दोलखा - सहरभसरि भूकम्पमा भत्किएका मठमन्दिर धमाधम ठडिँदै छन्। स्विस सरकारको सहयोगमा त्रिपुरा सुन्दरी र तलेजु भवानी भर्खरै उठ्यो। सरकारी लगानीमा बनिरहेको भीमेश्वर मन्दिरको भण्डारघर अन्तिम चरणमा छ। दुंगल, माथिल्लो र तल्लो टोलका स्तुपाले आकर्षक स्वरूप पाउँदै छन्। पाटी, डबली धमाधम उठ्दै छन्।
भूकम्पमा ढलेका प्रायः सांस्कृतिक सम्पदा ठडिँदै गर्दा प्राचीन नगरी दोलखा सहरको प्रवेशद्वारमै स्थित वर्षौं पुरानो बज्रयोगिनी मन्दिरले यो सहरको सांस्कृतिक सम्पदाको पुनर्निर्माणलाई गिज्याइरहेको छ। पाखलती चोकअगाडि रहेको वर्षौ पुरानो सो मन्दिर खुला छ। तल्लो छेउको स्तुपा ढल्नै लागेको छ। सहरको पाखलती बसपार्कबाट सुरु हुने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेश मार्गको मुखैमा एउटै ढुंगामा सजिएको मध्यम आकारको सो स्तुपा आफैमा सुन्दर छ। जसमा गजुर छैन। त्यसको ठीक माथि ढुंगैढुंगाले बनेका चारवटा मूर्ती छन्। तीमध्ये कुनै चोइटिएका छन् भने कुनै टुक्रिएका छन्। दोलखा बजारभरिका पुराना मन्दिरमध्येको बज्रयोगिनी मर्मत सम्भार र संरक्षणको अभावमा जीर्ण बनेको हो।
सांस्कृतिक क्षेत्रका अध्येता शान्तकृष्ण श्रेष्ठका अनुसार यो मन्दिर भूकम्पअघिदेखि नै जीर्ण बनेको थियो। उनका अनुसार ढुंगैढुंगाले बनेका मूर्तीबाट मन्दिर सजाइएको छ। केही वर्षअघिसम्म मन्दिर प्रवेश गर्ने गेट पनि ढुंगाकै थियो। स्तुपासमेत एउटै ढुंगाबाट बनेको छ। श्रेष्ठका अनुसार सो क्षेत्रमा रहेका स्थानीय हिन्दु र बुद्ध धर्मावलम्बीहरू यस मन्दिरमा पूजाआजा गर्छन्। ‘यहाँका बुद्ध धर्मावलम्बी मन्दिरमा विशेष तिथिमा र आफ्नो रीतिरिवाजअनुसार पूजाआजा गर्छन् भने हिन्दूहरू बाला चतुर्दशीलगायत, अन्य तिथि र ठूला पर्वमा पूजाआजा र परिक्रमा गर्ने गर्छन्,’ श्रेष्ठले भने। यहाँ बुद्धधर्म मान्ने तुलाधर र हिन्दू धर्म मान्ने मिश्रित जातका नेवार समुदायको बसोबास रहेको छ।
यो मन्दिर कति सालमा बनेको भन्नेबारे कुनै अध्ययन हुन सकेको छैन। ‘हामीले दोलखा सहरभरिका मन्दिरको अध्ययन ग-यौं तर यो मन्दिरको विषयमा आजसम्म अध्ययन हुन सकेको छैन,’ श्रेष्ठले भने, ‘शिलालेखसमेत नभेटिएकाले यो कति वर्ष पुरानो हो भन्ने थाहा छैन तर बुद्ध जन्मनुभन्दा पहिलेको हो कि भन्ने अध्येताहरूको भनाइ छ।’ मन्दिरको पुनर्निर्माण र संरक्षणका लागि स्थानीयले नगरपालिकामार्फत सरकारसँग २०६० सालदेखि नै आग्रह गर्दै आएका छन्।
प्रकाशित: ६ भाद्र २०७६ ०२:०९ शुक्रबार