धनगढी - २०७३ पुस ६ गते कञ्चनपुरबाट ट्रकमा ल्याइएका गाई गोदावरीको भीरबाट खसाइए। त्यस क्रममा २५ गाई मारिए। कञ्चनपुरका सडकमा छाडा गार्ईको संख्या बढेपछि स्थानीय नगरपालिकाले गोदावरी जंगलमा छोड्न पठाएका ट्रकमा राखी पठाएका गाई भीरबाट खसालिएका थिए।
घोडाघोडी नगरपालिकाले अघिल्लो भदौमा छाडा चौपायालाई चुरे फेदीमा रहेको राष्ट्रिय वनमा गौशाला बनाई व्यवस्थापन गर्ने निर्णय ग¥यो। त्यसपछि नगरपालिकामा भएका सबै छाडा चौपाया जम्मा पारियो। पशु चौपाया दुई हजारको हाराहारीमा भएपछि एउटै गौशालामा व्यवस्थापन गर्न गाह्रो भयो। नगरपालिकाले वडा नम्बर ८ लठुवा गाउँको सिस्नेघारी, वडा नम्बर ४ को च्युरेपानी र वडा नम्बर ९ को कालिभावरमा तीनवटा गौशाला निर्माण ग¥यो। जंगलमा भुइँ घास सकिएको र चिसो बढेपछि गत पुस र माघमा ७० गाई मरे।
स्थानीय तहले लाखौं बजेट छाडा चौपाया व्यवस्थापनमा खर्चे पनि त्यसको प्रतिफल बालुवामा पानी खन्याएजस्तै भएको छ।
यस्तै नेपालगन्जबाट गत बिहीबार राति दैलेखका लागि लगिँदै गरेका गाई सुर्खेतको धुलियाबिट, जलाधार क्षेत्रको कटकुवालगायतका ठाउँमा खसालियो। यी प्रतिनिधिमूलक घटनामात्र हुन्। छाडा चौपाया व्यवस्थापन अहिले सबैतिरको जटिल समस्या देखिएको छ। दुई वर्षअघि स्थानीय तहको निर्वाचन हुँदा सबै उम्मेदवारले गाई व्यवस्थापनलाई पनि प्रमुख अजेन्डाका रुपमा उठाएका थिए। स्थानीय तहले लाखौं बजेट छाडा चौपाया व्यवस्थापनमा खर्चे पनि त्यसको प्रतिफल बालुवामा पानी खन्याएजस्तै भएको छ। तर विज्ञहरु भने छाडा चौपाया व्यवस्थापनमा सरकार चुकेको बताउँछन्। छाडा चौपाया समस्या नभएर आम्दानीको गतिलो स्रोत बन्न सक्ने उनीहरु तर्क गर्छन्।
‘छाडा चौपाया अहिले ठूलो समस्याका रुपमा देखिएको छ तर यसलाई उचित व्यवस्थापन गर्नसके आम्दानीको गतिलो स्रोत बन्छ,’ सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव तथा विज्ञ रवीन्द्रबहादुर प्रधानले बताए। उनले किसानले गाईगोरु छाडा छोड्नुको कारण पत्ता लगाई उनीहरुलाई गाईपालनमा अनुदान दिने तथा नयाँ नीति बनाई हौसला दिने खालका कार्यक्रम ल्याउन सके आम्दानीको गतिलो स्रोत बन्ने बताएका हुन्। ‘छाडा चौपाया संकलन गरी सरकारले पनि कुनै संस्था वा समूहलाई पाल्न दिई त्यहाँबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने। गाईको पिसाबमात्रै संकलन गरी बेच्न सके पनि आम्दानी गर्न सकिने उनले बताए। ‘हामी पतञ्जलीबाट गाईको पिसाब किनेर प्रयोग गर्छौं तर यहींका लोकल गाईको पिसाब त्यत्तिकै खेर गइरहेको छ,’ उनले भने, ‘यसलाई संकलन गरी प्रशोधन गरेर बेचे पनि राम्रो आम्दानीको स्रोत बन्छ। ’
