खोटाङ – खोकेपिलासगढी गाउँपालिकाका सबै वडा बर्थिङ सेन्टरयुक्त बनेका छन्। वडा ३ बासपानीस्थित स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै गाउँपालिका बर्थिङ सेन्टरयुक्त बनेको हो। बासपानीको बर्थिङ सेन्टर शनिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गरेका हुन्।
अमेरिकी संस्था डी टु एन फाउन्डेसनको ५८ लाख र स्थानीयको २० प्रतिशत श्रमदानबाट निर्माण गरिएको स्वास्थ्यचौकीको आठकोठे भवन हस्तान्तरणसँगै बाँसपानीमा बर्थिङ सेन्टर स्थापना गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए। सुरुमा बाक्सिला स्वास्थ्यचौकीमा मात्र बर्थिङ सेन्टर रहेको गाउँपालिकामा स्थानीय सरकार गठनपछि सुँदेल, फेदी, खार्ताम्छा, दिप्सुङ, सप्तेश्वरलगायत सबै स्वास्थ्यचौकीमा तालिम प्राप्त दक्ष प्रसूतिकर्मी, सुत्केरी गराउने साधन, औषधि व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो।
गर्भवतीलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता न्यूनीकरणका लागि गाउँपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापनाको काम अघि बढाएको जनाइएको छ। सुत्केरी गराउने क्रममा आमाको जीवन सुरक्षाका लागि हरेक वडामा बर्थिङ सेन्टर स्थापना भएपछि स्थानीय उत्साहित देखिएका छन्। ‘पहिला बाक्सिलामा मात्र बर्थिङ सेन्टर थियो। क्रमशः सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्न सफल भएका छौं,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउन हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्यलाई पूरा गरेका छौं।’
जिल्लाका १० स्थानीय तहमध्ये केपिलासगढी बर्थिङ सेन्टरयुक्त तेस्रो स्थानीय तह बनेको छ। यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाका सम्पूर्ण वडामा बर्थिङ सेन्टर स्थापना भइसकेको छ। ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई गत असार ३० गते पूर्ण बर्थिङ सेन्टरयुक्त नगर घोषणा गरिएको थियो। जिल्लाका अन्य स्थानीय तहमा पनि बर्थिङ सेन्टर स्थापनाको काम धमाधम भइरहेको छ।
प्रकाशित: १८ कार्तिक २०७६ ०४:११ सोमबार