२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् : केसी

डडेल्धुरा – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै सत्याग्रह गर्दै आइरहेका डाक्टर गोविन्द केसीले अनशन स्थगित गरेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुलापत्र लेखेका छन्। नौ दिनअघि १७ औं पटकको सत्याग्रह डडेल्धुराबाट थालेका डाक्टर केसीले मंगलबाह साढे चार बजे आमरण अनशन स्थगित गर्दै भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुलापत्र लेखेका हुन्।

केसीले केही दिनअघि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभाग आफ्नो भन्दै दाबी गरेपछि आम नेपालीसरह आफ्नो ध्यान त्यता गएको भन्दै अनशन स्थगित गरेका हुन्। उनले मंगलबार दिउँसो तीन बजे भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई पत्र पठाइएको बताए।

‘श्री नरेन्द्र दामोदरदास मोदी !,’ भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै डाक्टर केसीले खुलापत्रमा लेखका छन्, ‘अहिले म नेपालमा स्वास्थ्य र शिक्षाक्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु। तर यहीबीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ। यो समाचारले अरू नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु।

कूटनीतिक र भूराजनीतिक जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन। तर सामान्य नागरिकको हैसियतले मैले जानेको यति हो कि जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ।’

डाक्टर केसीले पत्रमा अगाडि लेखेका छन्, ‘सन् २००१ को भूकम्पपछि मैले भारत गुजरातको भुजमा घाइतेहरूको सेवा गर्ने मौका पाएको थिएँ। सन् २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि पाएको थिएँ। त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो। जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरूको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु।’

‘नेपालमा भारतका अनेक सरोकार होलान्। खासगरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ। तर नेपाल मजबुत र समृद्ध भएमात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ,’ केसीले मोदीलाई लेखेका छन्, ‘भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन्। धेरै संक्रामक रोगहरूको ठूलो भार हामीकहाँ छ। अशिक्षित र निरक्षर मानिसहरूको ठूलो संख्या पनि यसै क्षेत्रमा छ। अपेक्षित गतिमा अर्थतन्त्र बिस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ। आज हजारौं माइल टाढा मरुभूमिमा जोखिमपूर्ण काममा न्युनतम् ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन्।’

‘त्यसैले यस्ता साझा समस्यासित भारत र नेपालमात्रै नभई सबै दक्षिण एसियाली देशहरू मिलेर लड्नु जरुरी छ,’ खुलापत्रको अन्तमा डाक्टर केसीले भनेका छन्, ‘त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु।’

प्रकाशित: २७ कार्तिक २०७६ ०१:०९ बुधबार

चिकित्सा_शिक्षा सत्याग्रह अनशन गोविन्द_केसी