४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला अस्पताल चिकित्सकविहीन

जिल्ला अस्पताल फाप्लु, सोलुखुम्बु। फोटोः शिखरजंग श्रेष्ठ/नागरिक

सोलुखुम्बु– सोलुखुम्बुको एक मात्रजिल्ला अस्पताल फाप्लु यतिखेर चिकित्सकविहीन बनेको छ। जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा पुगेपछि प्रदेश सरकारले डाक्टर नपठाउँदा अधिकांश विरामीलाई रेफर गरिन्छ। सामान्य रोगको उपचार समेत नहुँदा विरामी ओखलढुंगाको मिसन अस्पताल र काठमाडौ जान बाध्य बनेका छन्। 

कुनै समय ३ जना चिकित्सक र ४० जनाको हाराहारीमा स्वास्थ्यकर्मी रहेको सोलुखुम्बूको जिल्ला अस्पतालमा अहिले दरबन्दीका ३ जना स्वास्थ्यकर्मी मात्रै छन्। प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा दरबन्दिपनि घटेको छ । अहिले १८ जना दरबन्दीमा सिमित भएको अस्पतालमा कर्मचारी अभावमा जिल्लाबासीको विश्वास समेत गुमाउँदै गएको छ। 

प्रदेश सरकारले गरेको कर्मचारी समायोजनमा यहाँका सबै डाक्टर र स्वास्थ्यकर्मीले अन्यत्रै रोजेकाले अस्पताल चिकित्सकविहीन बनेको हो। यहाँ सामान्य रोग लागेका विरामीलाई  पनि काठमाडौ रिफर गरिन्छ।  फाप्लुमा उपचार नहुँदा विरामी महंगो शुल्क तिरेर काठमाडौं जान बाध्य छन्। 

सर्वसाधारण विपिन राईले भने, ‘अस्पताल अस्तव्यस्त देखिन्छ। अस्पताल र चिकित्सकको छायाँले विरामी आधा रोग निको भएको अनुभूति हुनुपर्ने थलोमा समस्या झन् थपिने अवस्थामा अस्पताल पुगेको छ। जिल्ला अस्पतालको अवस्था नै यस्तो भएपछि कसरी सेवा पाउने?’

प्रदेश मातहतका अस्पतालका लागि १ नम्बर प्रदेशमा ८ जना चिकित्सकको मात्र दरबन्दी छ। तर सोलुखुम्बूमा एक जनाले पनि समायोजनमा नरोज्दा खाली भएको हो। डाक्टर नआउँदा ललितपुर सरुवा भएका वर्तमान मेडिकल सुपरिटेण्डेन्ट डा. रविन महर्जन रवाना लिएर जान पाएका छैनन्। 

डा. महर्जन भन्छन्, ‘समायोजनमा कुनैपनि चिकित्सकले सोलुखुम्बु नरोजेकाले अस्पताल चिकित्सकविहिन बनेको हो। चिकित्सक नहुँदा समायोजन भएको ठाउँमा जान पाएको छैन्।’ उनी अस्पताल विकास समितिले अर्को चिकित्सकको व्यवस्था नहुँदासम्म बस्न आग्रह गरेपछि रोकिएका हुन्। अस्पतालमा प्रसुती सेवासमेत सञ्चालन नहुँदा जिल्लाका दुर दराजका गर्भवति महिला प्रसुतीका लागि ओखलढुंगा धाउन बाध्य बनेका छन्।

चिकित्सकको अभाव र गुणस्तरिय उपचार नपाउने भएपछि दैनिक एक सयको हाराहारीमा अस्पताल पुग्ने विरामीहरु अन्यत्रजाने गरेका छन्। विरामीको संख्या घट्दो अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ। जिल्ला अस्पतालको यो हालत हुँदापनि जिल्लाका जनप्रतिनिधि र सरोकारवाला निकाय भने मौन देखिएका छन्।
 

 

प्रकाशित: १५ कार्तिक २०७६ ०५:४२ शुक्रबार

जिल्ला_अस्पताल चिकित्सकविहीन