१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आठ वर्षदेखि अलपत्र बसपार्क काउन्टर भवन

तम्घास- गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधीन टिकट काउन्टर भवन अलपत्र परेको छ। विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिँदा वर्षौदेखि अलपत्र परेको हो। भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुनसकेको छैन।

वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुनु उदिनढुङ्गा बसपार्कको विशेषता बनेको छ। जसले गर्दा यातायात व्यवसायी तथा स्थानीयवासीले हैरानी खेप्दै आएका छन्। बसपार्कको आधार निर्माण गरेकै करीब दुई दशक भयो, तर अझै व्यवस्थित हुनसकेको छैन।     
     
बसपार्क व्यवस्थित बन्ने आसमा स्थानीयवासी ओमबहादुर थापा, प्रेम थापा, महा शर्मा भण्डारीलगायतले चार रोपनी जग्गा दिए। तर, वर्षौ बिते आशा पूरा भएन। बरु हिलो र धुलोसँगैको दुर्गन्धले पीडित बन्नुपरेको छ। 'राम्रो र व्यवस्थित बसपार्क बनाउने भन्दै जग्गा मागे, हामीले दियौँ।'

जग्गादाता ओमबहादुर थापाले भने, 'अहिले आशा निराशामा परिणत भएको छ।' त्यसका साथै उनले बसपार्कमा बन्न शुरु गरेको भवन अझै पूरा नहुनु र २० वर्षसम्म पनि बसपार्क व्यवस्थित हुन नसक्नु दुखद विषय भएको बताए। बसपार्कको आधा भाग नै भवनले ओगटेको छ। त्यसलाई स्थानीय र व्यावसायीहरुले गलत डिजाइन भन्दै आएका छन्। जथाभावी पार्किङ, ग्यारेज र यात्रुको फोहरले बसपार्क दैनिक प्रदूषित बन्दै गएको स्थानीयवासी महेश्वर घिमिरेले बताए।     
     
ठेक्का लगाएर पार्किङ शुल्क लिँदै नगरपालिका     
बसपार्क व्यवस्थित नहुँदा वर्षौँदेखिको समस्या यथावत छ। तर बसपार्क व्यवस्थापन गर्नुको सट्टा रेसुङ्गा नगरपालिकाले ठेक्का लगाएर पार्किङ शुल्क लिइरहेको छ। तर नागरिक र व्यवसायीहरुले पार्किङ शुल्क लिएजस्तो सुविधा नभएको गुनासो गर्छन्। स्थानीयवासीले बसपार्क व्यवस्थित गर्न नगरपालिकासँग पटक–पटक माग गरेका छन्। नगरपालिकाले भने केहीबेर थुमथुम्याउने काम मात्रै गरिरहेको बसपार्कमै मोटरपार्टसको व्यावसाय गर्दै आएका वीरेन्द्र श्रेष्ठले बताए।     
     
स्थानीयवासीले बसपार्क व्यवस्थित गरी कालोपत्र गर्नुपर्ने माग गरे पनि पूरा भएको छैन। कुनै पनि बसपार्कमा पार्किङ शुल्क लिनु नियमसङ्गत छ। तर, गाडी फर्काउनकै लागि लैजानु वा कुनै व्यक्तिगत प्रयोजनका लागि गाडी पुर्‍याएर पार्किङ शुल्क लिनु कति उचित ? बसपार्कमा यस्तै अनावश्यक पार्किङ शुल्कले पनि स्थानीयवासी आजित भएका छन्। 'आफ्नै घरमा गाडी ल्याएको पार्किङ शुल्क तिर्नुपर्छ।' बसपार्कका एक जग्गादाता महाशर्मा भण्डारीले भने, 'विकासप्रेमी भएर निःशुल्क जग्गा प्रदान गर्नेहरुले नै अहिले उल्टै घर आउँदा पार्किङ शुल्क तिर्नुपरेको छ।'    
     
ट्राफिक व्यवस्थापनमा चुनौती     
पछिल्लो समय बसपार्कमा भन्दा सडकमै धेरै सवारी साधन रोकिन्छन्। अहिलेकै अवस्थामा ३० प्रतिशत बस, मिनीबस र जिपहरु मात्रै बसपार्कमा हुन्छन्। ७० प्रतिशत सवारीको पार्किङ सडक छेउ नै हो। जसका कारण दशैँतिहारलाई केन्द्रित गरेर कुनै पनि सवारी साधनलाई दिउँसोमा सामान लोड–अनलोड गर्न नपाइने, होटलबाट यात्रु राख्ने र झार्न नपाइने नियम बनाइएको छ।

