७ वैशाख २०८१ शुक्रबार
समाज

वैदेशिक राेजगारीका पीडाः आकर्षक रोजगार दिलाउने लोभमा यसरी ठगिए

खोटाङ– दुबई (यूएई)मा कार्यरत दलालले आकर्षक तलबका लागि रोजगार दिलाउने प्रलोभन देखाएर खोटाङका एक युवालाई ठगि गरेका छन्। आकर्षक तलबका लागि राम्रो कम्पनीमा काम दिलाउने बाहनामा स्याङ्जाका सुर्यप्रकाश गिरीले केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका पहलमान तामाङलाई ठगि गरेका हुन्।

पिएसबीडी सेक्यूरिटीमा रोजगार दिलाउने आश्वासन दिएर गिरीले १ हजार ८ सय ५१ दिराम (नेपाली ५५ हजार ५३० रुपैयाँ) लिएर फसाएको पप्डित तामाङले बताएका छन्।

बैदेशिक रोजगारीका सिलसिलामा सन् २००९ मा दुबईको अजमानस्थित एजे सेक्यूरिटि कन्सल्ट्यान्सीमा काम गर्न पुगेका तामाङले ९ वर्षसम्म काम गरेपछि कम्पनी परिवर्तन गर्नेक्रममा गिरीले ठगि गरेका हुन्। नयाँ कम्पनीको खोजीमा रहेको अवस्थामा तामाङलाई अलफाला सेक्यूरिटी कम्पनीमा काम दिलाउने र त्यसका लागि तत्काल भिसा दिने भन्दै गिरीले पैसा मागेको बताइएको छ। रोजगारी पाउने आशामा तामाङले दुबईको सार्जाबाट अवुधावीमा रहेका गिरीकी श्रीमती सञ्जिता घर्ती भुजेलको नाममा २०७५ साल मंसिर ११ गते रकम पठाइदिएका थिए। तर, रकम पठाएपछि तोकिएको समयमा तोकिएको काम नदिलाएर लामो समयसम्म झुलाएको तामाङले गुनासो गरेका छन्। रोजगारका लागि उनले कैयौंपल्ट अजमानबाट अबुधावी ओहोर–दोहोर गरेका थिए।

पैसा दिए पनि लामो समयसम्म काम नपाएपछि तामाङ आफै अलफाला सेक्यूरिटी कम्पनीमा पुगेका थिए। तर, भिसा निस्कन ढिलाइ भएपछि उनी गत माघ ११ गते नेपाल फर्किएका थिए। ‘सुर्यप्रकाले तत्काल नै रोजगार दिलाउनेजस्तोगरी ललाईफकाई ग-यो। तर, पैसा दिएपछि कहिल्यै काम दिलाउन सकेन, लामो समयसम्म झुलाइरह्यो। पैसा फिर्ता माग्दा पनि दिएन,’ तामाङले भने, ‘अहिले त फेसबुक, ह्याटस् एपमा पनि ब्लक गरेको छ। उसले यसरी धेरै जनालाई ठगि गरहेको रहेछ।’ झुट बोल्दै ठगि गरेको गिरीविरुद्ध वैदेशिक रोजगार प्रवद्र्धन बोडमा उजुरी दिने तामाङले बताए। गिरीविरुद्ध बोर्डमा कैयौंको उजुरी परे पनि हालसम्म कारबाही नभएको पीडितको गुनासो छ। गिरीले दिएको भिजिटिङ कार्डमा उनी टिएमआरएस अल ताइसिर म्यानपावर रिक्रुटमिन्ट सर्भिसका विजिनेस डेभलपमेन्ट मेनेजर रहेको उल्लेख भएको दुबई प्रहरीमा कार्यरत खोटाङका हिराधन चाम्लिङले जानकारी दिए।

लिलाबहादुर पाण्डेको उजुरीका आधारमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले २०७५ साल चैत १८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई वैदेशिक रोजगार सम्वन्धी कसुरमा गिरीलाई पक्राउ पुर्जी दिएर बिभागमा उपस्थित गराउन पत्राचार गरेको पाइएको छ।

 

प्रकाशित: २ आश्विन २०७६ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App