५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दिनदिनै थपिँदै बिरामी, चिकित्सकसमेत संक्रमित

पोखरा - पर्यटकीय सहर पोखरामा डेंगी नियन्त्रणबाहिर पुगेको छ।  हरेक दिन डेंगीका नयाँ बिरामी उपचारका लागि अस्पताल आउन थालेका छन्।  बिरामीको भीड बढेर यहाँका अस्पतालहरू ठाउँ पाइन मुस्किल हुन थालेका छन्।  जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार सोमबारसम्म ४ सय ३९ जनामा डेंगी संक्रमण देखिएको छ।

  सो कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले संक्रमितमध्ये आठजना ट्राफिक प्रहरी र पाँचजना स्वास्थ्यकर्मी (दुईजना चिकित्सक र तीनजना नर्स) बिरामी परेको बताए।  संक्रमित एकजना ट्राफिकलाई थप उपचारका लागि काठमाडौंस्थित प्रहरी अस्पतालमा पठाइएको छ।  ‘हामी नियन्त्रणको प्रयासमा त छौं तर रोग अचाक्ली रूपमा फैलिएको छ,’ उनले भने, ‘अब हामीले मात्रै नियन्त्रण गर्न सक्ने अवस्था देखिँदैन। ’

पोखरा महानगरपालिकाका ३३ मध्ये २७ वटा वडामा डेंगी संक्रमण देखिएको बरालले बताए।  सबैभन्दा बढी संक्रमण पोखरा महानगरपालिका–८ र ९ का बासिन्दामा देखिएको छ।  ती दुईवटा वडामा मात्रै झन्डै ६० प्रतिशत बिरामी रहेको उनले बताए।  ‘बिरामी परेपछि मान्छेले स्वास्थ्य परीक्षण गराउन चासो दिएका छन् तर डेंगी नियन्त्रणमा खासै सहयोग गरेका छैनन्,’ बरालले भने, ‘हरेक दिन अस्पतालमा उपचारका लागि बिरामी आउने क्रम बढेको छ।  हामीले नियन्त्रणको प्रयास गरिरहेका छौं तर बिरामीको संख्या बढिरहेकाले नियन्त्रणबाहिर गएको भन्न सकिन्छ। ’

पोखरा–८ सँगै जोडिएको वडा ९ मा बसपार्क (पृथ्वीचोक क्षेत्र) पर्छ।  खुला बसपार्क र पानी जम्ने ठाउँ पर्याप्त भएको र मान्छेको आउजाउ बढी हुने क्षेत्र भएकाले पनि त्यहाँ संक्रमण बढिरहेको उनले बताए।  ‘डेंगी नियन्त्रणका लागि समुदाय नै सचेत नहुँदा नियन्त्रणबाहिर पुगेको हो,’ उनले भने, ‘बिरामी भएपछि डेंगी लागेको हो कि भनेर परीक्षण गराउन आएका छन्।  तर समुदायस्तरमा नियन्त्रणको प्रयास निकै नै सुस्त गतिमा भएको छ। ’ उनका अनुसार शुक्रबार मात्र एकैदिन पोखरामा ४० जनामा यो संक्रमण देखिएको थियो।  ‘हरेक दिन संख्यात्मक रूपमा बिरामी बढिरहेका छन्।  यस्तै अवस्था रहने र नियन्त्रणमा समुदायको सहयोग नहुने हो भने विकराल अवस्था आउन सक्छ,’ उनले भने।

बरालका अनुसार बसपार्क, शिवालयचोक, नागढुंगा क्षेत्रमा पर्याप्त मात्रामा खुला भाँडाकुँडामा पानी संकलन गर्ने, टायर, ट्युबजस्ता वस्तु यत्रतत्र छरिएकाले पनि पानी संकलन हुन गएको उनले बताए।  ‘हामीले भाँडामा पानी संकलन गरेर खुला रूपमा नराख्न भनेका छौं,’ उनले भने, ‘अब हामीले मात्र नियन्त्रण गर्न सक्ने अवस्था छैन।  सुरक्षाकर्मी लगाएर नै भाँडा सफा राख्ने र पानी जम्न नदिनेगरी नियन्त्रणको विकल्प छैन। ’

