१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अपांगता भएकाहरूलाई सहारा सामाग्री

धादिङ – गजुरी गाउँपालिका–१ भदौरेका १५ वर्षीय सुमन भण्डारी अपांग छन्। जन्मेको दुई वर्षमा हातखुट्टा लुलो हुने र हिँड्न नसक्ने भएपछि ओछ्यानमै थलिए। उनी बोल्न सक्दैनन्। आमा मन्जु भण्डारीले उनको रेखदेख गर्दै आइरहेकी छन्। उनी अपांगता भएकैले बुबाले साथ छाडे, अर्कैसँग बिहे गरेपछि घरपरिवार चलाउनेदेखि अपांग छोराको स्याहारसुसार मन्जुले नै गर्दै आइरहेकी छन्।

उठ्न बस्नसमेत अरूको सहारा चाहिने सुमनलाई आमाले खेतीकिसानी गरेर पालिरहेकी छन्। सधैं अरूको सहारामा निर्भर रहनुपर्ने उनलाई बिहानी परियोजनाले सिपी चियर प्रदान गरेको छ। सिपी चियर पाएपछि केही आशा पलाएको मन्जुले बताइन्। ‘सधैं अपांग छोराको रेखदेखमै दिन बित्ने गर्छ,’ सहायता सामग्री पाएपछि उनले भनिन्, ‘सिपी चियर पाएपछि केही आशा पलाएको छ।’

भण्डारी मात्र होइन, जन्मजात अपांगता बनेकी भदौरेकी ३८ वर्षीया बोडकुमारी खतिवडाले पनि सहायता सामग्री पाएकी छन्। शारीरिक रूपमा अपांग बनेकी उनले ह्विलचियर पाएपछि खुसी व्यक्त गरिन्। ‘जन्मजात रूपमा हातखुट्टा सानो र लुलो भएकाले थला परेको छ,’ उनले भनिन्, ‘सधैं अरूको सहारा लिनुपर्दा दुःख लाग्छ, ह्विलचियर पाएकी छु, अब आफै यताउति गर्न सक्छु।’

आमा खम्बकुमारी छोरीको रेखदेखमा खटिन्छिन्। तीन वर्षअघि पति बितेपछि अपांग भएकी छोरी र छोराको हेरचार तथा घरव्यवहारको जिम्मा उनको काँधमा आइपरेको छ। उनी छोरीको अवस्था देखेर बेलाबेलामा भौंतारिन्छिन्। ‘हाम्रो परिवारलाई जस्तो अरू कसैलाई पनि नहोस्,’ उनले भनिन्, ‘छोरीलाई यस्तो अवस्थामा छोडेर कमाउन कहाँ जानु, दुईछाक टार्न खेतीकिसानी गर्दै आइरहेकी छु।’

ह्विलचियर पाएपछि छोरीलाई निकै सहज भएको खम्बकुमारीले बताइन्। ‘सधैं ओछ्यानकै सहारा लिएर बसिरहनुपरेको थियो,’ उनले ह्विलचेयरमा छोरीलाई राखेर गुडाउँदै भनिन्, ‘अब त यसो वरपर आँगन डुल्न पाइने भो, छोरीले नयाँ संसार पाएकी छे।’

भण्डारी र खतिवडाजस्ता अपांग भएका व्यक्ति समाजमा धेरै छन्। अपांगता भएकाहरूलाई कमजोर देख्ने मानसिकता र उनीहरूले पनि आफूप्रति हीनताबोध गर्दा धेरैले अरूको सहारामा जिन्दगी बाँच्नुपरेको छ। तर दृढ इच्छाशक्ति र कामप्रतिको मेहनतले धेरैजना आत्मनिर्भर बनेका छन्।

अपांग व्यक्तिलाई जीवनयापन र हिँडडुलमा सहज होस् भन्ने उद्देश्यले निःशुल्क रूपमा सहायक सामग्री प्रदान गरिएको हो। परियोजनाले आँखाको अपांगता भएकालाई सेतो छडी, हात÷गोडा अपांग भएकालाई ह्विलचेयर, हातगोडाका जोर्नी र अन्य समस्या भएकालाई एल्बो क्रचेज र बैसाखी वितरण गर्दै आइरहेको छ।

बिहानी परियोजनाले ह्विलचियर तीनजनालाई, सेतो छडी पाँचजनालाई, बैसाखी तीनजनालाई, लौरो तीनजनालाई, सिपीचियर एकजनालाई, एल्बो क्रचेज एकजनालाई र ट्वाइलेट चियर चारजनालाई प्रदान गरेको छ। अपांगताको अवस्था हेरेर आवश्यक मात्रामा सहायता सामग्री वितरण गरिएको परियोजनाका संयोजक उमेश अधिकारीले बताए।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App