बनेपा - चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्यसहित थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण कार्य साढे ६ वर्ष पुग्नै आँट्दासमेत पूरा हुन सकेको छैन। बनेपा, धुलिखेल र पनौती तीनवटै नगरपालिकाका ९३ हजार नागरिकलाई सन् २०२४लागि नेपाल गुणस्तरको खानेपानी खुवाउने उद्देश्यले २०७० साल जेठबाट आयोजनाको काम सुरु भएको हो।
काभ्रे उपत्यका खानेपानी व्यवस्थापन बोर्डको पदाधिकारी रहेका तीनवटै नगर प्रमुखहरूलेसमेत यस पटकको दसैंअगावै सबै नगरमा खानेपानी आउने भन्दै आ–आफ्ना नगरवासीलाई आश्वस्त पार्दै आएका थिए। तर, अधिकतर कामहरू बाँकी रहेकाले तोकिएको समयमा खानेपानी नआउने निश्चित भइसकेको छ भने ठेकेदारको म्याद नै अक्टोबर ३१ (कात्तिक १४) मा सकिँदै छ।
‘२०७१ सालभित्रै एकीकृत खानेपानी आउँछ भनेर नगरपालिकाबाट लागत सहभागिताबापतको रकम उठाउन थालियो। त्यही सालको जेठ मसान्तमै बनेपा नगरपालिकालाई रकम बुझाइसकेको छु। तर २०७६ को असोज सकिन लाग्यो, धारामा पानी आउला भन्ने आस छैन,’ बनेपा–४ का केशवप्रसाद मैनालीले भने।
रसिद बोकेर पटक–पटक नगरपालिकामा सोध्न जाने गरेका उनी आयोजना निर्माणमा ढिलाइ हुँदै गएको सुन्न थालेपछि त्यहाँ जान छाडेका बताउँछन्, ‘यतिखेर खानेपानीको सबैभन्दा बढी समस्या भोग्ने हाम्रो नगरपालिका हो। जनप्रतिनिधिहरू आएपछि यसलाई प्राथमिकता दिएर निर्माणलाई अघि बढाउलान् भन्ने लागेको थियो। तर उनीहरूलाई खानेपानीमा चासो रहेको पाइनँ,’ मैनालीले थपे। निर्माण कार्यमा भइरहेको ढिलासुस्तीले खानेपानी सुविधाबाट वञ्चित हुँदै आएका बनेपा, धुलिखेल र पनौती नगरपालिकाका नागरिकहरूलाई पीडामाथि पीडा थपिँदो छ। हिउँदमा मात्रै खानेपानीको अभाव हुने गरेकोमा यस पटक वर्षात्मा पनि खानेपानीको समस्याले आक्रान्त बनाएको छ।
पछिल्ला वर्षमा विगतको दाँजोमा निर्माण कार्यमा उल्लेख्य प्रगति भइरहेको आयोजना कार्यालयले जनाएको छ। ‘हालसम्मको भौतिक प्रगति ९४ प्रतिशत छ। मेनलाइनको निर्माण सम्पन्न भइसकेको छ। अब क्षेत्रिय प्रणालीका केही कामहरू र गाडिएका पाइपहरूको प्रेसर र चुहावट (लिकेज) ‘टेस्टिङ’ को काम बाँकी भएकाले अब धेरै ढिलाइ हुँदैन,’ आयोजना प्रमुख नारायणसुन्दर श्रेष्ठले भने।
आयोजनाको सबैभन्दा बढी कामको चाप भनेकै पाइप बिछ््याउने कार्य भएको उनको भनाइ छ, ‘ठेकेदारले रिजनल सिस्टम, बनेपा, धुलिखेल र पनौती प्रणालीमा तीन लाख चार हजार मिटर पाइप बिछ्याइसकेको छ। अब बिछ्याउन बाँकी पाइप करिब ३३ हजार मिटरमात्रै रहेको छ। यसलाई चाँडो सक्नका लागि निर्माण सुपरीवेक्षण परामर्शदाता (सिएससी) र ठेकेदारलाई ताकेता गरिरहेका छौं,’ श्रेष्ठले थपे।
सन् २०१३ को जुन १२ मा चिनिया ठेकेदार कम्पनी निङ्बो निंसिङ् इन्टरनेसनल, इन्कले आयोजनाको ठेक्का पाएको थियो। नेपालस्थित ठेकेदारका प्रतिनिधि किरण वैद्यको कम्पनी एक्जिम नेपाल प्रालिले निर्माण कार्य गरिरहेको छ। खानेपानी आयोजना सुरु हुँदा ६७ करोड ३३ लाख रुपैयाँ लागत रहेको आयोजनामा दुई पटक भेरिएसन भएर मूअक (भिएटी)बाहेक ९९ करोड ११ लाख रुपैयाँ लागत पुगिसकेको छ।
