१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लुकीलुकी पढ्छन् राउटे बालबालिका

अक्षर चिन्न सिक्दै राउटे समुदायका बालबालिका। तस्बिर:नागरिक

सुर्खेत- जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। सदियौँदेखि यहीँ मान्यतालाई आत्मसाथ गर्दै आएका राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यता विपरित लेखपढ गर्न थालेका छन्।

दैलेखको गुराँस गाउँपालिकामा रहेको यो समुदायका बालबालिका बस्तीदेखि टाढा गएर जोडी शिक्षकहरुसँग अक्षर चिन्न थालेका छन्। ‘मुखियाले पढेको थाहा पाए गाली गर्छन्,’ १२ वर्षीय बालक खम्मागाडे शाहीले भने, ‘त्यहीँ भएर बस्तीदेखि ढाटा लुकीलुकी अक्षर चिन्न थालेका छौं।’ घुमन्ते राउटे समुदायका लागि सामाजिक सेवा केन्द्र (सोसेक)ले जोडी शिक्षक राखेको छ। राउटे बालबालिकाहरु तिनै जोडी शिक्षकसँग अक्षर चिन्छन्। घुमन्ते जीवन बिताउने यो समुदायको संख्या एक सय ४८ छ।

१५ वर्षमुनिका बालबालिकाको संख्या ३२ जना छ। चार बालिका र ११ बालक नियमित अक्षर चिन्नका लागि जोडी शिक्षकसँग आउने गर्छन्। ‘अहिले आफ्नो नाम लेख्ने र पैसा गन्न सक्ने भएका छौं,’ १५ वर्षीय नवीन शाहीले भने, ‘स्कूलै गएर पढ्ने रहर भए पनि अभिभावकको इच्छा विपरित जान सकिँदैन्।’

एउटै स्थानमा नबस्ने भएकाले यो समुदाय जहाँजहाँ गयो जोडी शिक्षकहरु पनि सँगसँगै जाने गर्छन्। ‘बस्ती सर्दाबाहेकको समयमा राउटे समुदायका बालबालिका पढ्न आउँछन्, उनीहरुलाई खेल्ने सामाग्री दिएर अक्षर चिनाउने गरेका छौं,’ जोडी शिक्षक हिरा खत्रीले भनिन्, ‘बालबालिकामा पढ्ने रहर ठूलो छ, तर अभिभावकको दबाबका कारण उनीहरु खुलेर पढ्न आउँदैनन्।’ जंगलबाट दाउरा ल्याउने, काठ काट्ने र खेल्ने बहाना बनाएर राउटे बालबालिका जोडी शिक्षकसँग आउने गर्छन्।

‘समुदायका मुखियाले आफ्नो मान्यता विपरितका कामहरु गर्नुहुन्न भनेर उर्दी जारी गरेकाले पनि बालबालिकाहरु लुकेर आउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘राउटे समुदायका बालबालिकामा पढ्ने चाहना अत्याधिक हुँदाहुँदै पनि त्यहीँ मान्यताले उनीहरुलाई रोकेको छ।’

लोपोन्मुख राउटे नेपालको एक मात्रै भ्रमणशील समुदाय हो। समुदायका कोही मान्छे मर्ने बित्तिकै उनीहरु ठाउँ छाड्छन्। यसले गर्दा समुदायका बालबालिका नियमित पढ्न पाउँदैनन्। सुरुमा बालबालिकालाई पढाउनका लागि जोडी शिक्षकले धेरै समस्या झेल्नुपर्‍यो। बालबालिका पढ्न आउन मान्दैनथे। जोडी शिक्षक भन्ने बित्तिकै मुखियाहरुले बस्तीमा प्रवेश दिँदैनथे। ‘सुरुसुरुमा काठ काट्न र सिकार खेल्नसँगै जंगल गएर पनि अक्षर चिनायौं,’ उनले भनिन्, ‘अहिले भने खोजीखोजी पढ्नका लागि आउँछन्।’

सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकले राउटे समुदायका बालबालिकामा पढ्ने चाह अत्याधिक रहेको बताए। उनले बालबालिकाको शिक्षाका लागि मन्त्रालयले समुदाय–शिक्षक राख्ने तयारी भइरहेको बताए। ‘सोसेकले जोडी शिक्षक राखेकाले मन्त्रालयले एक जना स्वास्थ्यकर्मी र एक जना स्वयंसेवक बस्तीमै राखेको छ,’ उनले भने, ‘उमेर समूह अनुसार राउटे समुदायका बालबालिकालाई पढाउनका लागि थप शिक्षक राख्ने तयारीमा छौं।’

सोसेकका पूर्व अध्यक्ष हिरासिंह थापाले राउटे समुदायका बालबालिकाहरुले अक्षरसँगै कागजबाट पुतली, माछा, तारा, घरलगायतका खेलौनाहरुमा रंग भर्न थालेका छन्। ‘सुरुमा लेख्ने कापी च्यातेका थिए, कलम भाँचेका थिएँ,’ उनले भने, ‘खेलका माध्ययमबाट अक्षर चिनाउन थालेपछि उनीहरुमा पढाईमा रुचि बढेको देखियो।’


 

 

प्रकाशित: १२ मंसिर २०७६ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App