१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाउँगाउँमा सवारी नगुड्ने सडक, खाद्यान्न बोक्न खच्चड र पिठ्यूँको भर

स्थानीय सरकारले खनेका प्रयोगविहिन सडक। तस्बिरः धनबहादुर/नागरिक

जुम्ला - जुम्लाको तिला गाउँपालिका ९ का मुनबहादुर थापा अहिले गाउँगाउँमा खच्चड मार्फत दैनिक उपभोग्य सामान पुर्याउँछन्। दशैतिहार नजिकिदै गर्दा उपभोग्य सामान पुर्याउदै दिन बित्छ। चामल, तेल, चिनी, मैदा, आटा, दाल सबै नजिकैको सेरीबजारदेखि ओसार्दै आएका छन्। उनी भन्छन्,‘गाउँमा सडक पुग्दापुग्दै खच्चड र पिठ्युमा भारी बोकेर दैनिक उपभोग्य सामान लैजानु रहर नभई बाध्यता हो।

हिड्दै गर्दा गाउँगाउँमा सडक जोडिएको छ। डोजरले जमिन धुजाधुजा बनाएको छ। तर त्यो सडकमा न गाडी गुड्छ, न हिड्न लायक। बर्षातले ठाउँठाउँमा पहिरो गएको छ। सडक हेर्न गाउँ नै काफी छ, उनले भने, ‘तर सवारी हेर्न तीन घण्टाको पैदल यात्रा गर्नुपर्छ।’

गाउँगाउँमा सिंहदरवार आयो, डोजरले काम पायो,तर जनताको जीवनस्तर भने ज्यूँ का त्यूँ छ। सडक हेरेर चित्त बुझाउनु परेको छ।’ सञ्चालनमा रहेका सडकमा पनि ठाउँठाउँमा काठेपुल छन्। काठेपुलको जोखिपूर्ण यात्रा गर्नुपर्छ।

स्थानीय किरण रोकाया सरकारले खनेका सडक बेकामे भएको बताउँछन्। उनले भने,‘गाउँका सडक पुराना भएर जीर्ण हुन लागिसके तर सवारी गुडेको देख्न पाएका छैनौँ।’  विकास भनेको सडकमात्रै हो भन्ने स्थानीय सरकारको घमण्डका कारण गाउँमा सवारी पुग्न नसकेको उनी बताउँछन्। तत्कालीन मालिकाठाँटा र घोडेमहादेवका बस्ती सडकले छोइसकेका छन्। सवारीले कहिले छुनेहुन पत्तो छैन्। सवारी आवागमनका लागि तिला नदीमाथि पक्की पुल निर्माण गर्नुपर्ने देखिन्छ। केन्द्रीय सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा ल्याउँछ। स्थानीय सरकार सडक खन्छ, सडकमा गाडी गुड्दैनन्।

जुम्ला चन्दननाथ नगरपालिकाको १० नम्बर वडामा पुल नबन्दा सवारी पुग्न सकेको छैन्। जसका कारण सदरमुकाम आसपासमै पर्ने भएपछि सडक सञ्जालका हिसावले दुर्गम मानिन्छ। नगरपालिका भित्रैका स्थानीय बोकेर दैनिक उपभोग्य बस्तु  ओसार्छन्। निर्माणाधिन पुल बन्न सकेको छैन्। सडक हुदाँहुदँै पनि गाडीबाट सयर गर्न नपाउनु दुखद भएको स्थानीय दुखेसो पोख्छन्।

गाउँगाउँमा सडक पुगेका छन्। डोजरले जमिन धुँजा धुँजा पारेको छ। तर ती सडकमा कुनै सवारी गुड्दैनन्। सामान बोक्न खच्चड र पिठ्यूको भर पर्नुपर्छ।

तातोपानी गाउँपालिकाले पहिलो वर्षलाई सडक वर्षका रुपमा मनायो। अहिले प्रत्येक गाउँमा सडक पुगेको छ। तर गाडी पुग्न नसक्दा सडकमा सवारी गुड्न सकेका छैनन्। स्थानीय जनक कुवर भन्छन्,‘सडक आँगनमै जोडिएको छ। तर आँगनसम्म गाडी चढेर आउने सपना पुरा हुन सकेको छैन्। सडक हुदैँ सवारीमा सामान बोकाएर ल्याउने धोको पुरा हुन नसकेकोप्रति दुखी छौँ। ’ कुडारी हुँदै जाजरकोट जोड्ने सडकमा निर्माण हुन लागेको पक्की पुल बन्न सकेको छैन्। कहिले झरी त कहिले हिउँदको चिसोको कारण देखाउदै ठेकेदार पन्छिरहेको छ। हिउँदको समयमा जसोतसो नदीमा गाडी तराएर आउजाउ हुन्छ। वर्षायाममा त विकल्प छैन्। पिठ्युमा बोकेको उपभोग्य सामानले काम चलाउदै आएका छन्।

जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा पनि बनेका सडक प्रयोगमा आउन सकेका छैनन्। स्थानीय सरकारले सडक नहुदाँ बिकास सम्भव हुन नसक्ने भन्दै पहिलो वर्ष सडकमै रकम हाल्यो।

 तर पुलको लागि कुनै पहल गरेन्। अहिले सडक प्रयोगविहिन छन्। स्थानीयको सडकमा गाडी चढेर गाउँमा पुग्ने सपना साकार हुन सकेका छैनन्। यता पातारासी र गुठिचौर गाउँपालिकामा पनि सडक धमाधम खनिएका छन्। सडक दिनानुदिन जीर्ण बन्दै गइराखेका छन्। तर सडकमा गाडी गुड्दैनन्।

स्थानीय सन्तबहादुर ऐडी भन्छन्,‘सडक त देखाउनका लागि मात्रै भए, प्रयोग गर्नका लागि भएनन्। डोजर मालिक फस्टाउनका लागि मात्रै भएन्, सर्वसाधारण नागरिकले लाभ लिन पाएनन्। स्थानीय सरकारले प्रगति देखाउने माध्यम बने। तर समस्या परेको बेला राहत दिनको लागि उपयुक्त भएनन्। सडक बनेका स्थानमा पुलपुलेसाको लागि स्थानीय सरकारले प्रदेश हुदैँ संघीय सरकारसम्म पहल थाल्नु पर्ने स्थानीय बताउँछन्।

सडकले वन मासिएका छन्। जमिन जथाभावी चिराचिरा बनाइएका छन्। अधिकांस सडक त मापदण्ड विपरितका बनेका छन्। स्थानीय सरकारले न्युनतम ४ देखि ६ मिटर सम्म चौडा हुने गरी ग्रामिण सडक निर्माण गर्नु पर्ने ब्यवस्था गरेका छन्। व्यवहारत कुनै कुनै सडक त ३ देखि चार मिटरसम्म चौडाइ भएका छन्। त्यहि सडकमा सहजै रुपमा गाउँपालिकाहरुले भुक्तानी दिएका छैनन्। जुम्लाका अधिकांस सडक उपभोक्ता समितिमार्फत बनेका हुन्। काम डोजरले गराएका छन्। हाजिर उपभोक्ताले गरेर भुक्तानी लिइएका छन्। पछिल्लो समयमा विकासका नाममा चरम बेथिती मौलाइरहेको जानकारहरु बताउँछन्।

 अहिले सडक खन्दा बातावरण प्रभाव मुल्यांकन गर्नु पर्ने प्रावधान छ। तर यो प्रक्रिया कुनै पनि सडकमा अपनाइएको छैन्। कतिपय सडक त प्राविधिक स्टमेट भन्दा पनि फरक तरिकाले खनिएका छन्।

गाउँगाउँमा सडक खनिएको भेटिन्छन्, सर्वसाधारण नागरिक खच्चड र पिठयुमा भारी बोकेर गुजारा चलाउनु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन्। उद्योग बाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा सडकमा कनिका छराइले गुणस्तर कायम हुन नसकेको बताउँछन्। उनले भने,‘सडक प्रयोगमा नआउदा पर्यटन प्रवद्र्धनका काममा पनि बाधा पुगेको छ।

जुम्लाको उर्थु हुदै रारा जाने बाटो अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन्। यो सडक प्रयोगमा आउन नसक्नुको कारण स्थानीय सरकारको चासो पुग्न सकेको छैन्। उनले भने,’ खनेका बाटो कायन्वयन नहुनुले पर्यटन प्रवद्र्धनमा बाधा पुगेको छ। बाटोमा रहेका महत्वपुर्ण स्थान ओझेलमा परेका छन्। यसमा ध्यान पुग्न सकेको छैन्। तत्कालीन जूम्लाका ३० वटा गाउँविकास समिति अहिले एक नगरपालिकासहित ७ वटा गाउँपालिका बनेका छन्। सबै बस्तीमा सडक पुगेका छन्। नपुगेको बस्तीमा यो वर्षमा सडक पुग्ने निश्चित छ।

प्रकाशित: ५ आश्विन २०७६ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App