डेंगीका बिरामी बढेपछि यहाँका अस्पतालमा उपचार गर्न जाने बिरामीको भीड लागेको छ।  बरालका अनुसार गण्डकी मेडिकल कलेज र फेवासिटी अस्पतालमा डेंगी लागेका बिरामीको उपचारका लागि विशेष कक्ष नै राखिएको छ।  तर ती संरचनाले समेत धान्न सक्ने अवस्था नरहेको अस्पतालले बताएको छ।  फेवासिटीका व्यवस्थापक त्रिभुवन पराजुलीले सुरुमा डेंगीका बिरामीका लागि मात्र विशेष उपचार कक्ष भन्दै ६ शड्ढयाको व्यवस्था गरे पनि बिरामी थपिएपछि धान्न नसकेको बताए।  ‘तत्काल शड्ढया बढाउन पनि सकिएन,’ उनले भने, ‘यति धेरै भीड होला भन्ने नलागेर थोरै शड्ढयाको व्यवस्था ग¥यांै तर त्यसले अपुग भयो। ’

पराजुलीका अनुसार अहिले पनि फेवासिटीमा १५ जना बिरामी भर्ना भएर उपचार गराइरहेका छन्।  एक महिनाको अवधिमा सो अस्पतालमा मात्र ४ सय ५२ जना परीक्षणका लागि आएकोमा १ सय २९ जनामा डेंगीको संक्रमण देखिएको थियो।  ‘हरेक दिन १५–२० जनाका दरले बिरामी परीक्षणका लागि आएका छन्।  अस्पतालमा विशेष कक्ष नभएको र भीड बढेपछि नजिक बसोबास रहेका कतिपय बिरामीलाई घरबाटै आउजाउ गर्नेगरी उपचार र निगरानी गरिरहेका छौं,’ उनले भने, ‘हरेक दिनजसो बिरामी बढिरहेका छन्।  बिरामी राख्ने ठाउँको अभाव भइसकेको छ। ’

कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी विभिन्न ठाउँमा खटिनुपर्दा रोगको संक्रमण बढेको हुन सक्ने बताए।  ‘पृथ्वीचोक क्षेत्रमा बसपार्क पनि रहेको र ट्राफिक कार्यालय पनि त्यही क्षेत्रम रहेकाले संक्रमण फैलिएको हुन सक्छ,’ उनले भने, ‘सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी पृथ्वीचोक क्षेत्रमा खटिनुपर्छ। ’

पर्यटकीय सहर भएको र यहाँ विभिन्न देशका पर्यटक घुम्न आउने हुँदा विदेशीमा समेत संक्रमणको जोखिम रहेको भन्दै पर्यटन व्यावसायीले चिन्ता जनाएका छन्।  पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटकीय सिजन सुरु हुनै लागेकाले पनि संक्रमणको डरले पर्यटनमा प्रभाव पार्न सक्ने बताए।  ‘एकाध पर्यटकमा संक्रमण देखियो भने यसले समग्र पर्यटनमा धक्का दिन्छ,’ उनले भने, ‘महामारीका रूपमा फैलियो भने नेपाल आउन चाहेका पर्यटकले अग्रिम बुकिङ नै रद्द गर्न सक्ने जोखिम हुन्छ।  त्यसैले नियन्त्रणका लागि व्यावसायी नै सचेत हुनुपर्छ। ’

पोखरामा यसपालि साउन १६ गते डेंगीको संक्रमण देखिएको थियो।  पोखरा–८ बाट संक्रमण फैलिएको थियो।  ‘पोहोर पनि त्यही क्षेत्रबाट यो रोग फैलिएको थियो।  पोहोर रोग फैलिएको क्षेत्र शिवालयचोक परिसरबाटै यसपटक पनि डेंगी फैलिएको हो,’ स्वास्थ्य कार्यालयका बरालले भने, ‘बाक्लो आवादी, होटल, पसल र पानी जम्ने ठाउँ बढी भएकाले त्यही क्षेत्रमा बर्सेनि समस्या हुने गरेको छ। ’ पोखरामा गत वर्ष ५ सय ७१ जनामा यो रोग देखिएको थियो।  यस वर्ष देशैभर हालसम्म ४ हजारभन्दा बढीमा यो संक्रमण फैलिएको छ।  पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो।

स्वास्थ्यकर्मीका अनुसार डेंगी ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ।  यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको छ।  यो रोग मानिसबाट मानिसमा भने सर्दैन।  डेंगी फैलाउने लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्छ।  खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खाली ड्रम, फूलदानी, गमला, पानीट्यांकीलगायत भाँडामा फुल पार्छ।

  त्यसकारण वर्षायामको पानी जम्ने सिजनमा मात्र यो रोग फैलिने गरेको बरालले बताए।  चिकित्सकका अनुसार डेंगी लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ।  त्यस्तै आँखाको गेडीवरिपरि दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: १७ भाद्र २०७६ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App