२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आलमको बयान परिचयमै सकियो, भोलि पनि जारी रहने

रौतहट– रौतहटको राजपुर फरहदवा बम कान्डका मुख्य आरोपी पुर्वसांसद मोहम्मद अफताव आलमको मंगलबारको बयान परिचयमै सकिएको छ। जिल्ला अदालत रौतहटमा बयानका लागी आलमलाई सवा १० बजे नै प्रहरीले उपस्थित गराए पनि उनको बयान सवा ३ बजेदेखि सुरु भएको थियो। निकै छोटो समयमा आलमको परिचयमै कार्यालयको समय सकिएपछि भोलि बयान पनि जारी रहने बताइएको छ। 

आलमलाई १ः १५ बजे जिल्ला न्यायाधिश दिपक ढकालको इजलाशमा बयानका लागि पेश गरेपछि उनका पक्षका कानून व्यवसायीहरुले मुद्दाको मिसिलको पुरै फोटोकपि उपलब्ध गराउन माग गरेपछि आलमको शुरु हुन लागेको बयान कार्य केही बेरसम्म रोकिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले ४० पेजको अभियोग पत्रसहित ८३३ पेजको लामो मिसिलसहित सोमबार मुद्दा दर्ता गराएका थिए। आलम पक्षका कानून व्यावसायीहरुले मुद्दाको मिसिलको नक्कल प्राप्त गरिसकेपछि आलमको बयान कार्य शुरु भएको थियो।

प्रतिवादीतर्फका कानुन व्यावसायीहरुले मिसिलमा संलग्न सम्पुर्ण कागजातको प्रतिलिपि प्रा्प्त गरी प्रतिवादीलाई राइट टु काउन्सिलिँगको आधारमा काउन्सिलीँगसमेत गरी बयान सुरु गर्न पाँउ भनी न्यायाधिश ढकाललाई लिखित रुपमै आग्रह गरेपछि आलमको बयान लिने कार्य ढिलो भएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार गुणराज पराजुलीले बताए।

राजपुर फरहदवामा भएको बम कान्डमा ज्यान गुमाएका र घाइते भएका पीडितको तर्फबाट काठमाडौंबाट आएका कानुन व्यावसायी आसिक राम कार्कीले दुवै पक्षका कानुन व्यावसयीले अभियोग पत्रको प्रतिलिपि पाइसकेको स्थितिमा अदालतको ब्यान वयान प्रक्रिया नै अवरुद्ध हुने गरी अदालतको अमूल्य समय खेर गएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

२०६४ सालमा राजपुरमा भएको बम कान्ड तत्कालीन प्रहरी प्रमुखले घटनाका अधिकांश प्रमाणहरु नष्ट गरेको कारण आलमलाई नियन्त्रणमा लिइसकेपछि १०० पेजको मिसिललाई अनुुसन्धान गरेको थियो। घटनाका विभिन्न प्रमाणसहितका कागजातहरु संकलन गरी आलममाथि कार्यवाहीको लागि झण्डै ८३३ पेज लामो मिसिल अदालतमा दर्ता गरेपछि प्रतिवादी पक्षका कानून व्यावसायीहरुले मुद्दाको नक्कल माग गरेकाले केही बेर बयान कार्य स्थगित भएको जिल्ला सरकारी वकिल खडिन्द्र राज कटुवालले बताए।

कानुन व्यवसायिहरुलाई नक्कलको पूतिलिपि उपलब्ध गराएपछि शुरु भएको बयान झण्डै ४५ मिनेट चलेको सरकारी वकिल कटुवालले बताए। आलमसँग न्यायाधिश ढकालले ९ वटा प्रश्न सोधेका थिए। आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेको सम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान भोली हुने सरकारी वकिल कटुवालले नागरिकन्युजलाई बताए।

सर्वस्वसहित जन्मकैदको माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दा मा सरकारी वकिल कार्यालयले मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ। जिल्ला अदालतमा दायर गरिएको मुदामा प्रहरीले आलमलाई विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर गरी तिन अभियोग लगाउदै मुद्दा दर्ता गराएको हो।

