१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

मार्तडी- जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन्। बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो।  

दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए। उनले भने, “कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ। यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन।”     
     
बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ। खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल ४५ रुपैयाँ, सोना मनसुली ४८ रुपैयाँ र जिरा मसिना चामल ६२ रुपैयाँका दरले बिक्री गर्दै आएको छ। 'बजारको मूल्यभन्दा पाँच रुपैयाँभन्दा कम मूल्यमा बिक्री गर्दा पनि चामल लिने उपभोक्ताहरु खासै आउने गरेको छैन्', प्रमुख ओझाले भने।     
     
उनका अनुसार, विगतमा दैनिक १ सय ५० जनाले चामल किन्न संस्थानमा आउने गर्दथ्यो तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन्। संस्थानका चामल खरिद गर्ने उपभोक्ताहरु ह्वात्तै घटेकोप्रति उनले चिन्ता व्यक्त गरे। यसरी चामल किन्ने उपभोक्ताहरु घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ, शाखा प्रमुख ओझाको भनाइ छ।     

दशैँमा खाद्य अभाव नहुने     
यस वर्षको दशैं र तिहारमा खाद्य अभाव नहुने भएको छ। गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिए।     

सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा दुई हजार ४ सय ८२ क्विन्टल र कोल्टीको गोदाममा दुई हजार ६ सय ९७ क्विन्टल गरी कूल ५ हजार १ सय ७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिए। विगतका वर्षजस्तै जिल्लामा चालम छैन। खाद्य अभावले सङ्कट निम्त्याउँला भन्ने आशङ्का नरहेको उनको भनाइ छ।     
     
मार्तडीस्थित संस्थानको गोदाममा जिरा मसिनो दुई हजार ७०, मोटो एक हजार ७ सय र सोना मनसुली ७ सय ८१ क्विन्टल चामल रहेका छन्। तीमध्ये साउन महीनामा मात्र २ सय क्विन्टल चामल बिक्री भएको छ। अघिल्लो वर्ष साउन भदौमा एक हजार १ सय क्विन्टलभन्दा बढी चामल बिक्री भएको संस्थानले जनाएको छ।     
     
यसैगरी पूर्वी उत्तरी भेगका तीन स्थानीय तह लक्षित गरी स्थापना गरिएको कोल्टी डिपो केन्द्रमा सोना मनसुली ६ सय, जिरा मसिनो दुई हजार ५ सय र मोटो चामल एक हजार ५ सय क्विन्टल रहेको छ।     
     
बिक्री केन्द्रमा चामल छैन     
जिल्ला खाद्य संस्थान बाजुराले हिमाली गाउँपालिकाका स्थानीय तहलाई लक्षित गरी कवाडीमा सञ्चालन गरिएको बिक्री केन्द्रमा चामलको अभाव रहेको छ। केन्द्रमा चामलको अभाव भएपछि उपभोक्ताहरु रितो हात घर फर्कन बाध्य भएका छन्। दशैँ तिहारका लागि जोहो गर्न केन्द्रमा आउने स्थानीय उपभोक्ताहरुले चामल नपाएपछि बजारबाट चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो स्थानीयवासीको छ।     
     
सो बिक्री केन्द्रबाट हिमाली गाउँपालिकाका बिच्छ्या, रुगिन र छिमेकी जिल्ला हुम्लाका स्थानीयवासीलाई चामल बिक्री हुँदै आएको छ। चामल ढुवानीका लागि ठेक्का प्रक्रिया सम्झौता भईसकेकाले दशैं अगावै चामल पुर्‍याउने गरी पहल भइरहेको प्रमुख ओझाले बताए। उनले बिक्री केन्द्र भएका कारणले कर्मचारी नबस्ने र ठेक्का प्रक्रियाको माध्यमले कोल्टीबाट चामल पुर्‍याएर बिक्री गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको दाबी छ।     
     
हिमाली गाउँपालिकाको बिच्छ्याबाट कोल्टी आउनजान चार दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। सोही अवस्थालाई मध्ये नजर गर्दै कवाडीमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले बताए।     

तीन बिक्री केन्द्र माग     
नेपाल खाद्य संस्थान बाजुराले तीन वटा स्थानीय तहका लागि खाद्यान्न बिक्री केन्द्र माग गरेको एक वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन्।     

जिल्लाको जगन्नाथ गाउँपालिकाको जुड्डी, खप्तड छेडेदह गाउँपालिकाको डोगडी र गौमूल गाउँपालिकाको घटमुनाका लागि बिक्री केन्द्र राख्नुपर्ने माग नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयसंग गरेको भए पनि हालसम्म स्वीकृत भएर नआएको प्रमुख ओझाको भनाइ छ।     
     
भौगोलिक विकटताले सबै जनताले खाद्यको पहुँचमा नपुग्ने भएकाले सो क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउन माग गरेको बताइएको छ। माग गरिएका क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा आए स्थानीयवासीले महँगोमा चामल किन्ने समस्या हट्ने बताइएको छ। रासस

प्रकाशित: ३१ भाद्र २०७६ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App