१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

'एसिड आक्रमणको दोषी जोगाउन चलखेल नहोस्'

वीरगन्ज - विद्यालय जाने क्रममा वीरगन्ज छपकैया–२ की १५ वर्षीया मुस्कानमाथि गत भदौ २० गते दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेको घटनाको ३७ दिन बितेको छ। मुस्कानलाई एसिड आक्रमण गरेका दोषीमाथि भइरहेको अनुसन्धान र मुद्दाको प्रक्रियाबारे बुझ्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव नेतृत्वको एउटा टोली सोमबार जिल्ला प्रहरी कार्यालय पुगेको छ। घटनाका आरोपी मुख्य दोषी सांसद मिया र माजिद आलम पर्सा प्रहरीको हिरासतमा छन्। हाल कीर्तिपुरस्थित बर्न हस्पिटलमा मुस्कानको उपचार भइरहेको छ।

उनलाई भेट्ने र शुभेच्छा व्यक्त गर्नेमा विभिन्न दलका नेतादेखि बलिउडका अभिनेतासम्म छन्। यता घटनाका दोषीहरूउपर भइरहेको कारवाहीको बारेमा र समग्रमा पर्सा जिल्लामा छोरीचेलीहरूको सुरक्षाका बारेमा बुझ्न आफूहरू जिल्ला प्रहरी कार्यालय आइपुगेको सांसद यादवले बताए।

सांसद यादवले पर्सा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग घटनाको अनुसन्धानबारे जानकारी मागे। उनले दोषीमाथि कानुनबमोजिम कारवाहीका लागि विशेष अनुसन्धान गर्न प्रहरीलाई सुझाव दिए। पछिल्लो समय मुस्कानउपर एसिड आक्रमण घटनाका दोषीलाई बचाउन चलखेल सुरू भएको सूचना पाएपछि सांसद यादवले प्रहरीसँग मुद्दाको विषयमा जानकारी लिएका हुन्। दोषी जोगाउन चलखेल नहोस् भनी आफूले विशेष चासो राखेको सांसद यादवले बताए।
आरोपीको उमेर परीक्षण

यसैबीच, आरोपीहरू नाबालक भएको भन्दै कानुनी रूपमा सहुलियतका लागि उनीहरूका परिवारजनले पहल गरिरहेका थिए। एकातिर चौतर्फी चासोमा रहेको सो घटना चर्चित भएको र अर्कोतिर आरोपीका परिवारको विशेष दाबी रहेको अवस्थामा प्रहरीले मुद्दालाई अगाडि बढाउन उमेर जाँच गराएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय, द्वन्द्व विशेषज्ञ सोनी झा, हाडजोर्नी विशेषज्ञ डाक्टर राजदेव कुशवाहा, रेडियोलोजिस्ट डाक्टर विजयराज खनालले आरोपीको उमेर क्रमशः १९ वर्ष र १७ वर्ष रहेको मेडिकल रिपोर्ट दिएपछि मुद्दा बढेको छ। परिवारजनले आरोपी दुवैको उमेर १४ र १५ वर्ष भनेर प्रहरीमा दाबी गर्दै नाबालक भएकोले सोहीअनुसारको मुद्दा चलाउन दाबी गरेका थिए।

यसैबीच, मुस्कानको अवस्थामा केही सुधार भएको डाक्टरले बताएका छन्, अहिले उनी बोल्न सक्ने अवस्थामा छिन्। तर एसिडको मात्रा बढी परेको भाग, दायाँ कान उनले गुमाउनुपरेको छ। घटना भएदेखि नै निरन्तर पीडित मुस्कानको सहयोगका लागि जुटेका सांसद यादवले भने, ‘यी कुराहरू प्रहरीको अनुसन्धानको कागजातमा छुट्नुभएन। यस्ता घटना दोहरिन नदिन पीडकले उचित सजाय पाउनुपर्छ। एसिड बिक्री गर्ने व्यक्ति पनि कारवाहीको दायरामा आउनुपर्छ।’ एसिड बिक्री गर्ने व्यक्ति पहिचान भइसकेको र पक्राउ पर्न बाँकी रहेको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए।

प्रहरीले यस घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत १० वर्ष कैद र अर्को एसिड तथा रसायनिक पदार्थ आक्रमण गरेको मुद्दामा अर्को १० वर्ष कैद माग गर्दै सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत पर्सामा मंगलबार दर्ता हुने प्रहरी उपरीक्षक राठौरले जानकारी गराए। उनले घटनाको अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराखेको दाबी गरे। सांसद यादवले बालिका तथा युवतीहरू विद्यालय र क्याम्पस जाने आउने समयमा निगरानी बढाउन र छेरीचेलीलाई जिस्काउने र दुःख दिनेलाई समातेर गम्भीरतापूर्वक कारवाही गर्नसमेत सुझाव दिए।

प्रकाशित: २८ आश्विन २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App