१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

साउन १६ सम्म नाम दर्ता गरेकाले मतदान गर्न पाउने

काठमाडौं – आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम भएका र १८ वर्ष पूरा भएका नागरिकले मात्रै मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगको आइतबार बसेको बैठकले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम भएकाले मात्रै मतदान गर्न पाउने निर्णय गर्दै मतदाता नामावली दर्ताको काम रोकेको हो।

  आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले साउन १६ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम दर्ता भएकाले मात्रै मतदानमा सहभागी हुन पाउने निर्णय भएको बताए।  उनका अनुसार मतदाता नामावली संलकन रोकेर मतदाताको विवरण अध्यावधिक गरी आयोगमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको बताए।  सरकार र आयोगले आउँदो मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

२०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचन भएको थियो।  सो निर्वाचनपछि विभिन्न कारणले तीनवटै तहमा गरी रिक्त भएका ५० वटा पदहरूको आयोगले उपनिर्वाचन गराउने छ।  आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष/उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र वडाअध्यक्ष ४१ गरी ५० वटा पदको उपनिर्वाचन हुनेछ।  यसरी पद रिक्त उपनिर्वाचन हुने जिल्लाको संख्या ३६ छ। 

जसअनुुसार प्रतिनिधिसभातर्फ कास्की २ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त छ।  प्रदेशभातर्फ बाग्लुङ २ का टेकबहादुर घर्ती, भक्तपुर १ बाट निर्वाचित हरिशरण लामिछाने र दाङ ३ का उत्तरकुमार ओलीको निधन भएपछि प्रदेशसभातर्फ तीन वटा पद रिक्त छन्।

स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको गत वर्ष निधन भएपछि उक्त पद रिक्त छ।  यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ४ र नगरपालिका÷गाउँपालिकाका वडाध्यक्ष ४१ गरी ५० पद रिक्त छन्।  त्यसैगरी, विभिन्न स्थानीय तहमा ८ सय ६४ वटा वडासदस्य पदसमेत रिक्त छन्।  वडासदस्यको उपनिर्वाचनको बारेमा कानुनमा कुनै व्यवस्था नभएका कारण वडा सदस्यको भने उपनिर्वाचन नहुने भएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App