छाडा चौपाया संकलन गरी प्रदेशस्तरमै बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर उद्योगकै रुपमा विकास गर्न सकिने गाई व्यवस्थापनसम्बन्धी जानकार प्रमोद पाठक बताउँछन्। ‘प्रदेश स्तरमा प्रदेश सरकार र स्थानीय तह मिलेर जंगल क्षेत्रमा ठूलो फार्म सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘दीर्घकालीन योजना बनाएर फार्म सञ्चालन गरेमा यी गाई आम्दानीको गतिलो स्रोत बन्न सक्छन्। ’ गाईको दूध तथा त्यसबाट बनेका परिकार मानव जीवनका लागि ठूलो उपयोगी भएको उनी बताउँछन्। ‘दूधसँगै गाईको मूत्रमा १८ वटा सूक्ष्म पौष्टिक तत्व पाइन्छ,’ उनले भने, ‘विकार तत्व नष्ट गर्ने पोटासियम, सल्फस र क्याल्सियमजस्ता तत्व गौमूत्रमा पाइन्छन्, गाईको दूध भन्दा महँगोमा मूत्र प्रशोधन गरेर बिक्री गर्न सकिन्छ।
’ गाई फार्मबाट गोबर संकलन गरेर प्राङ्गारिक मल बनाउ सकिने र हिन्दु धर्मावलम्बीलाई विभिन्न चाडपर्वमा गोबर बेच्न सकिने उनको भनाइ छ। गाई फार्म भएपछि किसानले पनि सडकमा नछाडी फार्ममै पु-याउन सक्छन्। जसले गर्दा किसानका बालिनाली जोगिनुका साथै छाडा चौपाया व्यवस्थापनमा ठूलो टेवा पुग्छ। डेनमार्कमा पनि आम्दानीको ठूलो स्रोत गाई नै भएको उल्लेख गर्दै पाठकले भने, ‘यहाँ पनि गाई ठूलो आम्दानीको स्रोत बन्न सक्छ। ’
फार्मसँगै दूधका परिकारका साथै मरेका गाईका हड्डी तथा छालाजन्य पदार्थ प्रशोधन गरी आम्दानीको स्रोत बढाउन सकिने व्यवसायी गोपाल हमाल बताउँछन्। गाई बाँचुन्जेल दूध र पिसाब बेचिने तथा मरेपछि छाला र हड्डी पनि बेच्न सकिने भएकाले यसलाई गतिलो आम्दानीको स्रोत बनाउन सक्ने उनी बताउँछन्। ‘हामीले गाईको महŒव बुझ्न नसक्दा नै छाडा चौपाया समस्याका रुपमा देखिएको हो,’ उनले भने, ‘यसलाई व्यवस्थित गरी आधुनिक तरिकाले गाई पालन गर्न सके गतिलो आम्दानीको स्रोत बन्छ। ’
भेटेनरी अस्पतालका डाक्टर पानसिंह ठगुन्नाले छाडा चौपाया समस्या नभई उचित व्यवस्थापन गर्न सके आम्दानीको स्रोत बन्न सक्ने बताए। उनले भने, ‘गुरु योजना बनाएर ठूलो क्षेत्रमा बहुउद्देश्यीय कम्पनी सञ्चालन गर्न सकिन्छ। ’ निजी क्षेत्रसँग साझेदारी गरेर आयोजना सञ्चालन गर्न सकिने उनले बताए।
सबै स्थानीय तहसँग छाडा चौपाया व्यवस्थापनका लागि प्रशस्त बजेट भए पनि सदुपयोग नभएको उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी बताउँछन्। उनले भने, ‘हामीले एउटा बृहत् खालको योजना बनाएर सबै स्थानीय तहको बजेट सदुपयोग गर्न सक्नुपर्छ। ’ प्रत्येक स्थानीय तहले छाडा चौपाया व्यवस्थापन भन्दै बजेट विनियोजन गरे पनि समस्या समाधान गर्नुको साटो झारा टार्ने काममात्रै भएको उनले बताए। छाडा चौपायाले सडक दुर्घटना बढ्नुका साथै किसानको अन्नबाली खाइदिँदा उत्पादन घट्दै गएको छ। छाडा चौपायाका कारण यहाँका सडक अस्तव्यस्त बनेका छन्।
प्रकाशित: १६ भाद्र २०७६ ०२:२५ सोमबार