१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी जवानबाट किशोरी बलात्कार प्रकरणः यसरी फेरियो साढे पाँच लाखमा बयान

ओखलढुंगा— गत श्रावण २० गते मोलुङ गाउँपालिकाकी एक किशोरी बलात्कृत भइन। १८ वर्षिया ति किशोरी घाँस काट्न गएकाबेला दिउँसै साढे १२ बजेतिर बारीमै बलात्कृत भएकी थिइन्। पीडित पक्षको किटानी जाहेरीका आधारमा सोही ठाउँको प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान पक्राउ परे।

सप्तरी घर भएका ३५ वर्षिय प्रहरी जवान प्रकाशकुमार यादवलाई पीडित परिवारको जाहेरीका आधारमा श्रावण २१ गते पक्राउ गरिउको थियो। उनीमाथि जबरजस्ती करणीको आरोपमा मुद्दा समेत दायर भयो। घाँस काट्न गएकी किशोरीलाई यादवले जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

यादवले करणी गरिरहेका बेला युवतीका बुवाले देखेपछि घटना बाहिर आएको थियो। यादवले त्यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा श्रावण २ गते पनि सोही किशोरीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

जबरजस्ती करणीमा यादवविरुद्ध ओखलढुंगा जिल्ला अदालतमा मुद्धा दायर भयो। सरकारी वकिल कार्यालयमार्फत भदौ १० गते यादवविरुद्ध मुद्धा दायर भएको थियो। घटनाको अनुसन्धान भइहेको समयमा यादवका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालत समक्ष बयान फेर्न बारम्बार दवाव दिए।

अन्त्यमा पाँच लाख ५० हजारमा कुरा मिल्यो। पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए। घटनाले पुरै यूटर्न लियो। आफूलाई यादवले जवरजस्ती करणी गरेको भनि जाहेरी दिएकी युवतीले बयान फेरिन्।

प्रहरी अनुसन्धानको क्रममा आरोपितले बताल्कार गरेको जिकिर गर्दै आएकी किशोरीले अदालतमा बयान फेरिन्। सहमतिमै शारिरीक सम्बन्ध राखेको बयान दिइन्। आफैले फोन गरेर यादवलाई बोलाएको समेत अदालतमा बयान दिइन्। शारिरिक सम्पर्क भइरहेको समयमा बुवाले देखेपछि डरले जवरजस्ती करणीको आरोप लगाएको बताइन्।

पैसा लिएर पीडित युवतीलाई बयान फेराउनका लागि यादवका आफन्त, निजी वकिल र प्रहरीले दवाव दिएको युवतीकी आमाले बताइन्। ‘प्रहरी चौकीबाट पनि पटक पटक घरमै प्रहरी आएर मिल्न भने, वकिलले पनि त्यही भनेपछि साढे पाँच लाखमा कुरा मिल्यो।’ उनले भनिन् ‘प्रहरी र अदालतमा धाउँदा धाउँदा आफ्नै तीन लाख जति खर्च भएको थियो। धेरै दिएनन्, साढे पाँच लाख मात्र दिए।’ प्रहरी जवानको जागिर गए घरमा विजोक हुने भन्दै युवती र उनका आफन्तलाई पैसामा मिल्न पीडक पक्षका व्यक्तिहरुले दवाव दिएको पीडितका आफन्तले बताएका छन्।

जिल्लास्थित एक सेफ हाउसको सहारामा बस्दै आएकी किशेरीलाई अहिले भने आफन्तले घर फिर्ता लगेका छन्। अदालतमा बयान फेरेपछी युवतीलाई आफन्तले सेफ हाउसबाट निकालेर घर फिर्ता लगेका हुन्। किशोरी आफन्तसंगै घर गएको सेफ हाउस सन्चालक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले बताइन। ‘पैसा लिएर अदालतमा बयान फेरेर आएछन्। हामीसंग भेटै नगरी गए,’ शेर्पाले भनिन्।

आर्थिक लेनदेनकाकै कारण युवतीले बयान फेरेको महिला अधिकारकमी शेर्पाले दाबी गरिन्। ‘पहिले जवरजस्तीकरणी भएको भनि जाहेरी दिइन, प्रहरीको अनुसन्धानका क्रममा पनि उनले त्यसै भनिन,’ तर अदालत समक्ष बकपत्र गर्दा बयान फेरिन्।’ उनले भनिन्।

पैसा लिनु अघि घटनाको प्रत्यक्षदर्शी युवतीका बुवा र आमाले समेत छोरी बलात्कृत भएको भन्दै न्याय खोज्दै सदरमुकाम आएका थिए। आइतबार ओखलढुंगा जिल्ला अदालतले स्वाथ्य परीक्षण प्रतिवेदन र वादीतर्फका साक्षीलाई अदालतमा झिकाउने आदेश दिएको छ। यादव पुर्पक्षका लागि थुनामा छन्। मुद्धा विचाराधीन छ।

प्रकाशित: ५ आश्विन २०७६ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App