११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

विवादमा गढीमाई मेलाः शान्तिपुर्ण सम्पन्न गर्नुपर्नेमा जोड

कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिका प्रमुख यादव । तस्बिरः नागरिक

बारा– प्रदेश सरकारले स्थानीय तहले प्रयोग गरेको अधिकार क्षेत्रको विरोधमा लागेको भन्दै महागढीमाई नगरापलिकाले सोमबार जिल्लाका स्थानीय तहका प्रमुख, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतसँग मेलाको बारेमा राय सुझाव लिएको छ।

विश्वमै एकै पटक सबै भन्दा बढि पशु बलि दिने महागढीमाई नगरपालिकको बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेला लगाउने कार्यमा नगरपालिका र गढीमाई सञ्चालन तथा विकास समितिबीच विवाद बढदै गएपछि महागढीमाई नगरपालिकाले अन्य स्थानीय तहको प्रमुखसँग सहयोग र सुझावको लागि माग गरेको हो।

मेलालाई कुनै पक्षले सहयोग नगरे संविधानले दिएको अधिकार क्षेत्रमा रहेर स्थानीय सरकारले मेलालाई लगाउनु पर्ने जिल्लाका स्थानीय तहका प्रमुखहरुले सुझाव दिएका छन्। पञ्चवर्षीय मेला सम्बन्धमा राय सुझाव संकलन कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरुले संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्र प्रष्ट गरिएको र स्थानीय तहले पाएको अधिकार क्षेत्र प्रयोग गर्न नसक्दा देशमा अराजकताको महौल बन्दै जाने डरसमेत रहेको उनीहरुले तर्क गरे।

कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले गढिमाइ मेला नगर तथा जिल्लाको मात्रै नभएर मुलुकको गरिमा बोकेकाले मेलालाई शान्तिपुर्ण रुपमा  आयोजना गर्नु पर्ने सुझाव दिए। मेलालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न महागढीमाई नगरपालिकाले अगाडी बढनुपर्ने र महागढीमाई नगरपालिकालाई अन्य स्थानीय तहले सहयोग गर्नु पर्ने सुझाव यादवले दिए।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले गढीमाईको मेला लगाउने नाममा मेलालाई विवादित बनाउन खोजेको र यस कार्यलाई सबै स्थानीय तहले मिलेर प्रतिकार गर्नु पर्ने तर्क यादवले गरे।

कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अंसारीले स्थानीय सरकार सञ्चालन ऐनमा मेला, मठ मन्दिर, जात्रा, मर्ध,संस्कृतिको रेख देख र संरक्षण गर्ने अधिकार स्थानीय तहरलाई दिएको दावी गरे।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले महागढीमाई नगरपालिकाको अधिनमा रही मेलामा सहयोग गर्नुपर्नेमा समितिले स्थानीय सरकारसँग बराबरीको अधिकार खोज्नु संविधानलाई चुनौती दिएको जस्तै देखिएको अंसारीले बताए।

कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले संविधानले दिएको अधिकार कार्यन्वयन गर्दा केही दलका नेताहरुले मेलालाई नै भाँडभैलो गर्न खोजेको आरोप लगाए।

मेला मुल व्यवस्थापन समितिमा बाराका १६ स्थानीय तहका प्रमुखहरु रहेकोले आ आफनो क्षेत्रबाट मेलामा सहयोग गर्न आग्रह गरे। गढिमाइ मेला नगर तथा जिल्लाको मात्रै नभएर मुलुकको गरिमा बोकेकाले मेलालाई शान्तिपुर्ण रुपमा  आयोजना गर्ने सबैको दायित्व भएको बताए।

नगरपालिकाले आफ्नो अधिकार क्षेत्र प्रयोग गर्दा प्रदेश सरकारका जिम्मेवार पदाधिकारीहरुले त्यसलाई रोक्न खोजेर पदिय मर्यादा विपरित कार्य गरेको आरोप यादवले लगाए। गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति ट्रष्ट नभई गैर सरकारी संस्था रहेको र गैरसरकारी संस्थालाई बाटोघाटो बनाउने, कर संकलन गर्ने अधिकार नरहेको पनि प्रदेश सरकारको उक्साहटमा लागेर नगरपालिकाका निउ खोजेको यादवले बताए।

मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि नगरपािलका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिसँग सहकार्य गर्न तयार रहे पनि समितिका अध्यक्ष रामचन्द्र साहले सहकार्य गर्न नचाहेको आरोप यादवले लगाए।

कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले गढीमाई मेला बारा जिल्ला बासीको मान समानको विषय भएकोले मेलालाई शान्तिपुर्ण सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताए। मेलामा कुनै त्रृटि भएमा यसले जिल्लाकै बदनाम गर्ने भएकोले मेलालाई भाडनेलाई बाराबासीले नछाडने चेतावनीसमेत अध्यक्ष गुप्ताले दिए।

कार्यक्रममा पचरौता नगरपालिकाका नगरप्रमुख रमेश यादवले गढीमाई मेलालाई सबैले सहयोग गरेर महामेलाको रुपमा लगाउनुपर्ने र यस कार्यमा महागढीमाई नगरपालिकालाई सबै स्थानीय तहले सहयोग गर्नु पर्ने बताए।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्दमणी पोखरेलले मुलुक संविधानले नै चलि रहेको र संविधान नमान्ने तत्वलाई कानुनी कारवाही गर्न आफुहरु पछि नहटने बताए। मेला लगाउने अधिकारी स्थानीय तहलाई भए पनि महागढीमाई नगरपालिकाले विवाद साम्य पार्नको लागि केही लचकता देखाउनु पर्नेमा अग्रह प्रजिय पोखरेलले गरे।

कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, देवताल गाउँपालिका प्रमुख चन्दन सिंह, विश्रामपुर गाउँपालिक प्रमुख अमिरिलाल पाल, महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देवी कानु, नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियालगायतले संविधानले दिएको अधिकारलाई कार्यन्वयन गर्दै आपसी समझदारीमा मेलालाई व्यवस्थित, मर्यादित रुपले लगाउनुपर्ने सुझाव दिए। 

मेलामा आउने लाखौं श्रद्धालुहरुलाई खानेपानी, शौचालय, स्वास्थ्यको लागि आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धतासमेत स्थानीय तहका प्रमुखहरुले गरे।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष मुक्ति यादव, समाजवादी पार्टीका कमलेश मण्डलले, परिवार दलका रामचन्द्र चौधरी, राकेश यादव लगायतले आपसी समझदारी नभए संविधानले दिएको अधिकार प्रयोग गरि मेला लगाउनुपर्ने कुरामा जोड दिए।

प्रकाशित: ४ कार्तिक २०७६ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App