१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

व्यवस्थापन नहुँदा वधशाला दुर्गन्धित

ओखलढुंगा - ओखलढुंगाको सदरमुकामस्थित वधशाला दुर्गन्धित भएको छ।  सिद्धिचरण नगरपालिकाद्वारा सञ्चालित सो वधशालाको सरसफाइमा नगरपालिकाले चासो नदिँदा दुर्गन्धित भएको हो। वधशालामा राँगा तथा बंगुर काटेपछि निस्किने रगत, हड्डी, छाला, लादी आदिको उचित व्यवस्थापन नहुँदा वधशाला दुर्गन्धित भएको मासु व्यवसायी जहानसिंह रम्तेलले बताए।  सदरमुकाममा पशु वधशाला स्थलबाटै मासु बेचिँदै आएको छ।

  सातामा दुई दिन शनिबार र बुधबार मासु लिन पुग्ने उपभोक्ताले नाक थुन्नुपर्ने बाध्यता रहेको उपभोक्ता प्रवीन शाक्यले बताए।  राँगा र बंगुर वध गर्ने व्यवसायीबाट नगरपालिकाले कर उठाउँदै आएको छ।  नगरपालिकाले यसअघि वधशालाबाट निस्कने छाला र हड्डी निकासी गर्दै आएको थियो।  तर छाला र हड्डी निकासी बन्द भएपछि त्यही छाला र हड्डी कुहिएर दुर्गन्धित भएको हो।

छाला र हड्डी निकासी बन्द भएपछि समस्या भएको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले बताए।  समस्या समाधानका लागि आफूहरू लागिपरेको प्रमुख श्रेष्ठको भनाइ छ।  पशु वधशाला र मासु जाँच ऐन २०५५ र त्यसको नियमावलीले पशु वध गर्नुअगाडि पशु जाँच गर्नुृपर्ने, इजाजतपत्र लिएर मात्र कारोबार गर्न पाइने, वध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, जथाभावी पशु वध गर्न नपाइने, काटिसकेपछि रगत निथार्ने, मासुमा भएको छाला काढ्ने, खुइल्याउने, सफा गर्ने र भण्डारण गर्ने छुट्टै कोठा हुनुपर्ने प्रावधान छ। 

यस्तै जातअनुसारका पशुको वधशाला छुट्टाछुट्टै हुनुपर्ने, स्थानीय सुपरिवेक्षकले जारी गरेको स्थान, जाँच प्रमाण पत्र देख्ने गरी राख्नु पर्ने, पानीमा भिजेको, चिसो कपडाले छोपेर मासु बेच्न नपाइने, निरीक्षकले लगाइदिएको जाँच चिह्न देखाएर मात्र बेच्न पाइने लगायत व्यवस्था छ।  तर यहाँ उक्त प्रावधान पालना भएको पाइँदैन।

केही समयअघि जिल्लास्तरीय बजार अनुगमन समितिले अनुगमन गर्दा सो वधशालाको मासु खान अयोग्य भएको ठहर गरेको थियो।  उपभोक्ताले अस्वस्थकर मासु खान बाध्य भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ओखलढुंगाले जनाएको छ।  बधशालाको दुर्गन्धले बाटो हिँड्ने बटुवालाई समेत असहज भएको छ।

प्रकाशित: १३ भाद्र २०७६ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App