१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अठार जिल्लाका डेंगी सङ्क्रमितको चितवनमा उपचार

चितवन- जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेंगी सङ्क्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ।     

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेंगीका बिरामीको यहाँ उपचार भएको छ। उनका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन्।     

यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ।     

केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेंगी परीक्षण गरिएको छ। जसमध्ये तीन हजार १ सय ३८ जनामा सङ्क्रमण देखिएको उनले जानकारी दिए। ती बिरामीमा सबैभन्दा बढी चितवनका रहेका छन्। चितवनको सङ्ख्या दुई हजार ३ सय ९० रहेको छ।     

यस्तै नवलपुरको ३ सय २२ र मकवानपुरका ६१ जना रहेको उनले बताए। यीबाहेक अन्य जिल्लाका ३ सय ६५ जना रहेका छन्। यो सङ्ख्या साउन यताको हो। परीक्षण गरेर सङ्क्रमण देखिएका ३ सय ६५ मध्ये २ सय ५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ। अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ।   

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययन लगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताए। कतिपयले यहीको ठेगाना लेखेर उपचार गर्ने गरेको उनको भनाइ छ।

जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन्। रासस

प्रकाशित: ६ आश्विन २०७६ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App