पोखरा - हिमाली जिल्ला मुस्ताङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा डेंगीका बिरामी भेटिएका छन्। हिमालपारिको जिल्ला मुस्ताङमा अहिलेसम्म कोही पनि संक्रमित भेटिएका छैनन्। तर अर्काे हिमाली जिल्ला मनाङमा भने एकजनामा यो संक्रमण देखिएको छ। पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार मनाङमा भेटिएका डेंगी संक्रमित अन्य जिल्लाबाट पुगेका बिरामी हुन्।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले समयमा मात्र टोक्ने गर्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। पोखराको यतिबेलाको तापक्रम न्यूनतम २० र अधिकतम ३२ डिग्री सेन्टिग्रेडसम्म रहेको छ। डेंगी फैलाउने लामखुट्टेका लागि अहिलेको तापक्रम उपयुक्त रहेको चिकित्सकले बताए।
मान्छेको आउजाउ बाक्लो हुँदै गएको र पर्याप्त सवारीसाधन चलिरहेकाले डेंगी फैलाउने लामखुट्टे मुस्ताङ उक्लिन सक्छ।
त्यस्तै यो लामखुट्टे फैलिनाका लागि ह्युमिडिटी (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ। ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताएका छन्। चिसो हुनासाथ वायुमण्डलमा पानीको मात्रा बढी हुने भएकाले लामखुट्टे फैलिन सहज हुने उनीहरूले बताए।
निर्देशनालयका चिकित्सक डा. भोजराज गौतमका अनुसार पोखराको अहिलेको मौसम डेंगी फैलाउने लाखुट्टेका लागि निकै नै उपयुक्त मौसम हो। त्यस्तै ह्युमिडिटी पनि उपयुक्त रहेको छ। ‘यतिबेला हरेक रात पोखरामा पानी परेकाले लामखुट्टेको संक्रमण फैलने क्रममा छ,’ गौतमले भने, ‘मौसम नै उपयुक्त भएको छ। यसले गर्दा पनि संक्रमण बढिरहेको छ।’ उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार दुई सयजनामा डेंगी संक्रमण भइसकेको छ। तीमध्ये सबैभन्दा कम हिमाली जिल्ला मनाङमा भेटिएका एकजना बिरामी हुन्। ‘मनाङमा बिरामी भेटिएका हुन, तर ती बिरामी अन्य जिल्लाबाट उक्लेका रहेछन्,’ गौतमले भने, ‘अहिलेकै मौसमका आधारमा मनाङमा भने यो लामखुट्टे फैलिएको छैन।’
गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङको तापक्रम करिब एकैखालको रहन्छ। मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम यतिबेला अधिकतम २२ डिग्री सेन्टिग्रेडसम्म रहेको जोमसोम विमानस्थलले बताएको छ। विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले भने,‘मनाङ र मुस्ताङको तल्लो भेगको तापक्रम करिब एकैखालको हुन्छ। मुस्ताङभन्दा मनाङको तापक्रम अझै कम हुने गरेको छ। मुस्ताङको जोमसोममा भने तापक्रम बढेसँगै यतिबेला लामखुट्टे पनि बढेको कोइरालाले बताए। ‘अरू लामखुट्टे पर्याप्त छ। त्यही भएर डेंगी फैलाउने लामखुट्टे यहाँ पनि आउन सक्छ,’ उनले भने, ‘मान्छेको आउजाउ बाक्लो हुने र पर्याप्त सवारीसाधन चलिरहेकाले पनि डेंगी फैलाउने लामखुट्टे उक्लिन सक्छ।’
प्रदेशका ११ जिल्लामध्ये डेंगीको सबैभन्दा बढी संक्रमण प्रदेश राजधानी पोखरामा रहेको गौतमले बताएका छन्। उनका अनुसार तीमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा बिरामी रहेको उनले बताए। गौतमका अनुसार पोखरामा महानगरममा नौ सयभन्दा बढी डेंगी संक्रमित बिरामी छन्।
प्रदेशभित्रको सबैभन्दा बढी संक्रमित क्षेत्र पोखरा महानगरले भने अहिलेसम्म डेंगी नियन्त्रणका लागि खासै योजना बनाएको छैन। महानगरको स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत कविता पौडेलले डेंगी नियन्त्रणका लागि केही काम भइरहे पनि त्यो पर्याप्त हुन नसकेको बताइन्। ‘पोहोर असोजपछि पोखरामा संक्रमण बढेको थियो। अघिल्लो मंसिरमा संक्रमण निकै नै बढेर पुसमा पुगेपछि बल्ल रोकिएको थियो,’ बिहीबार डेंगी संक्रमणबारे महानगरले आयोजना गरेको छलफलमा पौडेलले भनिन्, ‘पोखरामा पोहोर डेंगी फैलिएको समय आउन अझै बाँकी रहेकाले यो संक्रमण तत्काल थामिने अवस्था छैन।’
पोखरा महानगरले सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नम्बर ८ र ९ मा लामखुट्टेविरुद्ध ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइरहेको छ। अभियानका क्रममा पानी संकलन हुने सम्भावित भाँडाकुँडा, टायर, ड्रमलगायतका सामान नष्ट गरिरहेको पौडेलले जानकारी दिइन्। ‘तीनवटा सरकारबीच देखिएको समन्वय अभावका कारण डेंगी नियन्त्रणमा ढिलाइ भइरहेको छ,’ उनले भनिन्, ‘बजेट पनि तत्काल छैन, समन्वय पनि हुन सकेको छैन।’
बिरामीको भीड बढेर उपचारका लागि अस्पतालमा ठाउँ अभाव हुन थालेको चिकित्सकले बताएका छन्। गण्डकी मेडिकल कलेजकी मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले भनिन्, ‘डेंगीका बिरामीभन्दा पनि ज्वरोका कारण परीक्षण गराउन आउँदा बिरामीको चाप बढेको छ। परीक्षणका लागि आएका मध्येमा केहीमा डेंगीको संक्रमण छ।’
कलेजले अहिले २२ वटा शड्ढयामा डेंगीका बिरामी राखेर उपचार गराइरहेको उनले बताइन्। ‘बिरामीको संख्या धान्न नसकेपछि धेरैलाई घरमै बसेर आराम गर्न भनेका छौं,’ उनले भनिन्, ‘संक्रमण बढेकाले अस्पताललाई पनि दबाब छ। जनरलमा लिने शुल्कमा क्याबिनमा राखेरसमेत डेंगीका बिरामीको उपचार गरिरहेका छौं।’
पोखरामा यो पटक साउन १६ गते पहिलोपटक डेंगी संक्रमण देखिएको थियो। पोखरा महानगरपालिका–८ बाट संक्रमण फैलिन थालेको थियो। पोखरामा गत वर्ष पाँच सय ७१ जनामा यो रोग सरेको थियो। पोखरामा २०७२÷०७३ सालदेखि डेंगु देखिन थालेको हो। सुरुका तीन वर्ष पोखरामा एक–एकजना मात्र डेंगुमा बिरामी भेटिएकोमा २०७५ मा पाँच सय ७१ जना संक्रमित भएका थिए।
डेंगु फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फूल पार्ने गर्छ। खासगरी वर्षाको पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकीलगायत भाँडामा फूल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार डेंगु लागेपछि उच्चज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।
प्रकाशित: २७ भाद्र २०७६ ०१:४२ शुक्रबार