१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घट्नामा बालक र बृद्धको मृत्यु

उदयपुर– उदयपुरमा फरक फरक घट्नामा परी एक बालक र बृद्धको मृत्यु भएको छ। शनिबार दिउँसो २ बजे खोलाले बगाएर कटारी नगरपालिका ५ भोर्लेका एक बालकको मृत्यु भएको छ भने चौदण्डीगढी नगरपालिका ८ कात्तिकेमा अघिल्लो विहान एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कटारी ५ भोर्लेमा पौडी खेल्ने क्रममा खोलाले बगाएर ६ वर्षीय सिद्धान्त श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। इप्रका प्रमुख डिएसपी प्रेमसागर केसीका अनुसार ५ वर्षीय भाईसँग पाडी खेल्न गएका सिद्धान्तको खोलाले बगाएर मृत्यु भएको हो। मृतकका बाबु विदेश रहेको र आमा काममा गएका बेला पौडी खेल्न गएका दाजुभाइमध्ये दाजु घट्नामा परेका हुन्। 

दाजुलाई खोलाले बगाएपछि किनारै किनार रुदै पछ्याउँदै गरेको स्थाीयले देखेर जम्मा भई बालकको उद्धार गरेका थिए। खोलाले बगाएर एकसय मिटर तल पुर्याई बेहोस भएका बालकको उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याइएकोमा डा. ले तत्काल मृत घोषित गरेको प्रहरीले जनाएको छ। मृतकको लास पोष्टमार्टमका लागि कटारी अस्पतालमै राखिएको छ। 

त्यस्तै चौदण्डीगढी ८ का ६० वर्षीय किताबसिंह राई घर नजिकैको जंगलमा अघिल्लो दिन मृत फेला परेका छन्। बिहीबार दिउँसो गाई, बाख्रा चराउन गएका राई राति अबेरसम्म नफर्केपछि खोजी गर्ने क्रममा जंगलमा मृत भेटिएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कर्यालयले जनाएको छ। गाईबस्तु फर्के पनि मान्छे नफर्केपछि आफन्त र छिमेकीले खोज्दै जाँदा शुक्रबार विहान उनी मृत भेटिएको प्रहरी भनाई छ। 

घरदेखि २ किलोमिटर टाढा जंगलमा मृत भेटिएका राईको लडेर मृत्यु भएको आशंका आफन्तले गरेका छन्। सालको रुख नजिकै लास भेटिएकाले रुख चढेर घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ। उनको शव प्राथमिक स्वास्थ्य चौकी बेलटारमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ। घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७६ १५:४४ शनिबार

दुर्घटना उदयपुर मृत्यु बालक_र_बृद्ध