१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा आतंक मच्चाइरहेको भाले हात्तीलाई बेहोस बनाएर रेडियो कलर जडान

जंगल छेउको उखु बारीमा बेहोस भएर लडेको हात्तीमा रेडियो कलर जडान गरिँदै । तस्बिर : टंक/नागरिक

सर्लाही– सर्लाहीमा दुई सातादेखि आतंक मच्चाइरहेको एक जंगली हात्तीलाई बेहोस बनाएर रेडियो कलर जडान गरिएको छ। जिल्लाको पूर्वी क्षेत्र ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित लाहुरे टोल नजिक जंगलमा आईतबार बिहान एक भाले हात्तीलाई बेहोस बनाएर घाँटीमा रेडियो कलर झुण्ड्याईएको हो।

दुई सातादेखि ईश्वरपुर नगरपालिका क्षेत्रका बस्तीमा पसेर घर भत्काउने एवं बालीनालीमा क्षति पु-याउँदै आएका दुई हात्ती मध्ये भाले हात्तीमा रेडियो कलर जडान गरिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत माधवप्रसाद देवले जानकारी दिए। 

‘हात्तीको लोकेशन थाहा पाउनका लागि रेडियो कलर जडान गरिएको हो’, वन अधिकृत देवले भने, ‘अब सो भाले हात्ती कहाँ छ भनेर निगरानी गर्न सकिने भएको छ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाण्डौं, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट खटिएको चिकित्सकसहितको हात्ती विशेषज्ञको टोलीले डाट विधिबाट बेहोस बनाएर घाँटीमा रेडियो कलर जडान गरेको हो। रेडियो कलर उपकरण जडान पश्चात निकुञ्जदेखि वन कार्यालय लगायतमा हात्तीको लोकेसन थाहा हुने वन अधिकृत देवले जानकारी दिए।

विशेषज्ञको टोलीले बिहानपख बस्ती नजिक आएको मौका छोपेर टाढैबाट हात्तीलाई डाट विधि अनुसार राईफलबाट बेहोस हुने औषधि दिएको थियो। डाट गरेलगतै उक्त हात्ती बेहोस भएको र घाँटीमा रेडियो कलर उपकरण जडान गरिएको वन अधिकृत देवले जानकारी दिए। 

केहीबेर बेहोस भएको हात्ती पुनः ब्यूँतिएर जङ्गलतर्फ नै लागेको छ। बेहोस बनेर व्यूँतिएपछि हात्तीमा अभैm उन्माद् बढ्ने भएकाले वन क्षेत्र आसपासका बासिन्दालाई सचेत हुन समेत डिभिजन वन कार्यालयले आग्रह गरेको छ। ‘बेहोस बनाएर रेडियो कलर जडान गरेपछि उठेको हात्ती अझै बढी उत्ताउलो हुने गर्दछ’, वन अधिकृत देवले भने, ‘उन्माद कम हुने औषधि समेत दिएका छौं, तथापी स्थानीय बासिन्दाले सचेत हुनु जरुरी छ।’

दुई सातादेखि भाले र पोथी गरि दुईवटा हात्ती रहेकाले अर्को पोथी हात्तीमा पनि रेडियो कलर जडान गर्नका लागि चिकित्सक एवं विशेषज्ञको टोली जंगल क्षेत्रमै दिनभर खटिएका छन्। 

जोडी हात्तीले दुईसाता यता दुई दर्जन बढी घर भत्काइसकेको तथा बालीनालीमा समेत क्षति पुर्याएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए। हात्ती आतंकका कारण परियोजना छेउछाउ घर भएका सर्वसाधारण रातभर सुत्न पाएका छैनन्। गत मंसिर १५ देखि तीन महिनासम्म ईश्वरपुर नगरपालिका क्षेत्रकै विभिन्न गाउँहरुमा हात्तीको अर्को समूहले आतंक मच्चाएर वाकदिक भएका स्थानीय दुई सातायता पुनः यो जोडी हात्ती आएपछि त्रसित बनिरहेका छन्। 

गत पुसदेखि नै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, ईश्वरपुर नगरपालिका लगायतले आतंक मच्चाइरहेका हात्ती नियन्त्रण गर्न वन मन्त्रालय, राष्ट्रिय निकुञ्जहरुमा लिखित एवं मौखिक आग्रह गरिरहेका थिए। 

प्रकाशित: १२ श्रावण २०७६ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App