संविदा वाग्ले
कक्षा–११, एलआरआई स्कुल, कलंकी,काठमाडौं।
तिहार शब्द सुुन्नेबित्तिकै मनमा एक किसिमको रौनक उत्पन्न हुुन्छ। तिहारलाई फूलमाला र बत्तीको चाड पनि भनिन्छ। दसैं सकिनासाथ कहिले आफ्नो घर बत्तीले सजाउन पाइएला, आँगनमा रङ्गोली बनाउन पाइएला, घरदैलोमा दियो बाल्न पाइएला, झ्यालढोका मालाले सिँगार्न पाइएला, ससाना केटाकेटीहरूको देउसीभैलो हेर्न पाइएला भनेर सोचिहालिन्छ। यतिबेला पढाइमा पनि मन जाँदैन। तिहारको अवधि दसैंभन्दा छोटो हुन्छ तर यसको रमाइलोपन भने निकै बढी रहन्छ। तिहार सुरु हुनुभन्दा अघि नै घरघरमा पकवानहरू पाक्न थाल्दछन्।
कतिपयले आफ्नो पूरै घर झिलिमिली बत्तीले सजाउँछन्। घरभित्र धुलोका कण समेत नरहने गरी सरसफाइ गरिन्छ। सबैको घर त उज्यालो हुन्छ नै, मान्छेहरूको मुहार पनि खुसीले धपक्क बलेको देखिन्छ। तिहारको धार्मिक महत्व पनि धेरै ठूलो छ। तिहारमा काग, कुकुर, गाई, गोरु आदि जनावरको पूजा साथै धनकी देवी लक्ष्मी माताको आराधना गरिन्छ। यस चाडले दिदीभाइ÷दाजुबहिनी बीचको सम्बन्धलाई समेत बलियो बनाउँछ। आफ्नो दाजुभाइलाई देवता सरह पुजा गरेर मिठाई, मसला, फलफूलसहित उपहार दिदा दिदीबहिनीहरू निक्कै खुसी हुन्छन् अनि दिदीबहिनीलाई पनि दक्षिणा, उपहार दिएर दाजुभाइले खुसीयाली व्यक्त गर्दछन्। समूह बनाएर खेलिने देउसीभैलोले तिहारलाई अझ रमाइलो प्रदान गर्दछ। यी सबै कारणले तिहार मलाई एकदम मन पर्छ।
संस्कृतिको नाममा केही विकृति तिहारमा समेत भित्रिएको पाइन्छ। जस्तै तिहारमा जुवा, तास खेलेर धेरै पैसा सिध्याएको मलाई मन पर्दैन। त्यस्तै कानै खाने गरी पटाका पड्काउने कामले ध्वनि प्रदूषण र वातावरणलाई पनि दूषित बनाउँछ। हामीले चाडपर्वका नाममा भित्रिएका नराम्रा पक्षलाई हटाउनुपर्छ र राम्रा पक्षको जगेर्ना गर्नु पर्दछ। केही नराम्रा कुरालाई हटाउने हो भने तिहारको महŒव अझै थपिन्छ। म त आफूलाई सबैभन्दा बढी मनपर्ने रोमाञ्चक तिहारलाई स्वागत गर्न तयार भएर बसेको छु। तपाईहरू पनि तयार हुनुस् है !
प्रकाशित: ९ कार्तिक २०७६ ०४:२८ शनिबार