१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

निकासबिनाको विकासले विनाश

सर्लाही - हरेक वर्षायाममा अविरल वर्षा भएपछि सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रका अधिकांश बस्ती डुबानमा पर्ने गरेका छन्। यस वर्ष पनि अविरल वर्षाका कारण गत असार २६ गतेदेखि नै दक्षिणी क्षेत्रका कतिपय गाउँ अझै पनि डुबानमा छन् र पीडित पाल तथा स्थानीय विद्यालयको आश्रयमा छन्।

सधैं दक्षिणी क्षेत्रका बस्ती डुबानमा परेको समाचार सुन्दै आएका जिल्लास्थित उत्तरी क्षेत्रका हरिवन, लालबन्दी, नवलपुर, नयाँरोड, बाग्मतीलगायत बीतप्का बासिन्दा आफैंले पनि शनिबार बिहानभर डुबानको प्रत्यक्ष पीडा भोगे। अझ कतिपय बस्ती एवं खेतीयोग्य जमिन त शनिबार साँझसम्म पनि डुबानकै चपेटामा थिए। कुनै खोला नपसे पनि तीन घण्टा जति परेको पानीका कारण ती बस्ती डुबानमा परेका हुन्। बलौटे माटो र दक्षिणी क्षेत्रका बस्तीको तुलनामा निकै उचाइमा रहेकाले वर्षायााममा पानीबाट सुरक्षित मानिने उत्तरी क्षेत्रका बस्तीसमेत डुबानमा पर्न थालेपछि सर्वसाधारण त्रसित छन्।

शनिबार बिहानको पानीले उत्तरी क्षेत्रमा भर्खरै निर्माण सम्पन्न भएका कालोपत्रे सडक एवं कालोपत्रेका लागि गिटी राखेर सबबेस तथा बेस उठाइसकिएको सडकको ठाउँठाउँमा क्षति पु¥याएको छ। कतिपय ठाउँमा त घरभित्रै पानी पसेपछि स्थानीयले कालोपत्रे सडकसमेत फोडेर पानीको निकास निकालेका छन्। घरभित्रै पानी पसेपछि स्थानीय निकै आक्रोशित देखिन्थे। ‘थप एक घण्टा मात्र पानी परेको भए घरभित्रै पोखरी हुने अवस्था आइसकेको थियो’, हरिवनका शिखर ढुंगेलले भने, ‘घरअगाडि कालोपत्रे सडकका नाममा बाँध हालिएको छ, निकास छैन, यस्तो डुबानमा पर्नुभन्दा बरु विकास नै नभएको ठीक।’

नाला वा ठाउँठाउँमा पानी बग्ने ह्युमपाइप अथवा कज्वे नहाली कालोपत्रे सडक निर्माण गर्ने होडबाजीका कारण उत्तरी क्षेत्रका बस्तीसमेत डुबानको जोखिममा पर्दै गएका छन्।

गिटी थपेर उचाइ बढाउँदै सडक कालोपत्रे गरेका कारण वर्षाको पानीले उत्तरी क्षेत्रका बस्ती डुबानमा परेका हुन्। नाला वा ठाउँठाउँमा पानी बग्ने ह्युमपाइप अथवा कज्वे (लच्का) नहाली कालोपत्रे सडक निर्माण गर्ने होडबाजीका कारण सुरक्षित मानिएका उत्तरी क्षेत्रका बस्तीसमेत डुबानको जोखिममा पर्दै गएको जानकारहरु बताउँछन्।

डुबान स्थलका हरेक चोकमा जम्मा भएका सर्वसाधारण स्थानीय सरकारका पदाधिकारीलाई सत्तोसराप गरिरहेका भेटिन्थे। ‘कालोपत्रे सडक धेरै कसले बनाएर विकास देखाउने भन्ने होडबाजी नगरपालिकाका मेयर, वडाध्यक्षलगायतबीच प्रतिस्पर्धा भइरहेको छ’, लालबन्दीका नवराज मिश्रले भने, ‘दिगो एवं टिकाउ हुनेगरी नाला, कल्भर्ट, ह्युमपाइप वा कज्वेजस्ता काम छाडेर कालोपत्रे मात्र बनाउने होडबाजीले गाउँ डुबाउन सुरु गरेको छ।’

प्रदेश सांसद बेची लुंगेली पनि अव्यवस्थित विकास निर्माणका कामले विनाश निम्त्याउन सुरु गरेको बताउँछिन्। पानीको निकास नदिई निर्माण भएका कालोपत्रेसहित सडक स्तरोन्नतिका कारण गाउँबस्तीमा डुबानको जोखिम बढ्दै गएको सांसद लुंगेलीको कथन छ। ‘दक्षिणी क्षेत्रमा त बाँध फोडेर खोला नै पस्ने गरेका कारण वर्षायाममा अधिकांश बस्ती डुबानमा पर्ने गरेका छन्’, लुंगेलीले भनिन्, ‘उचाइमा रहेको उत्तरी क्षेत्रका बस्तीहरु खोला नै नपसी अकासे पानीकै कारण डुबान हुन थाल्नुमा अव्यवस्थित विकास निर्माणका कामहरु नै प्रमुख कारण हुन्।’ यसमा संघ, प्रदेश, स्थानीय सरकार र उपभोक्तासहित आम सरोकारवालाले हतारहतार थोरै बजेटमा धेरै कामभन्दा पनि बरु थोरै तर व्यवस्थित कामका लागि ध्यान दिनुपर्ने आवश्यकता रहेको लुंगेलीले सुझाइन्।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत पनि अव्यवस्थित ढंगले कालोपत्रे सहित सडक स्तरोन्नतिले जिल्लाभर डुबानको समस्या देखिएको बताउँछन्। ‘अव्यवस्थित विकास निर्माणले नियमित बग्ने पानीको निकास थुनिएको छ’, प्रजिअ राउतले भने, ‘जसले गर्दा बस्ती डुबानमा पर्न थालेका छन्।’ स्थानीय नगरपालिकाका प्रमुख, वडाध्यक्ष एवं प्राविधिकले भने थोरै बजेट भए पनि कालोपत्रेको माग बढी भएको तर निकासका लागि तल्लोपट्टिका स्थानीयले कल्भर्ट, ह्युमपाइप वा कज्वे राख्नै नदिने गरेकाले समस्या आएको बताउँदै आएका छन्।

प्रकाशित: ७ श्रावण २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App