१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुमेको रकम १० महिनापछि फिर्ता

पहलमान तामाङकी श्रीमतीको नाममा अवुधाबीबाट पठाइएको रकमको कागजात। तस्बिरः नागरिक

खोटाङ- दुबई (यूएई)मा आकर्षक तलवका लागि रोजगार पाउने प्रलोभनमा ठगिएका खोटाङका एक युवाले झण्डै १० महिनापछि रकम फिर्ता पाएका छन्। यूएईमा आकर्षक तलवसहितको रोजगार दिलाउने प्रलोभनमा ठगिएका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका पहलमान तामाङले गुमेको १ हजार ८५१ दिराम रकम फिर्ता पाएका हुन्।

आकर्षक तलवका लागि राम्रो कम्पनीमा काम दिलाउने प्रलोभनमा २०७५ साल मंसिरमा नेपाली ५५ हजार ५३० रुपैयाँ लिएका स्याङ्जाका सुर्यप्रकाश गिरीले दुवईबाट दुई किस्तामा रकम पठाइदिएको पीडित तामाङले बताए।

नयाँ कम्पनीमा काम दिलाउने भन्दै रकम लिएर तामाङलाई फसाएको समाचार भदौ २ गते नागरिक न्यूज डटकममा प्रकाशन भएको भोलिपल्टै ५ सय दिराम रकम पठाएका गिरीले पुःन मंगलबार बाँकी ४० हजार ७ सय रुपैयाँ आइएमइ गरेर पठाइदिएका हुन्। अवुधावी रहेका गिरीले सोझै आफ्नो नामबाट नभइ अन्यको नामबाट श्रीमती विजयकुमारी तामाङको नाममा रकम फिर्ता गरेको पहलमानले बताए।

बैदेशिक रोजगारीका सिलसिलामा सन् २००९ मा दुबईको अजमानस्थित एजे सेक्यूरिटि कन्सल्ट्यान्सीमा काम गर्न पुगेका तामाङले ९ वर्षसम्म काम गरेपछि कम्पनी परिवर्तन गर्नेक्रममा ठगिमा परेका हुन्। नयाँ कम्पनीको खोजीमा रहेको अवस्थामा अलफाला सेक्यूरिटी कम्पनीमा काम दिलाउने र त्यसका लागि तत्काल भिसा दिने भन्दै गिरीले पैसा मागेको पीडित तामाङले बताए। रोजगारी पाउने आशामा तामाङले दुबईको सार्जाबाट अवुधावीमा रहेका गिरीकी श्रीमती सञ्जिता घर्ती भुजेलको नाममा २०७५ साल मंसिर ११ गते रकम पठाइदिएका थिए। तर, रकम पठाएपछि तोकिएको समयमा तोकिएको काम नदिलाएर लामो समयसम्म झुलाएको तामाङले गुनासो गरे।

पैसा दिए पनि लामो समयसम्म काम नपाएपछि तामाङ आफै अलफाला सेक्यूरिटी कम्पनीमा पुगेका थिए। तर, भिसा निस्कन ढिलाइ भएपछि उनी २०७५ साल माघ ११ गते नेपाल फर्किएका थिए।

गिरीले दिएको भिजिटिङ कार्डमा उनी टिएमआरएस अल ताइसिर म्यानपावर रिक्रुटमिन्ट सर्भिसका विजिनेस डेभलपमेन्ट मेनेजर उल्लेख देखिएको खोटाङ घर भइ हाल दुबई प्रहरीमा कार्यरत हिराधन चाम्लिङले बताए। लिलाबहादु पाण्डेको उजुरीका आधारमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले २०७५ साल चैत १८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई बैदेशिक रोजगार सम्वन्धी कसुरमा गिरीलाई पक्राउ पुर्जी दिएर बिभागमा उपस्थित गराउन पत्राचार गरेको पाइएको छ। गिरीबिरुद्ध बोर्डमा कैयौंको उजुरी परे पनि हालसम्म कारबाही नभएको पीडितको गुनासो छ। 

प्रकाशित: ८ आश्विन २०७६ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App