पीडित परिवारले आलमलाई तत्कालीन मुलुकी ऐनअनुसार सर्वस्वसहित जन्मकैदको माग गरेका थिए। तर, २०७४ सालमा आएको नयाँ मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन्। मुलुकी अपराध संहिता लागू हुनु भन्दा अगाडिको घटना भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदको मागदावीको विकल्प पनि दिइएको सरकारी वकिल कटुवालले बताए।  
आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी ३ मुद्दा चलाउने गरी अदालमा दायर भएको अभियोग पत्रमा उल्लेख छ।

आज बिहानै गोला प्रथा द्वारा इजलाश नम्बर ४ का न्यायाधीश दिपक ढकालको बेन्चमा बयान भइ सकेपछि बहस हुने बुझिएको छ । सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको छ। पीडित तथा वादीको पक्षमा दुई वरिष्ठ अधिवक्ता सहित १२ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला र दिनेश त्रिपाठीले पीडितको पक्षमा बहस गर्ने काठमाडौंबाट बहस गर्न आएका अधिवक्ता पुष्पराज पौडेलले नागरिकन्युजलाई बताएका छन्।

अधिवक्ता पौडेलले दिएको जानकारी अनुसार दुईजना वरिष्ठ अधिवक्ता सहित आशिक राम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल, कुमार शर्मा, राजकुमार महासेठ, ओम प्रकाश अर्याल, सतिषराज मैनाली र अमर राउतले पीडितको पक्षमा बहस गर्ने पौडेलले बताए।

आलमको ब्यान सकिसकेपछि जिल्ला सरकारी वकिल जिल्ला न्यायधिवक्ता खडिन्द्र राज कटुवालले बहस सुरु गर्ने बुझिएको छ। त्यसपछि सहन्यायाधिवक्ता सुर्यराज दहाल, पर्सा जिल्ला न्यायाधिवक्ता रुद्र प्रसाद पन्थी, उपन्यधिवक्ता अर्जुनप्रसाद कोइराला र सहायक न्यायाधिवक्ता रामप्रसाद पन्थीले पीडितको पक्षमा बहस गर्ने जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले बताए। आलमको पक्षमा २८ जना रौतहट जिल्लाकै कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ।

न्यायधीश दीपक ढकालले ९ वटा प्रश्न गरेका थिए।

यस्तो छ बयानको प्रश्नउत्तर

१) न्यायाधीश – तपाईको नाम थर वतन के हो ?

आलम – मेरो नाम मोहम्मद आफताब आलम हो । मेरो घर राजपुर हो ।

२) वारदात भएको मिति २०६४ चैत्र २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?

आलम – त्यस बखतको मोबाइल नम्बर मलाई सम्झना छैन ।

३) तपाईंको जन्म मिति कति हो? अहिले कति वर्षको हुनुभयो?

आलम – म २०१९ सालमा जन्मेको हो । अहिले ५७ वर्षको भए ।

४) तपाईको स्थायी ठेगाना के हो ?

आलम – म राजपुर नगरपालिका ४ मा बस्छु ।

५) तपाईंले कुन विद्यालय कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ ?

आलम – मैले बिएस्सी सम्मको अध्ययन गरेको छु ।

६) तपाई के काम—पेशा व्यवसाय गर्नु हुन्छ ?

आलम – मैले २०३६ सालदेखि नै राजनीति गरेको छु । मेरो अन्य पेशा व्यवसाय छैन ।

७) तपाई र तपाईंको अंशबण्डा नभएका परिवार कोको सदस्यका का नाममा के कति चल अचल सम्पत्ति छ?

आलम – मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनहरुको समेत नाममा जोडेर २२ बिघा जति जग्गा छ । चल सम्पति खासै छैन ।

८) तपाईको स्वास्थ्य अवस्था के छ? प्रहरी हिरासतमा कुनै किसिमको याताना दिएको छ कि छैन ?

आलम – मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको विरामी हुँ । प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन ।

९) तपाईंले कानून व्यवसायी नियुक्त गर्नु भएको छ कि छैन? यदि छैन भने तपाईले निःशुल्क रुपमा कानूनी सहयाता पाउन सक्नु हुन्छ भन्ने जानकारी तपाईलाई छ कि छैन ?

आलम – मैले आफ्नो कानून व्यवसायी नियुक्त गरेको छु । उहाँहरुले नै मेरो मुद्दा लड्नुहुन्छ ।

प्रकाशित: १९ कार्तिक २०७६ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App