७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

दाङ - बैंकको १८ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीले दाङका एक बैंक म्यानेजरलाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका बैंक म्यानेजर सुरज बुढाथोकीलाई प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ। यसअघि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक देवः बिकास बैंकमा मर्ज भएको थियो। उनी वेस्टर्न विकास बैंक मर्ज भएसंगै देवः विकास बैंकमा समाहित भएका थिए। यि दुई बैंक गत असारमा मर्ज भएका हुन्। वेक्ष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘नक्कली ऋणि बनाएर वैंकबाट रकम निकासा गरेको आँकलन गरिएको छ,’प्रहरी निरीक्षक गौतमले नागरिकसंग भने ‘त्यसरी निकासा भएको १८ करोड रकम बुढाथोकीले कहाँ प्रयोग गरेका छन् भन्ने यकिन भने खुल्न सकेको छैन।’ गौतमले १८ करोड रकम हिनामिनामा बुढाथोकी एक्लैको मात्रै हात नरहेको आशंका गर्दै बैंकका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी गरिरहेको बताए।

ठूलो रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएका बुढाथोकीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलसमा पेश गर्न त्यसतर्फ लगिएको छ। बैंकिङ कसुरको बयान उक्त इजलासमा हुने भएकाले बुढाथोकीलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।     

प्रकाशित: ४ भाद्र २०७६ ०५:२३ बुधबार

हिनामिना पक्राउ