१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिभिल हस्पिटलको चरम लापरवाहीले क्यान्सर भएको आरोप

अस्पतालमा उपचारार्थ कमला रोक्का । तस्बिरः महेश्वर/नागरिक

उदयपुर– उदयपुरको एक निजी अस्पतालको लापरबाहीका कारण आफुलाई क्यान्सर भएको भन्दै यहाँकी एक महिलाले न्याय माग्दै पत्रकार र सरोकारवाला गुहारेकी छिन्। दुई महिनासम्म महिनावारी रोकिएपछि चेकजाँचका लागि सदरमुकाम गाईघाटस्थित सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर पुगेकी त्रियुगा नगरपालिका–१२ की कमला रोकाले पउपचारमा लापरबाही गरेकाले आफुलाई क्यान्सरजस्तो खतरनाक रोग लागेको गुनासो गरेकी छिन्।

पीडित रोकाका अनुसार महिनावारी रोकिएपछि चेकजाँच गर्न गत वैशाख १३ गते अस्पताल पुग्दा डा. मोहम्मद अजिजले स्वास्थ्य परीक्षणपछि उनको पेटमा बच्चा रहेको भन्दै गर्भपतन गर्न सुझाए। तर, गर्भपतन गर्नुअघि बच्चा भए नभएको यकिन गर्न भिडियो एक्स–रे गर्दा बच्चा नभई मासुको डल्लाजस्तो देखिएको रिपोर्ट आए पनि उनलाई जानकारी नदिइ बच्चा नै छ भनेर गर्भपतन गराएको कमलाको दावी छ।

अजिजको सुझाव अनुसार सोही दिन गर्भपतन गरेर घर फर्केकोमा सातादिनसम्म रक्तश्राव नरोकिएपछि पुनः चेकजाँच गर्न जाँदा पुनः गर्भपतन गराएर आप्mनो स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको उनको गुनासो छ। दुई पटकसम्म गर्भपतन गरेपछि पुनः भिडियो एक्स–रे गर्दा पनि बच्चा जस्तो वस्तु देखिएपछि भने उनलाई शंका लागेर अर्को अस्पताल जाँदा आफुलाई क्यान्सर भइसकेको पत्ता लागेको कमलाको दुःखेसो छ। ‘सुरुमै भिडियो एक्स–रेले बच्चा नभई मासुको डल्लो देखाएको रहेछ’ आफुले रिपोर्ट हेर्न नजानेको भन्दै उनले भनिन् ‘तर, बच्चा छ भन्दै मलाई दुई पटक गर्भपतन गराए।’

काडमाडौं रहेका श्रीमान् दुर्गा रोक्काले कमलाको पेटमा बच्चा छ भन्ने डाक्टरको भनाईलाई सुनाएपछि गर्भपतन गराउन लगाएको तर, हुँदै नभएको बच्चा छ भनेर डाक्टरले चरम लापरबाही गरेको रोक्का दम्पतिको गुनासो छ। डाक्टरको लापरबाहीले विना कारण क्यान्सरजस्तो महारोगको शिकार हुन बाध्य बनाएकोमा उनीहरुको चित्त दुखाई छ। ‘एकपटक गल्तीले गर्भपतन भयो रे, दोस्रो पटक किन गर्नु?’ पूर्व स्वास्थ्यकर्मीसमेत रहेका दुर्गाको प्रश्न छ ‘त्यसमाथि भिडियो एक्स–रेले बच्चा होईन भनेर प्रष्ट भन्दाभन्दै विरामीले मेडिकल भाषा बुभ्mदैन भन्दैमा यस्तो लापरबाही गर्न पाईन्छ?’

दुर्गाले दुई पटकको गर्भपतनबाट पनि निको नभएपछि जेठ १५ गते काडमाडौंस्थित सिभिल अस्पतालमा थप उपचारार्थ लाँदा मात्र श्रीमतीको पाठेघर (बच्चादानी) मा क्यान्सर संक्रमण भएको पत्ता लागेको बताए। हुँदै नभएको बच्चा छ भन्दै पटकपटक गर्भपतन नगरेको भए क्यान्सर संक्रमण नहुने त्यहाँका डाक्टरलाई उद्धृत गर्दै दुर्गाले श्रीमतीलाई जवरजस्ती क्यान्सर रोगी बनाउने डा. र अस्पतालमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

दुर्गाले काठमाडौंमा कमलाको १२ साईकल केमोथेरापी गरिसकेको र अझै दुईपटक गर्नुपर्ने डा. ले सुझाएको बताए। उनले गाईघाटदेखि काठमाडांैसम्म उपचारमा १० लाखभन्दा माथि खर्च भइसकेको भन्दै अस्पताल र डाक्टरबाट क्षतिपूर्ति र स्वास्थ्यको भरणपोषण गरिदिनुपर्ने माग गरेका छन्। दुर्गाले विरामी श्रीमतीसहित पत्रकार सम्मेलन गर्दै अस्पताल र डाक्टरको गम्भीर लापरबाहीको पर्दाफास गरेर अन्य जनताको स्वास्थ्य बचाउन आफु लागी पर्ने प्रतिबद्धता पनि जनाएका छन्।

रोक्का दम्पतिको आरोपलाई अस्पतालले भने ठाडै नकारेको छ। रोक्काको पत्रकार सम्मेलनपछि हस्पिटलले जवाफी पत्रकार सम्मेलन गर्दै अस्पताल र डाक्टरले कुनै गल्ती नगरेको भन्दै विश्वव्यापी प्रचलन र प्रविधि अनुसार उपचार गरेको दावी गरेको छ। अस्पतालका डा. मोहम्मद अजिजले कमलाको पेटमा प्रिग्नेन्सी पोजिटिभ देखिए अनुसार भिडियो एक्स–रे गर्दा मासुको डल्लो देखिएकाले त्यसलाई एमभिए (हावाद्वारा निकाल्ने) प्रविधिमार्फत निकाल्दा पुनः देखिएपछि अर्को पटक पनि सोही प्रविधिको उपचार गरिएको बताए। डा. अजिजले चलनचल्तीको प्रविधि अनुसार उपचार गरेको दावी गर्दै मेडिकल कानुनभन्दा फरक ढंगले उपचार गरेको ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्।

‘मैले कमला रोक्काको उपचारमा कुनै गल्ती गरेको छैन्, उनको पेटमा देखिएको रोग अनुसार चलनचल्तीको प्रविधि अपनाएर उपचार गरेको हु’ डा. अजिजको स्पष्टोक्ति छ ‘यदि मैले गरेको उपचार गैरकानुनी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु।’ अस्पतालका प्रवन्ध निर्देशक रामकुमार गुरागाईले एक विज्ञप्ति प्रकाशित गरी रोक्काको उपचारमा कुनै कमजोरी नभएको दावी बताएका छन्। उनले विरामीको भावनामाथि चोट पु¥याउने कुनै मनसाय नरहेको र उपचार गर्दा पनि विधि प्रक्रिया र ‘मेडिकल नर्मस’ अनुसार गरेको दावी गर्दै गुरागाईले गल्ती गरेको भए सजाय सहन तयार रहेको र अस्पतालविरुद्ध गरेको प्रचार गलत ठहरिए रोक्का पनि सजाय सहन तयार हुनुपर्ने माग गरेका छन्।

प्रकाशित: ३० भाद्र २०७६ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App