१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

श्रमदानबाट सडक मर्मत

श्रमदानबाट धितुङ भन्ज्याङ–कात्तिके–डिहिडाँडा–विजयखर्क सडक मर्मत गर्दै स्थानीय। तस्बिर ः नागरिक

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका स्थानीयले श्रमदान जुटाएर सडक मर्मत गरेका छन्। ससाना विकास निर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला धितुङका स्थानीयले अवरुद्ध सडक खुलाउन श्रमदान गरेका हुन्।

आफैंले गर्न सकिने विकास निर्माणका ससाना काममा पनि बजेट खोज्ने प्रवृत्तिको अन्त्य गर्न स्थानीयले धितुङ भन्ज्याङ–कात्तिके–डिहिडाँडा–विजयखर्क सडक मर्मत गरेको वडासदस्य खेमराज कार्कीले बताए।

हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलाई जोड्ने लक्ष्यसाथ गरिबी निवारण कोषको आर्थिक सहयोगमा २०७४ सालमा निर्माण गरिएको सडक वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएपछि मर्मत गरिएको हो।

खोल्सा खाल्सीमा भत्किएको सडकमा तारजालीसहितको ग्याबिन पर्खाल हालिएको छ। तारजाली सकिएकाले केही दिनका लागि काम रोकिएको वडासदस्य कार्कीले बताए। ग्याबिन वाल हालेपछि नगरपालिकाको जेसिभी लगाएर सडक सफा गर्ने तयारी छ। अवरुद्ध सडक मर्मतका लागि दैनिक ६५ देखि ७० जना स्थानीयले श्रमदान गरेका छन्। ‘तार जाली सकिएकाले ग्याबिन पर्खाल हाल्ने काम रोकिएको छ,’ वडासदस्य कार्कीले भने, ‘तारजाली जुटाउने काम भइरहेको छ।’

सडक मर्मत क्रममा स्थानीयले एक लाख रुपैयाँभन्दा बढको श्रमदान गरेका छन्। दसैं तिहारलाई लक्षित गरेर स्थानीयले सडक मर्मत सुरु गरेका हुन्। चाडवाडका समयमा आवत–जावत गर्ने पाहुनालाई ध्यानमा राखेर गाउँघरमा सडक, गल्ली, धारापँधेरा मर्मत तथा सरसफाइ गर्ने प्रचलन छ।

प्रकाशित: १५ आश्विन २०७६ ०३:११ बुधबार

हलेसी_तुवाचुङ_नगरपालिका श्रमदान