन्त्री र सांसद भएर पनि पाँच पाँच महिनासम्म बाढीपिडितले राहत नपाएर कष्टपूर्ण जीवन बिताउनु पर्दा प्रदेश सरकार र जिल्लाकै मन्त्रीको चर्को आलोचना हुँदै आएको छ।


 

प्रकाशित: १३ मंसिर २०७६ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App