१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आज पोषण परियोजनाको उद्घाटन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बलियो नेपाल नामक पोषण अभियानको शुक्रबार शीतल निवासमा औपचारिक उद्घाटन गर्ने भएकी छन्। विल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनद्वारा सहयोग प्राप्त पोषण अभिवृद्धि र भोकमरी निवारणसम्बन्धी उक्त अभियान नेपालका बालबालिकामा रहेको कुपोषण र होचोपनामा कमी ल्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।

गत वर्षको अक्टोबरमा चौधरी फाउन्डेसनले यो अभियानका लागि विल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनद्वारा झन्डै आठ करोड रुपैयाँबराबरको अनुदान सहयोग प्राप्त गरेको थियो। अभियान सञ्चालनका लागि पाँच सदस्यीय सञ्चालक समिति गठन गरिएको छ। अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले अध्यक्ष रहेको समितिमा उद्योगपति निर्वाण चौधरी, बैंकर अनिल शाह, क्रिकेट खेलाडी पारस खड्का तथा पोषणविद् डा. अरुण उप्रेती रहेका छन्। नाफारहित उद्देश्य लिएको यो संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको छ।

बलियो नेपालअन्तर्गत निजी क्षेत्र तथा नागरिक समाजको संयुक्त प्रयासमा कुपोषण र भोकमरीको समस्यालाई सम्बोधन गर्ने नवीन कार्यक्रम सञ्चालन गरिने अध्यक्ष वाग्लेले बताए। उनका अनुसार संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यअनुसार नेपालले सन् २०३० सम्म कुपोषणका कारण केटाकेटीमा हुने होचोपनाको दरलाई घटाएर १५ प्रतिशतमा झार्ने उद्देश्य लिएको छ। सन् २०१६ मा यो दर ३६ प्रतिशत रहेको छ। ‘बलियो नेपाल परियोजनाअन्तर्गत निजी क्षेत्रका खाद्यवस्तु उत्पादकसँग सहकार्य गरिनेछ र यी खाद्य पदार्थको माग बढाउन सामाजिक मार्केटिङ र व्यवहार परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिनेछन्,’ उनले भने, ‘यो अभियानको मूल उद्देश्य भनेको माग र आपूर्तिको शृंखलामा आमनागरिक र निजी क्षेत्रलाई संलग्न गराएर कुपोषणविरुद्ध सरकारका कार्यक्रमहरूलाई थप मजबुत बनाउने हो।’

कार्यक्रमको पहिलो वर्षमा निजी क्षेत्रका चारवटा कम्पनीहरूसँग साझेदारी गरिनेछ। ती कम्पनीमा श्रीनगर एग्रो फार्म, अभिनास, बिएलसी र दुगड छन्। अण्डा र पोरिजको उत्पादन र उपलब्धता बढाउन यो कार्यक्रमले विशेष जोड दिनेछ। आगामी पुससम्ममा बिएलसी र दुगड ग्रुपले सर्वसाधारणले किन्न सक्ने पोषणयुक्त प्याकेट जाउलो प्रदेश ५ मा उपलब्ध गराउनेछन्। ‘हामी पोषणको उच्चस्तर भएका उत्पादनहरूसँग सहकार्य गर्दै छौं र यसमा चाउचाउ र जंक फुड समावेश हुनेछैनन्,’ अध्यक्ष वाग्लेले भने। उनले कार्यक्रमअन्तर्गत ६ देखि २३ महिनाका बालबालिकाका लागि अण्डा र प्याकेट जाउलो निःशुल्क उपलब्ध गराइने पनि बताए।

पोषण विज्ञान, उत्पादन विकास, उपभोक्ता बजार विस्तार तथा उपभोक्ताको आनीबानीमा परिवर्तन गर्नेजस्ता कार्यमा विल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग बलियो नेपालले निरन्तर साझेदारी गर्ने बताइएको छ। सन् २००० मा स्थापना गरिएको यो फाउन्डेसन संसारकै ठूलो निजी फाउन्डेसन मानिन्छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App