१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ।

संघको २७ वर्षे इतिहासमा पहिलो पटक कांग्रेस निकट व्यवसायीको समूहले पुरै प्यानल जित्दै नयाँ इतिहास पनि रचेको छ। यस अघि संघमा कुनै पनि समूहले पुरै प्यानल जितेको थिएन।

मंगलबार भएको संघको निर्वाचनमा सत्तारुढ नेकपानिकट संयुक्त व्यवासायी समूहका अध्यक्ष उम्मेदवार सरोज कुमार पोखरेललाई ४७ मतले पराजित गर्दै लोकतान्त्रिक उम्मेदवार विष्णुप्रसाद गैरे अध्यक्षमा निर्वाचित भएका छन्। कुल ६ सय ५८ मतदातामध्ये निर्वाचनमा ६ सय २१ मत खसेको थियो। जसमा गैरेले ३ सय ३० मत प्राप्त गरेका थिए भने पराजित पोखरेलको पक्षमा २ सय ८३ मत खसेको थियो। ६ मत भने खाली थियो।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट महासचिवका उम्मेदवार बनेका सुजित श्रेष्ठ सबैभन्दा बढी मतान्तरले बिजयी हुने उम्मेदवार बने। श्रेष्ठले ३ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी आरसी गिरीले २ सय २३ मत मात्र ल्याउन सफल भएका थिए।

संघको प्रथम उपाध्यक्षमा कमल तामाङ्, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर कुमार केसी बिजयी भएका छन्। त्यस्तै सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ निर्वाचित भएका छन्। बिजयी हुने ११ सदस्यहरुमा केशव न्यौपाने, दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु,बिजय लामा, बाबुलाल मगर (नरेन्द्र), छबिलाल भट्टराई, जंगबहादुर इजम र लक्ष्मण पौडेल रहेका छन्।

अध्यक्षमा निर्वाचित गैरेले सबैको सल्लाह र सुझाव लिँदै व्यवसायीको हितमा काम गर्ने बताएका छन्। निर्वाचनलाई एउटा प्रक्रियाको रुपमा लिएको बताउँदै गैरेले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए। त्यस्तै नवनिवार्चित महासचिव श्रेष्ठले संघका हरेक गतिविधि व्यवसायीलाई जानकारी गराउँदै संघप्रतिको विश्वास बढाउने आफ्नो पहिलो काम हुने बताए। अत्यन्त कठिन मोडमा नयाँ कार्यसमिति चयन भएको उल्लेख गर्दै महासचिव श्रेष्ठ सरकारसँग सहकार्य गर्दै व्यवसायीक वातावारण निर्माण गर्न क्रियाशील हुने प्रतिबद्धता जनाए।

मुलुकमा नेकपाको दुई तिहाइको सरकार भएको अवस्थामा वैदेशिक रोजगार व्यवसायीको निर्वाचनमा कांग्रेस समर्थित दलले संघ कब्जा गर्दा यसले राष्ट्रिय राजनीतिमा समेत नेकपालाई ठुलो धक्का दिएको व्यवसायीले बताएका छन्। संघको साधारण सभामा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दिएको मन्तव्यले मत परिणाम लोकतान्त्रिक उम्मेदवारको पक्षमा पार्न सहयोग पुगेको उनीहरुको बुझाई छ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने मिलेर अघि बढे जित निश्चित रछ भन्ने उदाहरण व्यवसायीले प्रस्तुत गरेको भन्दै सोहि प्रकारको एकता नेपाली कांग्रेस पार्टी भित्र पनि आवस्यक रहेको औल्याउँछन्। '२ वर्ष अघि वैदेशिक रोजगार व्यवसायी संघको चुनावबाट कांग्रेसको हार सुरु भएको थियो। मुलुकको स्थानीय,संघीय र केन्द्रीय निर्वाचनमा पनि कांग्रेसको हार त्यहि बेला भयो। तर आज व्यवसायी संघको चुनावबाट हामीले विजयी सुरुवात गरेका छौं। व्यवसायी मिले जसरी कांग्रेस नेता पनि मिल्ने हो भने हाम्रो जित सबै ठाउँमा निश्चित छ' उनले भने। 
साधारण सभाको उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री विष्टले धरौटी वृद्धिपछि मेनपावरको संख्या ८ सय ५३ मा झरेको र सबैको डाटा आइसकेको बताउँदै केही समयपछि नै सबै व्यवसायी सँग 'फेस टु फेस' भेट हुने बताएका थिए। उनको अभिव्यक्तिलाई व्यवसायीले घुमाउरो पारामा दिएको धम्कि र मेनपावरमाथि गर्न लागेको अनुगमनको रुपमा बुझेका थिए।

१५ महिना मलेसिया रोजगारी बन्द गर्नु, मेनपावरको धरौटी वृद्धि गर्नु तथा मेनपावर व्यवसायीमाथि श्रम मन्त्रालयले गरेको व्यवहारको जवाफ संघको निर्वाचन मार्फत दिएको उनीहरुले बताएका छन्। 'लामो समय सरकारी स्तरबाट व्यवसायीमा भएको दमनको जवाफ आज व्यवसायीले निर्वाचनबाट दिएका छन्। वैदेशिक रोजगार व्यवसायीमा संघ र सरकारले गरेको व्यवहारले कति पीडा दिएको रहेछ भन्ने निर्वाचनले सावित गरिदिएको छ। त्यहि पीडा व्यवसायीले मतदान मार्फत पोखेका छन्' अग्रज व्यवसायी अब्दुल सतारले भने। 

कसको कति मत:
अध्यक्ष
विष्णुप्रसाद गैरे: ३ सय ३०
सरोज कुमार पोखरेल: २ सय ८३

प्रथम उपाध्यक्ष
कमल तामाङ्: ३ सय ८१
हरिबहादुर पाण्डे: २ सय ३०

द्वितीय उपाध्यक्ष
कमलदेव मल्ल: ३ सय २२
मुक्तिनाथ अधिकारी: २ सय ८७

तृतीय उपाध्यक्ष
किशोर कुमार केसी: ३ सय ६०
अख्तर हुसेन: २ सय ४४

महासचिव
सुजित श्रेष्ठ: ३ सय ८८
आरसी गिरी: २ सय २३

सचिव
मेघनाथ भुर्तेल: ३ सय ३३
संजु गुरुङ: २ सय ७३

कोषाध्यक्ष
इन्दिरा गुरुङ: ३ सय ६७
तुजुमाया लिम्बु: २ सय ३८

प्रकाशित: ८ आश्विन २०७६ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App