कुल लागतमा यसरी ४७ प्रतिशतले वृद्धि भएको हो। यस्तै, निर्माण अवधि तीन गुणाभन्दा बढी लम्बिँदा कामको परिमाणसमेत बढेकाले सुपरीवेक्षण परामर्शदातालाई सुरुको सम्झौता ३ करोड ४३ लाखको दोब्बरभन्दा बढी अर्थात सात करोड ३२ लाख रुपैयाँ आयोजनाले भुक्तानी दिनु पर्ने अवस्था आएको छ। निर्माण कार्यको सुपरीवेक्षण बिल्डिङ डिजाइन अथोरिटी (बिडिए) प्रालि र सिम्याट कन्सल्ट्यान्ट प्रालिको जेभीले गर्दै रहेको छ।
उता, अमेरिकी डलरको भाउमा लगातारको वृद्धि र मूल्यवृद्धि समायोजनले थप २० करोड रुपैयाँको हाराहारीमा आयोजनाको लागत बढ्ने भएको छ। ‘मूल्य समायोजन (प्राइस एस्कालेसन) पश्चात ठेक्का रकम मूअकसमेत एक अर्ब २९ करोड ९२ लाख रुपैयाँ पुग्ने भएको छ। हाल (आएपिसी–१७)सम्मको मूअकसमेत ९१ करोड चार लाख ४२ हजार रुपैयाँ भुक्तानी भइसकेको छ,’ श्रेष्ठले थपे।
यसैवीच, दसैं अगाडि एशियाली विकास बैंकबाट आएको पछिल्लो मिसनले खानेपानी आयोजनाको भौतिक प्रगतिलाई उल्लेख्य ठहर गरेको श्रेष्ठको भनाइ छ, ‘अक्टोबर ३१ सम्म म्याद थप गर्दा बैंकले अन्तिम पटक भनेको थियो। मिसनले प्रगति देखेर अब दुई महिनाजति म्याद थपिदिने अपेक्षा गरिएको छ। यो अवधिमा खानेपानी आयोजना निर्माण सम्पन्न हुन्छ,’ उनले थपे। सम्झौता हुँदा सात सय ३० दिनमा आयोजना हस्तान्तरण गरिसक्नुपर्ने अवधि राखेको बैंकले हालसम्म आठौं पटक म्याद थपिसकेको छ। तर पछिल्लो पटक थपिएको म्याद पनि कात्तिक १४ गते (अक्टोबर ३१ तारिख) समाप्त हुँदैछ।
खानेपानी आयोजना सम्पन्न नभए पनि तीनवटै नगरपालिका प्रत्येकले नगर विकास कोषबाट लिएको आठ करोड ८७ लाख ६६ हजार आठ सय २६ रुपैयाँको ‘ग्रेस पिरियड’ (सहुलियत अवधि) सकिएको छ। पानी बेचेर आएको पैसाबाट साँवा र ब्याज तिर्ने गरी तीनवटै नगरपालिकाले पाँच प्रतिशत ब्याजमा २० वर्ष अवधिमा चुक्ता गर्ने सर्तमा २६ करोड ६३ लाख रुपैयाँ ऋण लिएका हुन्। तीनवटै नगरपालिकाले संयुक्त रूपमा निर्माण र वितरणमा समेत सहभागी हुने गरी सहमति जनाएको एकीकृत खानेपानी आयोजनाका लागि ५० प्रतिशत एसियाली विकास बैंक, ३५ प्रतिशत नगर विकास कोषको ऋण र १५ प्रतिशत नगरपालिकाहरूले लागत ब्यहोर्ने गरी सम्झौता गरेका हुन्।
सुरुमा तीन वटै नगरपालिकाले छुट्टाछुट्टै आयोजना बनाउन लागेकोमा मुख्य दाता एसियाली विकास बैंकले एकीकृत हुँदा लागत कम हुने सुझाव दिएपछि आयोजना कार्यान्वयनमा आएको हो। नेपाल खानेपानीको गुणस्तर मापदण्ड अनुसारको ६५ देखि ८० लिटर पानी प्रति व्यक्ति प्रतिदिन उपलब्ध हुने आयोजनाको लक्ष्य रहेको छ। योजना डिजाइन हुँदा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खानेपानी उपलब्ध हुने भनिए पनि आयोजनाको लागत धेरै बढ्ने भएपछि नेपाली मापदण्डमा झारिएको थियो।
प्रकाशित: २७ आश्विन २०७६ ०३:१९ सोमबार