तर, त्यो नियम कार्यान्यनमा समस्या देखिएको छ। साँघुरो सडकमा सवारी साधन बढी र पार्किङको लागि बसपार्कको राम्रो व्यावस्था नभएकाले निकै मुस्किल परेको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक प्रविण आचार्यले बताए।     
     
बसपार्क व्यवस्थित नभएको र निर्माणाधीन भवन अलपत्र परेको कारण उदिनढुङ्गा चोकको ओरालोमा काउन्टर छन्। नागरिकको दैनिक भीड हुन्छ। ओरालो चोकको कारण दुर्घटनाको सम्भावनासमेत त्यत्तिकै रहेको छ। गुल्मी यातयात व्यावसायी समितिका कार्यालय प्रमुख डोलबहादुर कुँवरले काउन्टरको लागि जग्गा प्राप्त भए पनि काम नहुँदा बाटोमै भाडामा काउन्टर लिएर गाडी छुटाइरहेको गुनासो गरे।     
     
बिनासम्झौता पार्किङ शुल्क  
   
पार्किङ शुल्क उठाउनको लागि रेसुङ्गा नगरपालिकाले बोलपत्र आह्वान गर्‍यो। सुयोशा कन्ट्रन्सनले बोलपत्र पायो पनि। यसरी बोलपत्र प्राप्त गरिसकेपछि सम्झौताअनुसार काम सञ्चालन गर्नुपर्ने कानूनी मान्यता छ। उदिनढुङ्गा बसपार्कमा कन्ट्रक्सनले बिनासम्झौता पार्किङ शुल्क उठाइरहेको छ। यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शङ्करप्रसाद गौतमले निर्माण व्यवसायीले एकैपटक अपुरो रकम बुझाउन खोजेकाले सम्झौता नगरिएको प्रतिक्रिया दिए। पार्किङ शुल्क उठाउनको लागि कन्ट्रक्सनले तीन लाख ५० हजार २ सय रुपैयाँमा ठेक्का लिएको छ।     
     
तीन करोड ६० लाख फ्रिज     
पहिले शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा मातहतमा रहेको भवन अहिले शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, रुपन्देही मातहतमा छ। निर्माणाधीन भवनमा शौचालय, प्रहरी बिट, टिकट काउन्टरलगायतका कोठाहरुको डिजाइन गरिएको छ। विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवनको चार करोड ९१ लाख रुपैयाँको लगतअनुमान छ। तर, अहिलेसम्म ६० लाख रुपैयाँको मात्र काम भएको छ।

जसमध्ये भ्याटबाहेक ५० लाख ३३ हजार रुपैयाँ भुक्तानी भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिभत्त श्रेष्ठले जानकारी दिए। त्यसपछि ०७४ को वैशाखमा तीन करोड रुपैयाँको बोलपत्र आह्वान भयो। तर, शहरी विकासले मूल्याङ्कन गरिदिएन। जसले गर्दा विनियोजित रकम पनि कार्यान्वयन हुन सकेन।

अहिले विसं २०७६ वैशाखमा ६० लाख रुपैयाँ विनियोजन भयो। बोलपत्र गर्ने समय पुगेन भने बसपार्क व्यवस्थापन समितिले काम नगर्दा त्यो पनि फ्रिज भयो। भवनका लागि हालसम्म विनियोजित तीन करोड ६० लाख रुपैयाँ फ्रिज भएको छ। पटक–पटक विनियोजन गरेको बजेटबाट काम नभएपछि यो वर्ष सरकारले पाचँ लाख रुपैयाँ विनियोजन गरेको छ।     
     
पाल्पा कार्यालयको लापरवाहीले समस्या     
कार्यालयको स्वामित्व ग्रहण गरेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, रुपन्देहीका कार्यालय प्रमुख राजेन्द्र पाण्डेले शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले लापरवाही गरेका कारण भवन समयमै निर्माण हुननसकेको आरोप लगाए। आर्थिक वर्ष २०७४ मा विनियोजित तीन करोड रुपैयाँबाट बोलपत्र भइसकेपछि मूल्याङ्कन गरी सम्झौता गरेको भए भवन पहिल्यै बनिसक्ने उनले दाबी गरे। तर, अब थप रकम केन्द्रमा माग गरिएको र रकम पठाएपछि काम शुरु गरिने उनले बताए।     
     
पार्किङ शुल्कको सम्बन्धमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले निर्माण व्यवसायीले आफुखुशी पार्किङ शुल्क लिएको आरोप लगाए। त्यसका साथै नियमलाई अटेर गरी नियमविपरीत पार्किङ शुल्क लिने निर्माण व्यवसायीलाई कारवाही गर्ने समेत उनले जानकारी दिए। रासस

प्रकाशित: १७ आश्विन २०७६ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App